मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार । त्यही सिंहदरबारको बीच भागमा अवस्थित छ एक सय १७ वर्षभन्दा बढी पुरानो भवन । जहानीया राणा शासन, पञ्चायती शासन, बहुदलीय व्यवस्था र गणतन्त्र प्रवेशबिन्दुसम्म मुलुकका अनेक आरोह–अवरोधका कथा जोडिएका छन्, भवनसँग !
जसलाई ‘ग्यालरी बैठक’ले चिनिन्छ ।
ग्यालरी बैठकले नेपालको राजनीतिक इतिहासमा फरक–फरक शैलीका सभा देख्यो, सदन देख्यो । शासक फेर्यो, र, शासक घेर्यो पनि । त्यो ऐतिहासिक भवनले अनगिन्ती सत्ताकांक्षीको बोली सुन्यो, रवाफ देख्यो । प्रधानमन्त्री, मन्त्री र सांसदका बोली सुन्यो, गुनासो सुन्यो, नारा सुन्यो, घेराऊ बेहोर्यो ।
कहिले सभामुख कुटिए, कहिले सांसद एक–आपसमा भिडे । कहिले कुर्सी तोडफोड त कहिले सांसदहरूबीच हानाहान भयो, सांसदहरू एकआपसमा हात हालाहालको अवस्थामा पनि पुगे । भवनले सबैखाले ताण्डव बेहोर्यो ।
यहाँसम्म कि त्यही भवनले शक्तिशाली राजतन्त्रलाई ‘कुँजो’ बनाउँदै गणतन्त्रको बिऊ रोप्यो, २०६३ जेठ ४ को ऐतिहासिक घोषणासँगै ।
ग्यालरी बैठक नेपालको राजनीतिक इतिहासका उतारचढाबको एक ‘साक्षी’ पनि हो ।
बहुदलकालीन समय थियो त्यो, नेपाली कांग्रेस सत्ताबाट प्रतिपक्षी कुर्सीमा पुगेको थियो । २०१६ र २०४८ मा सरकारको नेतृत्व गरेको कांग्रेस प्रतिपक्षी अभ्यस्त हुन सकिरहेको थिएन ।
कांग्रेसले एकदिन ग्यालरी बैठक, जहाँ प्रतिनिधिसभाको बैठक चल्दै थियो– त्यहाँ ‘मरेको बाघ’ प्रवेश गरायो ।
अर्थात् बैठकको भित्तामा चित्रित मरेका बाघका विषयमा आपत्ति, नियमापत्तिमात्रै गरेन कि त्यसदिन बहस त्यसमै केन्द्रित गराउन सफल भयो, कांग्रेस ।
त्यो दिन थियो– २०५१ पुस २३ ।
काठमाडौंको ठिहिरेटो, दोस्रो संसदीय कालखण्डको बीसौं बैठकको समय थियो त्यो । बहुदलकालीन साढे तीन वर्षे सत्ताभोगपछि नेपाली कांग्रेस प्रतिपक्षी कुर्सीमा पुगेको थियो । अनि मुलुकको इतिहासमै कम्युनिष्ट पार्टी पहिलोचोटि सत्तापक्षीय बेञ्चमा रम्न पुगेका थिए, अल्पमतको सरकार बनाउँदै । सरकारको नेतृत्वमा थियो नेकपा एमाले ।
ग्यालरी बैठक, जहाँ सत्तापक्ष बेञ्च नजिकै पत्रकार दीर्घा थियो । सत्ता र त्यसमा पनि प्रधानमन्त्री–मन्त्रीका हाउभाऊ सजिलै देखिन्थ्यो, प्रतिपक्षी अलि टाढा । अर्थात्, संसदीय पत्रकारिता यतिखेरको जस्तो बाल्कोनीमा उक्लिइसकेको थिएन ।
त्यो दिन कांग्रेस सांसद बलदेव शर्मा मजगैयाँले अलि फरक विषय उठाए, त्यसले राम्रै बहस भित्र्याउँछ भन्ने सम्भवतः उनलाई पनि लागेको थिएन । खासमा उनलाई राणाकालीन कलाकृति–चित्र मन परेनछ । ग्यालरी बैठकका भित्तामा बाघको शिकारमा राणाकालीन शिकारी तथा शासकहरू रमाएका चित्रहरू थिए ।
मजगैयाँ कर्मचारी सरुवा एमालेले प्रारम्भमै पक्षपात गरेको तथ्य राख्दै थिए । उनको आँखा ग्यालरीका भित्तातिर पर्यो ।
उनी पहिलो चोटि सांसद बन्दै ग्यालरी बैठक छिरेका थिए । बीचैमा मजगैयाँले भने, “सभामुखज्यू, यहाँ भएका शिकारका तस्बिरहरूप्रति आकर्षित गर्न चाहन्छु । शिकारका तस्बिरहरू आपत्तिजनक छन्, पशुहरूको नैसर्गिक अधिकारका आधारमा पनि घेराबन्दीमा हालेर जंगलमा मार्ने नैसर्गिक अधिकारकोे अनुदार्थ छैन ।”
