काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दुईदिने भारत भ्रमण तय भएको छ । उनले आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारतको भ्रमण गर्ने तय भएको हो ।
“भारतको औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तो प्राप्त भएको छ,” प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, “भ्रमण भदौ ३१ देखि असोज १ गतेसम्मको लागि तय भएको छ ।”
ओली प्रधानमन्त्री भएको एक वर्षपछि मात्र भारतले औपचारिक निमन्त्रणा पठाएको हो । भारत भ्रमणमा जाने इच्छा राखे पनि ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा पठाएका थिएनन् ।
“भ्रमण हुन्छ । भ्रमणको तयारी भइरहेको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाह्रखरीलाई भने ।
ओली ०८१ असार ३१ गते प्रधानमन्त्री भएका थिए । यस अवधिमा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच दुईपटक भेटवार्ता भएको छ । दुवै भेटवार्ता गत वर्ष अमेरिका र थाइल्यानडमा भएका थिए ।
गत वर्ष संयुक्त राष्ट्रसंघको महासभामा भागलिने क्रममा अमेरिकाको न्युयोर्क र बिमस्टेक शिखर सममेलनमा सहभागी हुने क्रममा थाइल्यान्डको बैंककमा ओली र मोदीबीच भेटवार्ता भएको थियो ।
यसैबीच, भारतीय प्रधानमन्त्री मोदी आगामी नोभेम्बरमा नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले केही दिनअघि दिएको एक अन्तर्वार्तामा मोदी नेपाल आउने तयारी भइरहेको बताएका थिए ।