site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मिडियालाई नियमन नगरे समाजमा अराजकता बढ्छ : सांसद पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताएका छन् । आइतबार (साउन ४) प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

नयाँ सञ्चारमाध्यम (न्यु मिडिया)लाई सूचना सम्प्रेषणका हकमा अनावश्यक हस्तक्षेप हुन नहुने उनले उल्लेख गरे । जनतालाई सूचनाको हक प्रदान गर्ने विषयमा मिडियालाई राज्यले निर्देशित गर्न नहुनेमा उनले जोड दिए ।

न्यु मिडियालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? भन्दै उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृृथ्बीसुब्बा गुरुङलाई प्रश्न गरे ।

उनले भ्रामक सूचना प्रसारण गर्ने सञ्चारमाध्यमलाई कडा कारबाहीको व्यवस्था आवश्यक रहेको धारणा राखे । विधेयक आवश्यक भए पनि त्यसमा सच्याउनुपर्ने महत्त्वपूर्ण बुँदा रहेको भन्दै उनले सुधार गर्न सरकारलाई आग्रह गरे ।

मिडियालाई नियमन गर्न नसके समाजमा अराजकता बढ्न सक्ने उनले बताए । सांसद पौडेलले विधेयकलाई समृद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । पत्रकारिताका नाममा समाजमा भइरहेको अराजकतालाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गरी सक्षम निकायका रूपमा विकास गर्न सरकारले उक्त विधेयक अघि बढाएको हो ।

बैठकमा देवेन्द्र पौडेलको भनाइ पढ्नोस्–
न्यु मिडियालाई कसरी नियमन गर्नुहुन्छ मन्त्रीज्यू ? सूचना लिने र दिने नागरिकको हक कसैबाट निर्देशित हुनु हँुदैन । त्यसका लागि काउन्सिललाई स्वायत्त बनाएर स्वतन्त्र र निष्पक्ष व्यक्तिलाई ल्याउनुपर्छ, जसले सरकार तथा अन्य मिडियामाथि निगरानी गर्नुपर्छ । सूचनाको हकसँग सम्बन्धित भएको हुनाले नागरिकले सूचना पाउने कुरामा राज्यको निर्देशन हुनुपर्छ । यदि, कसैले त्यस्तो भ्रामित र भ्रम सूचना प्रसारण/प्रकाशन गर्नेलाई दण्डित गर्नुपर्छ । लेनदेनमा कुरा नमिलेको र व्यक्तिलक्षित निरन्तर समाचारहरू आउने गर्छ । यसबारे गम्भीर हुनुपर्छ । मिडियालाई नियमन गर्न सकिएन भने समाजमा अराजकता बढेर जान्छ । यो विधेयकमा सच्याउने कुराहरू सच्याउनुपर्छ । यो विधेयक आवश्यक छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्