उनी त्यत्तिमै रोकिएनन् । उनले थपे, “प्रचलित कानुनको आधारमा पनि यी बाघहरूको शिकार खेल्ने अधिकार छैन । आज हामीहरू वन्यजन्तुको संरक्षणका लागि विदेशीसँग अनुदान मागिरहेका छौँ । यस मर्यादित सदनमा यस्ता किसिमका हिंसात्मक गन्ध आउने आतंकको गन्ध आउने यी तस्बिरहरू हटाइयोस् ।”
अनि सभामुख कुर्सीमा केही समयअघि मात्रै रामचन्द्र पौैडेल (वर्तमान राष्ट्रपति) आसिन हुन पुगेका थिए ।
यद्यपि ग्यालरी हल उनका निम्ति नौलो थिएन । उनी पहिलो संसदीय कालखण्डमै साढे तीनवर्ष मन्त्री हुँदै ग्यालरी बैठकमा धेरै प्रश्नको सामना गरेकै थिए ।
उनले तत्कालै हल्का टिप्पणी गरे, “माननीय सदस्य, यस (चित्र) का माथि एक जमाना यस्तै थियो भन्ने एउटा शीर्षक राखिदिए, राखे त हुन्छ कि ?”
सभामुखको बोली नसकिँदै कांग्रेसकै सांसद गोपालजीजङ्ग शाह पनि बाघकै तस्बिरमाथि आपत्ति गर्न आइपुगे । उनले ती मरेका बाघका तस्बिर हटाउन माग राखे ।
उनले अघिल्लो कालखण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर राणाले नियमापत्ति जनाएको र त्यसबेला रोकिएको घटना पनि सुनाए । त्यसो त, अघिल्लो कालखण्डमै कांग्रेस सांसद गंम्भीरजङ्ग कार्कीले पनि चित्रमाथि धेरैपटक व्यंग्य गरिसकेका थिए ।
शाहले राणाको नियमापत्ति कोट्याउँदै भने, ‘‘हामीले हटाऔँ भन्दाखेरी उहाँ (राणा) ले यो इतिहास झल्काउँछ भन्नुभएको थियो । सायद, त्यो इतिहासै झल्काउने हो भनेपछि, इतिहास झल्काउन यो बाघ मारेको फोटो राखेर इतिहास झल्किँदैन । बाघ मारेको फोटो अथवा कसैले बन्दुक तोकेको फोटो, कसैले बाघलाई वरिपरिबाट घेरेको फोटोले इतिहास झल्किदैन ।’’
उनी खाँटी बहुदलवादी हाउभाऊ देखाउन पुगे । उनले ‘सहिद तस्बिर’ राख्नुपर्छ भन्ने माग राखे ।
उनले भने, ‘‘यी फोटोहरूभन्दा यहाँ यो देशमा प्रजातन्त्र ल्याउने ठूल्ठूला सहिदहरू यो देशमा प्रजातन्त्रका निम्ति मरिमेट्ने सहिदहरू, यस देशमा प्रजातन्त्रका निमित्त, मानव अधिकारका लागि लड्ने सहिदहरूको फोटो राखिनुपर्छ । यी फोटोहरू तत्काल हटाउनुपर्छ ।’’
शाहका निम्ति ग्यालरी बैठक नौलो थिएन । उनी पञ्चायतकालमा २०३८ सालमै रुकुमबाट राष्ट्रिय पञ्चायत सदस्य (रापंस) हुँदै ग्यालरी बैठकमै राजनीतिक जीवन कटाएका थिए । तिनै मरेका बाघ हेर्दै पञ्चायतमा रमाएका पात्र थिए । अझ २०३९ सालमा बीपी कोइरालाको शवयात्रामा कांग्रेसको चारतारे झन्डा सहरमा देखिएपछि ‘नियमापत्ति’ गर्ने रापंसभित्र पर्थे ।
उनी बहुदलसँगै पूर्व राष्ट्रिय पञ्चायत सदस्यबाट कांग्रेस सांसद बनेका थिए ।
त्यो ग्यालरी हल, जहाँ पशुपति शमशेर जबरा बाल्यकालमा रमाउँथे । हजूरबुबा श्री ३ मोहन शमशेरको काखमा बसेर नाटक हेरेका थिए, भोज खाएका थिए ।
त्यो दिन उनी त्यही हलमा थिए, उनका पुर्खाका साहसी–सिकारी तस्बिरमाथि आपत्ति–नियमापत्ति चलिरहँदा राणा चाहिँ मौन देखिन्थे ।
बरु सूर्यबहादुर थापा ‘मरेकै बाघ’को विषय तताउँदै प्रतिपक्षी कुर्सीमा सँगै रहेका कांग्रेसलाई ‘ठोक्न’ पुगे । भनिहाले, “मरेको बाघसँग डराउने प्रमुख प्रतिपक्षीबाट राष्ट्रले के आशा गर्ने ?”
