काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत 'भइरहेको' मानव तस्करीबारे सरकारले नसुनेको बताए । मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा भइरहेको तस्करीबारे आफूहरूले निरन्तर आवाज उठाए पनि सरकारले पेलेरै जाने प्रवृत्ति देखाएको बताए ।
उनले अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएरमात्र नपुग्ने बताए ।
"संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको समाचार आएको छ । यतिले मात्र हुँदैन । अरू मन्त्री पनि पोलिएका छन्, यस विषयमा निष्पक्ष छानबिन होस् । दोषीउपर सख्त कारबाही यथाशीघ्र होस्," उनले भने ।
उनले अगाडि थपे, "तर अझै पनि एउटा गम्भीर प्रश्न अनुत्तरित नै छ सभामुख महोदय, अध्यागमन विभागमार्फत भइरहेको मावन तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ? त्यो पदको यत्रो लोभ किन हो ? छानबिन समिति कहिले बन्ने हो ?"
न्युज एजेन्सी नेपालबाट ।