काठमाडौं । इजरायलको सेनाले बुधबार सिरियाको राजधानी दमास्कसमा रहेको रक्षा मन्त्रालय र दक्षिणी सिरियामा सरकारी फौजमाथि आक्रमण गरेको छ ।
बुधबार राजधानी दमास्कसको राष्ट्रपति भवन वरपरको क्षेत्रलाई निशाना बनाएको थियो । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार, यी आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।
अन्य इजरायली हवाई आक्रमणहरूले दक्षिणपश्चिमी प्रान्तहरू सुवायदा र देरालाई पनि प्रहार गरे ।
गत हप्ता दक्षिणी सिरियामा स्थानीय ड्रुज र बेदुइन समुदायहरूबीच सुरु भएको स्थानीय संघर्षलाई लिएर बुधबार इजरायलले सिरियाको रक्षा मन्त्रालय र राजधानी दमास्कसका विभिन्न स्थानमा बमबारी गरेको बताइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना फौजहरूले ड्रुज समुदायलाई बचाउन र शासनका गिरोहहरूलाई नष्ट गर्न काम गरिरहेको बताएका छन् ।
सिरियाली विदेश मन्त्रालयले इजरायलमाथि विश्वासघाति आक्रमणको आरोप लगाएको छ ।
आइतबारदेखि सिरियाको सुवायदा क्षेत्रमा ड्रुज लडाकु र बेदुइन जनजातिहरूबीच भएको झडपमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिणमा भएको हिंसाप्रति धेरै चिन्तित भएको बताएका छन् । उनले यो हिंसा केही घण्टाभित्रै समाप्त हुने विश्वास व्यक्त गरेका छन् । अहिले ड्रुज समुदाय र सरकारबीच सहमति भएको छ ।
ड्रुज समुदाय र सरकारबीच सहमति
बुधबार राजधानी दमास्कसको राष्ट्रपति भवन वरपरको क्षेत्रलाई इजरायलले निशाना बनाएको घटनापछि सिरियाली सरकार र ड्रुज नेताहरूले नयाँ युद्धविरामको घोषणा गरेका छन् । युद्धविराम घोषणाको एक दिनमै तोडिएको थियो ।
सरकारी समाचार एजेन्सी साना र एक ड्रुज धार्मिक नेताले जारी गरेको भिडियो सन्देशमा युद्धविरामको घोषणा गरिएको छ । यद्यपि, यो नयाँ सम्झौता टिक्ने वा नटिक्ने स्पष्ट छैन । यसअघि मंगलबार घोषित युद्धविराम केही घण्टामै तोडिएको थियो, जसले स्थानीय स्थिति थप तनावपूर्ण बनाएको छ ।
इजरायलको प्रत्यक्ष कारबाहीले तनाव बढायो
सिरियामा वर्षौंसम्म चलेको गृहयुद्धपछि जब देशमा राजनीतिक स्थिरताको आशा बढिरहेको थियो, तब ड्रुज अल्पसंख्यक र सरकारी फौजबीच नयाँ झडपहरूले स्थिति फेरि बिग्रिएको छ ।
यसैबीच, इजरायलले सिरियामा आक्रमण गरेर प्रत्यक्ष कारबाही गरेपछि घटनाले फरक मोड लिएको छ । यो सम्पूर्ण घटनाक्रममा इजरायलको भूमिका पनि निकै महत्वपूर्ण रहेको बताइएको छ ।
इजरायलले सिरियाको राजधानी दमास्कसमा असामान्य हवाई हमलाहरू गरेपछि यसलाई देशको सम्प्रभुतामाथिको ठूलो हस्तक्षेप भएको विश्लेषण गरिएको छ । इजरायलले यी हमलाहरू ड्रुज समुदायको रक्षा र इस्लामी विद्रोहीहरूलाई सीमाबाट टाढा राख्नका लागि गरेको दाबी गरेको छ । इजरायलमा पनि ड्रुज समुदायको ठूलो संख्या छ, जसले इजरायली सरकारमाथि दबाब बढाएको छ ।
गृहयुद्धपछि सबैभन्दा ठूलो संकट ?
राजनीतिक विश्लेषकहरूका अनुसार, यो स्थिति सिरियाको नयाँ सरकारका लागि सबैभन्दा ठूलो सुरक्षा संकट बनेर देखा परेको छ । सन् २०२३ को अन्त्यमा इस्लामी विद्रोही समूहहरूले राष्ट्रपति बशर अल–असदलाई सत्ताबाट हटाएपछि नयाँ स्थायी सरकारले देशमा स्थिरता ल्याउने आशा जागेको थियो । तर, अब यी घटनाहरूले नयाँ संकट गहिरिँदै गएको विश्लेषण गरिएको छ ।
१४ वर्षपछि शान्तिको प्रयासमा खतरा
सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धपछि हालै बनेको नयाँ सत्तालाई यो संघर्षले कडा चुनौती दिएको छ । युद्धको समयमा ड्रुज समुदायले धेरैपटक सरकारसँग दूरी बनाएको थियो । उनीहरूले फेरि सुरक्षा र अधिकारको माग गरिरहेका बेला टकरावको वातावरण बनेको छ । यसैबीच, सीमावर्ती क्षेत्रमा सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको छ ।
आगामी कदममा सबैको ध्यान
हाल अन्तर्राष्ट्रिय समुदायले यो युद्धविरामलाई एक आशाको रूपमा हेरिरहेको बताइएको छ । तर, सबैको ध्यान यो सम्झौता स्थायी शान्तितर्फ लैजान्छ वा फेरि असफल प्रयास बन्छ भन्नेमा केन्द्रित छ ।
यो घटनाक्रममा इजरायलको सैन्य भूमिका र सिरियाली सरकारको प्रतिक्रियाले आगामी स्थिति निर्धारण गर्ने बताइएको छ । विभिन्न एजेन्सीहरूको सहयोगमा