काठमाडौं । दक्षिण एसियामा नयाँ क्षेत्रीय संगठनको स्थापनालाई लिएर चर्चा तीव्र भएको छ । पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनको एक रिपोर्टका अनुसार, चीन र पाकिस्तान मिलेर यस्तो संगठन बनाउन सक्छन्, जसले लगभग निष्क्रिय भइसकेको सार्क (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन)को स्थान लिन सक्ने भारतीय समाचार संस्था प्रेस ट्रस्ट आफ इन्डियाले जनाएको छ ।
विशेषज्ञहरूले यो पहल भारतका लागि कूटनीतिक र रणनीतिक दृष्टिकोणले चुनौतीपूर्ण सावित हुन सक्ने मानिरहेका छन् । रिपोर्टका अनुसार, इस्लामाबाद र बेइजिङबीच यो प्रस्तावमा वार्ता अन्तिम चरणमा छ । हालै चीनको कुनमिङ सहरमा पाकिस्तान, चीन र बंगलादेशबीच त्रिपक्षीय बैठक भएको थियो । यो बैठकको उद्देश्य दक्षिण एसियाली देशहरूलाई यो नयाँ संगठनमा सामेल हुन निम्तो दिनु थियो ।
यद्यपि, बंगलादेशले हाललाई कुनै पनि यस्तो गठबन्धनको सम्भावनालाई अस्वीकार गरेको समाचारमा बताइएको छ । “हामी कुनै गठबन्धन बनाउँदै छैनौँ,” विदेश मामिला सल्लाहकार एम. तौहिद हुसैनले भनेका थिए ।
स्रोतहरूका अनुसार, भारतलाई प्रस्तावित नयाँ मञ्चमा जोडिन निम्तो दिइनेछ, जबकि श्रीलंका, माल्दिभ्स र अफगानिस्तान जस्ता देशहरू यो समूहको हिस्सा हुने अपेक्षा गरिएको छ । अखबारका अनुसार, नयाँ संगठनको मुख्य उद्देश्य व्यापार र सम्पर्कलाई बढावा दिएर क्षेत्रीय सहभागिता बढाउनु रहेको बताइएको छ ।
यदि यो प्रस्ताव कार्यान्वयन भएमा यसले भारत–पाकिस्तान द्वन्द्वका कारण लामो समयदेखि निलम्बित रहेको सार्कको स्थान लिने बताइएको छ । सार्कको हरेक दुई–दुई वर्षमा हुने शिखर सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको अन्तिम सम्मेलनपछि आयोजना भएको छैन ।
सन् २०१६ को सार्क शिखर सम्मेलन इस्लामाबादमा आयोजना हुने तय भएको थियो । तर त्यही वर्ष सेप्टेम्बर १८ मा जम्मू र कश्मीरको उरीमा भारतीय सेना क्याम्पमा भएको आतंकवादी आक्रमणपछि भारतले वर्तमान परिस्थितिका कारण भन्दै सम्मेलनमा भाग लिन असमर्थता व्यक्त गरेको थियो । बंगलादेश, भुटान र अफगानिस्तानले पनि इस्लामाबाद बैठकमा भाग नलिने निर्णय गरेपछि उक्त शिखर सम्मेलन रद्द भएको थियो ।