site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री क्वार्टरमा बिचौलिया घुसको ‘ब्रिफकेस’ छाड्छन् : शेखर कोइराला
शेखर कोइराला । फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्री क्वार्टरमा पुगेर बिचौलियाले घुसको ‘ब्रिफकेस’ छाडेको आरोप लगाएका छन् । मंगलबार (असार ३१) बिहान सामाजिक सञ्जालमार्फत उनले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई बर्खास्त नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

पछिल्ला दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’बारेको अडियो चर्चामा छ । “मन्त्री क्वार्टरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्,” उनले एक्स पोस्टमा लेखेका छन् ।

संसद् बैठकमा विपक्षी दलका नेताहरूले विवादित मन्त्रीको ‘कर्मकाण्डी’ राजीनामा मात्र माग्ने गरेको र उनीहरू कडा रूपमा प्रस्तुत हुन नसकेको डा. कोइरालाले टिप्पणी गरेका छन् । सत्ता गठबन्धनको सहायत्री दल कांग्रेसको भूमिकाप्रति पनि उनले आपत्ति जनाएका छन् ।

‘यस्तै रहेछ यहाँको चलन’ शीर्षक दिएर उनले लेखेका छन्, “सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।”

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्