site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्ध जारी राख्दै युक्रेनको थप भूभाग कब्जा गर्नसक्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले उनको शान्ति स्थापनाका सर्तहरूमा सहमति नजनाएसम्म युक्रेनमा युद्ध जारी राख्ने योजना बनाएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा प्रतिबन्धको धम्कीको पनि उनी विचलित बनेका छैनन् । रुसी सेनाअघि बढ्दै जाँदा उनको क्षेत्रीय मागहरू विस्तार हुनसक्ने क्रेमलिननजिकका तीन स्रोतले बताएको रोयटर्सले जनाएको छ ।   

रुसको अर्थतन्त्र र सैन्य शक्ति पश्चिमले गर्ने थप कुनै पनि कदमलाई सामना गर्न पर्याप्त रहेको पुटिनको विश्लेषण छ ।

सोमबार ट्रम्पले पुटिनले युद्धविराममा सहमति नजनाएकोमा निराशा व्यक्त गरेका थिए । युक्रेनलाई प्याट्रियट सतहबाट हावामा हान्ने मिसाइल प्रणालीसहित हतियार आपूर्ति गर्ने घोषणा गरेका थिए । 

उनले ५० दिनभित्र शान्ति सम्झौता नभएमा रुसमाथि थप प्रतिबन्धहरू लगाउने धम्की पनि दिए । तर, पुटिन पश्चिमको दबाबमा युद्ध रोक्न तयार छैनन् । रुसले अमेरिकासहितका पश्चिमा देशले लगाएका कठिन प्रतिबन्धहरूको सामना गरिसकेकाले थप आर्थिक कठिनाइलाई पनि सामना गर्नसक्ने समाचारमा उल्लेख छ । 

एक स्रोतले नाम नलेख्ने सर्तमा रोयटर्सलाई भन्यो, “पुटिनको विचारमा अमेरिकासहित कसैले पनि युक्रेनमा शान्तिको सन्दर्भमा गम्भीरतापूर्वक उनलाई सम्बोधन गरेको छैन, त्यसैले उनले चाहेको कुरा नपाएसम्म युद्ध जारी राख्नेछन् ।” 

पुटिनले ट्रम्पसँगको सम्बन्धलाई महत्व दिएकैले विटकफसँग छलफल गरेको तर रुसको हित सबैभन्दा माथि राखेर प्रस्तुत भएको बताइएको छ । 

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले पूर्वराष्ट्रपति जो बाइडेनको तत्कालीन प्रशासनले युद्ध सुरु हुन दिनु नै गलत भएको बताइन् । “तर राष्ट्रपति ट्रम्प हत्या रोक्नमा केन्द्रित छन् । यदि, पुटिनले युद्धविराममा सहमति नजनाए उनले कडा प्रतिबन्ध र ट्यारिफको सामना गर्नुपर्नेछ,” उनले भनिन् ।

पुटिनका शान्तिका सर्तहरू
पुटिनका शान्तिका सर्तहरूमा नेटोले विस्तार नगर्ने कानुनीरूपमा बाध्यकारी प्रतिबद्धता, युक्रेनको तटस्थता र त्यहाँ बस्ने रुसी भाषीहरूको संरक्षण र रुसले कब्जा गरेका भूभागहरूलाई स्वीकार गर्ने विषय समावेश भएको स्रोतहरूले बताएका छन् ।

उनले युक्रेनका लागि प्रमुख शक्तिहरूसँग सम्बन्धित सुरक्षा ग्यारेन्टीबारे पनि छलफल गर्न इच्छुक रहेको बताएका छन्, यद्यपि यो कसरी कार्यान्वयन हुन्छ भन्ने स्पष्ट छैन ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रुसले कब्जा गरेका क्षेत्रहरूमा रुसको सार्वभौमसत्तालाई कहिल्यै स्वीकार नगर्ने र किभले नेटोमा सामेल हुने कि नहुने भन्ने निर्णय गर्ने सार्वभौम अधिकार राख्ने बताएका छन् । 

क्रेमलिनको सोचसँग परिचित अर्को स्रोतले पुटिनले मस्कोको लक्ष्यलाई पश्चिमको दबाबबाट हुने सम्भावित आर्थिक नोक्सानीभन्दा धेरै महत्वपूर्ण ठानेको छ । रुसी तेल खरिद गर्ने चीन र भारतमाथि अमेरिकाले ट्यारिफ लगाउने धम्कीबाट उनी चिन्तित नरहेको स्रोतको दाबी रहेको समाचारमा उल्लेख छ ।

अन्य स्रोतहरूले रुसले युद्ध क्षेत्रमा र आर्थिक रूपमा विशेष गरी गोलाबारुदजस्ता महत्वपूर्ण हतियारहरूको उत्पादनमा अमेरिका नेतृत्वको नेटो गठबन्धनलाई उछिनिरहेको र युद्धकेन्द्रित अर्थतन्त्रमा रुसको बलियो स्थिति रहेको बताए । राेयटर्स
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्