काठमाडौं । अमेरिकाले आफ्नो देशमा बसोबास गरिरहेका अवैध आप्रवासीहरूलाई उनीहरूको मूल देशमा फिर्ता नपठाई अफ्रिकी राष्ट्रहरूमा पठाउन थालेपछि अफ्रिकामा आक्रोश फैलिएको छ ।
यसैक्रममा अफ्रिकी राष्ट्र इस्वातिनीमा अमेरिकाबाट निर्वासित विदेशीहरूको आगमनले व्यापक असन्तोष उत्पन्न भएको सीएनएनले जनाएको छ ।
अमेरिकी गृह सुरक्षा विभागका प्रवक्ताले आप्रवासीहरूलाई इस्वातिनीका जेलहरूमा पठाइएको पुष्टि गरेका छन् ।
यसअघि स्वाजील्यान्ड भनिने अमेरिकी राज्य न्युजर्सीको आकारको अफ्रिकी मुलुक इस्वातिनी एक राजतन्त्रात्मक देश हो । त्यहाँका अधिकारीहरूले बुधबार अमेरिकाबाट आएका पाँच निर्वासितलाई फरक–फरक जेल कक्षहरूमा राखिएको स्वीकार गरेका छन् । तर ती व्यक्तिका कारण देश वा नागरिकलाई कुनै प्रत्यक्ष खतरा नरहेको दाबी गरेका छन् ।
सरकारकी कार्यवाहक प्रवक्ता थाबाइल मड्लुलीले यो निर्वासन अमेरिका र दक्षिणी अफ्रिकी राष्ट्रहरूबीच महिनौँसम्म भएको उच्चस्तरीय वार्ताको परिणाम भएको बताइन् ।
यस कदमका आलोचकहरूले इस्वातिनीलाई अमेरिकाबाट निर्वासित गरिएका व्यक्तिहरूलाई डम्पिङ गर्ने स्थानजस्तै व्यवहार गरिएको भन्दै विरोध जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिका कारण केही देशहरूले आफ्ना नागरिकहरूलाई फिर्ता लिन अस्वीकार गरेका वा सीमित मात्रामा मात्र फिर्ता लिएकाले अमेरिकासमक्ष गम्भीर अवरोध सिर्जना गरेको बताइएको छ ।
अमेरिकाले सम्पर्क गरेका केही देशहरूमध्ये नाइजेरियाजस्ता मुलुकहरूले विदेशी निर्वासितहरूलाई स्वीकार गर्न गरिएको दबाबको निन्दा गरेका छन् ।
नाइजेरियाका विदेश मन्त्री युसुफ तुगरले गतहप्ता एक टेलिभिजन अन्तर्वार्तामा भने, “अमेरिकाले भेनेजुएलाका नागरिकहरूलाई देश निकाला गर्न अफ्रिकी राष्ट्रहरूलाई भारी दबाब दिइरहेको छ ।” सीएनएन