उनले भने, “यो सदनभित्रको भूमिका भन्ने प्रमुख कुरा सत्तापक्ष र प्रमुख प्रतिपक्षको हो । तर, कता–कता हेर्दाखेरी आज कुरा सुन्दाखेरी यो संवैधानिक भूमिका निर्वाह होला जस्तो मैले त ठानिनँ । एमाले सत्तापक्षमा बसेको नेपालको इतिहासमा पहिलोपटक हो । त्यस अवस्थामा प्रमुख प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आज तस्बिरदेखि डराउँछ भने के यो प्रतिपक्षको भूमिका निर्वाह गर्छ ?”

उनले प्रतिपक्षी कांग्रेसलाई डरको मनस्थितिमा बसेपछि प्रतिपक्षको भूमिका खेल्न सक्दैन कि भन्ने आभास हुन जान्छ भन्दै सचेत गराए ।
उनले भने, ‘‘उहाँलाई यो तस्बिरको हकिकत होइन, बायाँ (सत्तारुढ एमाले) पट्टि हेर्नाेस्, त्यो हकिकत हो । त्यसकारणले यो आर्कियोलोजिकल सम्पत्ति सम्पदा भइसकेको देखिन् डराउनुपर्ने कुनै आवश्यकता छैन । यो यस्तो विरोधाभासमा जुन किसिमका भावनाहरूदेखि डराउनेले आज प्रतिपक्षको भूमिका गर्ने कुरामा आशा कसरी जनताले राख्छन् ? राष्ट्रले कसरी आशा राख्छ ।’’
उसै त, थापाको चर्काे स्वर र ‘कम्युनिष्ट हकिकत’ देखाउँदै कांग्रेसलाई आतंकित पार्न उद्यत भए ।
राणाकालीन तस्बिरसँग रिस मरेको थिएन, अझ त्यसमाथि थापाको व्यंग्य कांग्रेसी सांसदहरूलाई जँचेन ।
कांग्रेस सांसद चिरन्जीवी वाग्ले थापामाथि खनिन पुगे । उनले भने, ‘‘वास्तविक रूपमा मरेका बाघ पनि होइनन्, यी त तस्बिर मात्र हुन् । यो तस्बिर मात्र हुन् भन्ने कुरो थाहा पाएर सूर्यबहादुर थापाजी त नडराइकन यस संसद्मा आउनुभएको छ भने कांग्रेसका सदस्यहरू डराउनुपर्ने कुनै कारण छैन । सूर्यबहादुर थापालाई सभामुख महोदयमार्फत् के निवेदन गर्न चाहन्छु भने कांग्रेसका सांसदहरू यो तस्बिरदेखि डराएछन् भन्ने भ्रम रहेछ ।’’
मरेकै बाघमाथि कांग्रेसका सांसदहरूको आपत्ति लहर चल्यो । जहाँ थपिन आइपुगे युवा सांसद होमराज दाहाल पनि ।
उनले थपे, ‘‘कांग्रेस १०४ वर्षको राणा शासनविरुद्ध संघर्ष गर्दा डराएन । ३० वर्ष क्रूर पञ्चायती शासनविरुद्ध संघर्ष गर्दा कहिल्यै डराएन । जहाँसम्म यो तस्बिरमा देखेको सम्पत्ति आर्कियोलोजिकल हेरिटेज हो भने यसलाई लगेर संग्रहालयमा राख्नुपर्छ ।’’
उता, कांग्रेसका गोविन्दराज जोशी चाहिँ मरेका बाघलाई प्रतिपक्षी कुर्सीमा रहँदा एमालेको तोडफोड चरित्र जोड्न पुगे ।
उनले भने, “त्यहाँ जुन किसिमको एउटा शिकार खेल्ने वातावरण देखाएको छ । त्यसले गत अधिवेशनहरूमा त्यसबाट प्रेरित भएर सदनमा मारपिट गर्ने जो वातावरण यहाँ सिर्जना भएको थियो, अब त्यो हुन्छ कि भन्ने आशंकाले मात्र फोटो नराखियोस् । यो मर्यादित सदनबाट बाघका तस्बिर हटाइयोस्, किनभने वन्यजन्तु विनास होइन कि विश्वभरि संरक्षणको नारा चलेको छ ।”
