काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञलाई राखेर अनुसन्धान अघि बढाएको छ । शनिबार (साउन ३) सिंहदरबारमा बसेको बैठकमा विज्ञका रूपमा संविधानविद् काशीराज दाहाललाई समितिमा राखेर छानबिन अघि बढाइएको हो ।
“हामीले विज्ञहरूको पनि निर्णय लिने गरी काम अघि बढाएका छौँ, जसमा समितिले निर्णय गरेअनुसार संविधानविद् काशीराज दाहाललाई विज्ञको रूपपम आजदेखि समितिमै बस्ने गरी तयारी गरेका छौँ,” समितिका संयोजक जीवन परियारले भने ।
विगतमा कसरी र के काम भए, बाँकी कार्य कसरी अघि बढाउने, छानबिनका क्रमलगायत विषयमा बैठकमा छलफल गरिएको उनले जानकारी दिए ।
“महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एकजना सहन्यायाधिवक्ता आउनुभएको छ भने एकजना उपन्यायाधिवक्ता समेत हाम्रो बैठकमा निरन्तर रहने गरी छानबिनमा सहयोग पुर्याउन आग्रह गरेका थियौँ,” उनले भने, “सोहीबमोजिम उहाँहरू आजको बैठकमा सहभागी हुनुहुन्छ । छलफल जारी छ, सोधपुछ भइरहेको छ । धेरै कामहरू सम्पन्न गरिसकेको अवस्था छ ।”
गठनको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । प्रतिनिधिसभाबाट समिति गठन गरिएको शनिबार १३औँ दिन हो । न्युज एजेन्सी नेपाल