site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून थप ६ महिना जेलमा रहनुपर्ने

काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक येओललाई ‘मार्सल ल’ लगाएको विषयमा हालै पक्राउ गरिएकामा उनमाथि थप आरोप तय गरिएको छ । यी आरोप उनमाथि राष्ट्रपति पदबाट हटाइएको लगभग तीन महिनापछि लगाइएको हो ।

मार्सल लको आदेश दिने दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून थप ६ महिना जेलमा रहनुपर्ने भएको अलजजिराले जनाएको छ । 

यो वर्षको अप्रिलमा देशको संवैधानिक अदालतले उनीमाथि महाभियोग कायम राख्ने फैसला सुनाएको थियो । त्यसपछि उनलाई पदबाट हटाइएको थियो ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले जनवरीमा उनको पक्राउलाई खारेज गरेको थियो । मार्चमा रिहाइ हुँदा अदालतले उनलाई हिरासतमा नलिई विद्रोहको मुद्दा चलाउने अनुमति दिएको थियो । तर, हालै सियोल अदालतले पक्राउ पुर्जी जारी गरेपछि यूनलाई फेरि जेल पठाइएको छ । यूनविरुद्ध आपराधिक मामिलाको जाँच भइरहेको जनाइएको छ ।

यूनमाथि उनका केही मन्त्रिपरिषद् सदस्यको अधिकारलाई प्रभावित गरेको आरोप लगाइएको छ । सत्ताको दुरुपयोग गरेको उनीमाथि आरोप छ ।

यूनले आपत्कालीन मार्सल लगाई अनुमोदन गर्न केही मन्त्रिपरिषद् सदस्यलाई मात्र बोलाएका थिए । जबकि, दक्षिण कोरियाली कानुनानुसार यस्तो कुनै कदमका निम्ति सबै मन्त्रिपरिषद् सदस्यको अनुमोदन आवश्यक हुन्छ ।

यूनमाथि मार्सल ल घोषणाको औपचारिक आवश्यकता पूरा गर्न एउटा आधिकारिक दस्ताबेज बनाएकामा पछि त्यसलाई नष्ट गरेको आरोप पनि लगाइएको छ । 

यूनले राष्ट्रपति रहँदा गत वर्ष डिसेम्बर ३ मा आफ्ना विरोधीलाई दबाउन मार्सल ल लागु गरेका थिए।  यद्यपि, यो आदेश केही घण्टा मात्र चल्यो । किनभने, केही सांसदले संसद् बैठकमा भारी हतियारले सुसज्जित सैनिकहरूको घेराबन्दी तोडेर कानुन खारेज गर्न मतदान गरेका थिए ।

डिसेम्बर १४ मा सांसदहरूले यूनविरुद्ध महाभियोग चलाए । र, जनवरी २६ मा सरकारी अभियोजकले उनीमाथि विद्रोहको षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्