काठमाडौं । नेकपा (एमाले)की सचेतक सुनीता बरालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीको पछिल्लो एउटा अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन् । मंगलबार (असार ३१) प्रतिनिधिसभा बैठकमा उनले गलत आरोप/टिप्पणीलाई संसद्मा प्रश्रय दिन नहुनेमा जोड दिइन् ।
शाही बोल्दा बोल्दै आफ्नो आसनमा उभिएर उनले आपत्ति (नियमापत्ति) जनाएकी हुन् । बरालसँगै एमालेका अरू सांसद पनि उभिएका थिए । सभामुख देवराज घिमिरेसित उनीहरूले बराललाई बोल्न दिन संकेत गरिरहेका थिए । तर, सभामुखले शाहीको पालो भन्दै बराललाई पछि बोल्न आग्रह गरे ।
शाही बोलिसकेपछि बरालले बोल्ने समय पाइन् । शाहीले सरकार र प्रधानमन्त्रीमाथि संगीन आरोप लगाएर देशकै बदनाम गर्न खोजिएको उनले टिप्पणी गरिन् ।
“सिंगो नेतृत्वमाथि जुन संगीन आरोप लगाएर समग्र सरकार र सरकार मात्रै होइन, यो देशको नेतृत्वकर्ताका हिसाबले देशकै बदनाम गर्न खोजिएको छ,” उनले भनिन् ।
शाहीको आरोपप्रति एमालेको ध्यानाकर्षण भएको उनले बताइन् । संसद्मा जे जस्तो पनि आरोप लगाउने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि जनाइन् ।
“यो संसद्मा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रवृत्ति बढिरहेको छ, जुन अभ्यास बढिरहेको छ र अहिले भर्खरै पूर्ववक्ता माननीय (ज्ञानेन्द्र शाही)ज्यूले संगीन आरोप सरकारलाई, सरकारको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीको नामै उच्चारण लिएर गर्नुभयो,” उनले भनिन्, “यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ, सम्माननीय सभामुख महोदय । यो विषय रेकर्डबाट हटाइनुपर्छ ।”
शाहीले बोल्ने क्रममा ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आऊनू’ भनेका थिए । “पहिला–पहिला एउटा चलन थियो, अहिले पनि छ– ज्ञान नपाए काशी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आऊनू, केपी ओली सरकारमा,” उनले भने ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’बारेको अडियोपछि पदबाट राजीनामा मात्रले उन्मुक्ति दिइन नहुनेमा उनले जोड दिए । गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने उनले बताए ।
“के मन्त्रीले राजीनामा दिनेबित्तिकै समस्या समाधान हुन्छ ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्,” उनले भने ।
सरकारले भ्रष्टाचारीको संरक्षण गरिरहेको उनले आरोप लगाए । “भ्रष्टाचारीहरूको पनि सरकार हो भनेर नाम लेखाउनुस् अहिलेको सरकारले,” उनले भने ।
उनको भनाइसँगै बरालले आपत्ति जनाएकी हुन् । आफूहरू पनि दोषीलाई कारबाही गर्नुपर्ने पक्षमा रहेको उनले बताइन् । तर, प्रधानमन्त्रीलाई त्यसमा जोड्नु उचित नभएको भन्दै उनले विरोध गरिन् ।
त्यसपछि सभामुख घिमिरेले पछिल्लो समय संसद्मा अमर्यादित टीकाटिप्पणी गर्ने गरिएको भन्दै उठाइएको विषयप्रति ध्यानाकर्षण भएको बताए । र, उनले संसद्का नियमित कार्य अघि बढाए ।