काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रपति र सभामुखबीच संवैधानिक अन्तर रहेको बताएका छन् । बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सभामुख सक्रिय राजनीतिमा फर्किन मिल्ने भए पनि राष्ट्रपतिको हकमा संविधानले सम्पूर्ण आबद्धता त्याग गर्नुपर्ने व्यवस्था गरेको बताए ।
“सम्माननीय राष्ट्रपति र सभामुखका बीचको अन्तरलाई बुझ्नुपर्दछ,” उनले भने, “राष्ट्रपति निर्वाचित भएपछि सम्पूर्ण प्रकारका राजनीतिक भूमिका त्याग्नुपर्छ । कुनै राजनीतिक नियुक्तिमा छ भने राजीनामा दिनुपर्छ । तर, सभामुख भने आफैँमा राजनीतिक जिम्मेवारी हो ।”
उनले अगाडि भने, “सांसदको सदस्य रहेन भने ऊ सभामुखबाट अलग हुन्छ । दुवैले दलीय भूमिका परित्याग गरेको हुनाले एउटै हो भन्ने छ । तर, त्यो होइन । संविधानले सभामुखका हकमा प्रतिनिधि सभाको सदस्य कायम रहने कुरा गर्दछ । राष्ट्रपतिका हकमा ऊ निर्वाचित भयो भने प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिनुपर्छ ।”
एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा सक्रिय हुन नहुने निर्णय गरिसकेको छ ।
न्युज एजेन्सी नेपालबाट ।