site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार संसद्लाई अवमूल्यन गरिरहेको छ : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले संसद्लाई अवमूल्यन गर्ने तथा संसदीय प्रणालीमाथि छेडखानी गरिरहेको आरोप लगाएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन् । 

उनले सरकारको व्यवहारले संविधान र व्यवस्थाप्रति जनतामा अरुचि र संकट पैदा हुँदै गएको टिप्पणी गरे । सरकार आफ्नो उद्देश्य पूरा गर्न सफल भए पनि राष्ट्र, जनता, सुशासन, संविधानको संशोधन र समृद्धिको कोणबाट हेर्दा पूर्णतः असफल भएको उनको भनाइ छ । 

सांसद सापकोटाले सरकारले तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ल्याएको बजेट चलाएको उल्लेख गर्दै आर्थिक सुधारको संकेत देखिए पनि तत्कालीन सरकारलाई धन्यवाद दिनुपर्ने उल्लेख गरे ।

उनले भने, “संसद् विघटन गरेको पृष्ठभूमि भएको नेताले सरकारको नेतृत्व गरिराख्नु भएको छ । सरकारले संसद्लाई अवमूल्यन गर्ने, हेप्ने, संसदीय प्रणालीलाई छेडखानी गर्ने काम गरिराखेको छ । यो राम्रो भएन । यसले संसद् मात्रै होइन व्यवस्थामाथि अरुचि र संकट पैदा गर्दछ ।” 

सरकार भ्रष्टाचारमा अल्मलिएको कारण जनताप्रति उत्तरदायी हुन नसकेको उनको टिप्पणी छ ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्