site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले ओबामा पक्राउकोे एआई भिडियो पोस्ट गर्दै भने– कोही कानुनभन्दा माथि छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै पूर्वराष्ट्रपति बाराक ओबामामाथि प्रहार गरेका छन् ।

ट्रम्पले ट्रुथ सोसलमा ओबामालाई प्रहरीले गिरफ्तार गरिरहेको र जेलको फलामे बारभित्र थुन्दै गरेको एआई भिडियो पोस्ट गरेका छन् । र, ‘कोही पनि कानुनभन्दा माथि छैन’ लेखेका छन् ।

ट्रम्पले यो भिडियो यस्तो समयमा पोस्ट गरेका छन्, जब उनको प्रशासनले ओबामामाथि सन् २०१६ को राष्ट्रपति चुनावमा धाँधली गरेको आरोप लगाइरहेको छ ।

ट्रुथ सोसलमा ट्रम्पले पोस्ट गरेको एआई भिडियोमा ओबामाले ‘कोही पनि कानुनभन्दा माथि नभएको, विशेष गरी राष्ट्रपति’ भन्दै गरेको देखाइएको छ । 

त्यसपछि धेरै अमेरिकी पूर्वराष्ट्रपति र राजनीतिज्ञले ‘कोही पनि कानुनभन्दा माथि नभएको’ भन्दै गरेको देखाइएको छ ।

अनि, ओबामालाई ट्रम्पसँग ह्वाइट हाउस कार्यालयमा बसेको देखाइएको छ । त्यहाँ दुई एफबीआई एजेन्ट आउँछन् र ओबामालाई हतकडी लगाउन थाल्छन् । उनीहरूले ओबामालाई तानेर लैजाँदै गरेको देखाइएको छ । ओबामा गिरफ्तारीको समयमा नजिकै बसेका ट्रम्प हाँस्दै गरेका भिडियोमा देखाइएको छ ।

त्यसपछि ओबामा सुन्तला रङको जम्पसुट लगाएर जेलभित्र जाँदै गरेको र त्यहाँ उदास भएर बसेका देखाइएको छ ।

ट्रम्पले यो भिडियो काल्पनिक भएको बारे कुनै ‘डिस्केमर’ जारी गरेका छैनन् । धेरैले ट्रम्पको यो कदमको आलोचना गरेका छन् ।

हालै ट्रम्प प्रशासनमा सामेल अमेरिकी गुप्तचर एजेन्सी प्रमुख एवं कंग्रेस पूर्वसदस्य तुलसी गबार्डले ओबामा प्रशासनमाथि २०१६ को राष्ट्रपति चुनावमा धाँधली गरेको आरोप लगाएकी छन् । उनले ओबामा र उनका प्रमुख अधिकारीले जानाजानी रुसको हस्तक्षेपको झुटो कहानी बनाएर ट्रम्पको वैध जितलाई शंकास्पद बनाउन खोजेको बताएकी छन् । गबार्डले यो विषयमा फौजदारी अनुसन्धान र मुद्दाको माग गरेकी छन् ।

उनले पूर्वडीएनआई जेम्स क्ल्यापर, सीआईए निर्देशक जोन ब्रेनन र एफबीआई निर्देशक जेम्स कोमीमाथि झुटो गुप्तचर रिपोर्ट तयार गरेको आरोप लगाएकी छन् ।

गबार्डले यसलाई ‘देशद्रोही षड्यन्त्र’को संज्ञा दिँदै दिएकी छन् । यो ट्रम्पलाई कमजोर बनाउन र लामो समयसम्म चलेको षड्यन्त्रको आधार भएको बताएकी छन् ।

गबार्डले ओबामा प्रशासनले मिडियामा झुटो समाचार फैलाउन जानाजानी गोपनीय जानकारी चुहाएका दाबी गरेकी छन् ।

उनले वासिङटन पोस्टजस्ता प्रमुख मिडिया संस्थामा रुसले ट्रम्पको जितमा साइबर आक्रमणमार्फत हस्तक्षेप गरेको समाचार फैलाइएको जिकिर गरिन् ।

सन् २०१७ को जनवरी ६ मा जारी गुप्तचर रिपोर्ट पनि पहिल्यै अविश्वसनीय ठानिएको फर्जी दस्ताबेजमा आधारित रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्