सत्तापक्षमा पुगेपछि ‘नियमापत्ति’ गर्ने मेलो नपाइरहेका एमाले सांसद विरोध खतिवडाले आफूलाई रोक्न सकेनन् । अघिल्लो कालखण्डमा सत्तारुढ कांग्रेसमाथि नियमापत्ति गरी हायलकायल पार्न उनले कुनै कसर बाँकी राखेका थिएनन् ।
अति भएपछि एक दिन तत्कालीन सभामुख दमननाथ ढुंगानाले रुलिङ नै गरेका थिए, “तपाईँ नामअनुसार विरोध गरिरहनुस्, म नामअनुसार दमन गरिरहन्छु ।”
सत्तापक्ष भएपछि अलि अप्ठ्यारो मान्दै खतिवडाले भने, “यी तस्बिरहरूले तिनीहरूको अकाल मृत्यु भएको देखाएको छ । त्यसरी नै यो सदनको पाँच वर्षको आयु अकाल मृत्यु हुन्छ कि हुँदैन ? त्यो पनि उहाँले बताइदिनुपर्यो ।”
उनको बोली सकिएपछि फेरि कांग्रेसी सांसदहरू सूर्यबहादुर थापातिरै मोडिए, किनभने तिनको रिस मरेको थिएन । त्यही लहरमा चिनकाजी श्रेष्ठले भने, “यो तस्बिर हटाउनु हुन्न भन्ने माननीय सदस्यजी जुन बेलामा प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यतिबेला कोरिए जस्तो लाग्यो । उहाँ पञ्चायती व्यवस्थामा प्रधानमन्त्री हुनुभएको र उहाँको कालमा कति सहिद भए, ती सहिदको फोटो टाँसिदाखेरी सँधैभरि उहाँलाई मनमा ढुकढुकी लागिरहने हुनाले त्यो डरले हुन्न भएको हो ?”

अर्थात् थापाका पञ्चायतकालीन दमन र आतंकित चरित्रमा प्रहार बाँकी नराख्ने सूरमा कांग्रेस सांसदहरूको हात उठिरह्यो ।
तर, ती कांग्रेसजनलाई थाहा थिएन कि भोलि तिनै आतंकित पात्र थापालाई प्रधानमन्त्रीका रूपमा काँधमा बोक्नुपर्ला ?
त्यहीकारण चन्द्र–जुद्धशमशेरको नाचघर मानिएको ‘ग्यालरी’ बैठकभित्र रहेर कांग्रेस सांसदहरू पञ्चायती भूत जगाउने काम पालैपालो गर्दै थिए ।
त्यो दिनको संसदीय कारबाहीको ‘अभिलेख’ उतारिएकै छ । जहाँ आपत्ति, नियमापत्ति र घोर आपत्ति शृङ्खला सवाघन्टा जति चल्यो ।
अनि उता, सूर्यबहादुर थापाले त बाल्यकालमै ग्यालरी बैठकका ती बाघका तस्बिर देखेकै हुन् । उनी मोहित हुनु अस्वाभाविक थिएन । जुद्धशमशेरका छोरा ध्रुवशमशेरकहाँ पढ्न बस्दा बालखमै सिनेमा–नाच हेर्न आउँदा ग्यालरी बैठकको छाप परेकै थियो, थापालाई ।
उतिबेला ग्यालरी बैठकबाट बाहिरिँदै गर्दा ‘बाबुसाहेब’ ठानिँदै गार्डका सलाम पनि खाएकै हुन् । अनि पञ्चायतकालमा उनलाई अनगिन्तीपटक त्यो भवनले शासकीय शक्ति दिएकै थियो ।
थापा र कांग्रेस सांसदबीचको दोहोरीमा सत्तापक्ष आनन्द मान्दैथियो । विपक्षी दलहरू आफैँ बखेडाभित्र रमेपछि सत्तालाई हाइसञ्चो त हुने नै भयो । अझ एमालेजन संसदीय व्यवस्थालाई ‘गफाडीको अखडा’ भन्दै ग्यालरी हल छिरेका थिए ।
अनि तिनको मनमा जसरी पनि संसद्को भण्डाफोर गर्नुपर्छ भन्ने गडेकै थियो । तिनको रणनीतिमा संसद् त ‘उपयोग अस्त्र’ हो, सत्ता कब्जा गर्न । एक कालखण्ड संसदीय अभ्यास गरेपछि दोस्रो कालखण्डमा प्रवेश गरिरहँदा तिनीहरू ‘कन्फ्यूज्ड’मा थिए ।
तैपनि एमालेका युवा सांसद उर्वादत्त पन्तलाई चिन्ता जाग्यो । उनले भने, “यो गफ गर्ने अखडा नै रहेछ भन्ने नरहोस् र यसले सदनको गरिमालाई कम नतुल्याओस् । जंगलका बाघहरू निश्चित रूपमा मार्नु हुँदैन । तर, समाजमा रहेका हिंस्रक बाघहरूलाई जरुरी मार्नैपर्छ ।”
त्यो दिन सदन मरेका बाघको चित्रहरूबाट बाहिरिन सकेन । बहस झन् बहकिँदै थियो, दायाँ–बायाँतिर बाघका चित्रमा घोत्लिँदै नयाँ–नयाँ प्रसंग हुँदै चन्द्र–जुद्धशमशेरकै नाटक घरतिर पुग्ने स्थिति हुँदै पैदा थियो ।
बीचैमा कांग्रेस सांसद विजयकुमार गच्छदारले भने, “सभामुख महोदय, एउटा कुरा अनिर्णित भयो, ती बाघका तस्बिरमा यतिका माननीय सांसदहरूले गोली चलाउनुभयो, बन्दुक पड्काउनुभयो, व्यङ्ग्यात्मक बम–बारुदहरू पड्काउनुभयो ? ती तस्बिरका बाघहरू मरे कि मरेनन् ? ती बाघहरू मरे भने सदनको कार्यबाही अघि बढाइयोस् । यदि ती बाघका तस्बिरहरू जिउँदै छन् भने नियमापत्ति छ बहस जारी राखियोस् ।”
अनि सभामुख पौडेलको रुलिङ आयो, “त्यो बाघका तस्बिरहरूबाट माननीय सदस्यहरूलाई कुनै खतरा हुँदैन भन्ने कुराको म अभय दान दिन्छु ।”
उनको बोलीसँगै सांसदहरू मरेका बाघबाट जिल्लाका समस्या खोतल्न पुगे । हुन पनि ग्यालरी हल कलाकारद्वारा कुँदिएका ती आकर्षक कलाकृतिले भरिपूर्ण थियो । दायाँतिर हात्तीमा चढेका शिकारी शासक बाघतिर निसाना लगाउँदै तस्बिर थिए भने बायाँतिर शिकारीतिर लम्कदै गरेको बाघका चित्रहरू ।
सदन छिर्ने मूल ढोका दाया–बायाँ दुवैतिर शिकारीका गोलीद्वारा मरेका बाघ चित्रले सजिएको थियो । सदनमा विशेष अवसरमा विदेशी पाहुनाहरू आउँदा, तिनका आँखा केही समय तिनै कलात्मक चित्रमा घोरिन पुग्थ्यो, आश्चर्य मान्दै ।
सांसदहरू मरेका बाघमाथि केन्द्रित भए, तर त्यही भवनमा सिंहका आकृति पनि चारैतिर थिए ।
सभामुख आसनका दायाँ–बायाँ पित्तलका डरलाग्दा सिंहका आकृति थिए । अनि सिंहको टलक्क टल्किने आँखाले कतिपय बेला झस्काउँथ्यो पनि । अनि भवनभित्र चारैतिर माटोका सिंह आकृति पनि ।
ग्यालरी बैठकका ढोकामै रहेका सिंहकै आकृतिले शासक–जनप्रतिनिधिलाई स्वागत गर्थ्यो ।
सिंह–बाघभन्दा माथि हिटलर
राणाकाल बाघ–सिंहभन्दा ‘माथि’ हिटलरका तस्बिर टाँगेका थिए । राणा शासकहरूले भारदार तर्साउन ‘हिटलर’का तस्बिर राखेको विषय २०१६ सालमै प्रतिनिधिसभाको सदनमा प्रवेश भएको थियो । त्यो सुनेपछि सभामुख कृष्णप्रसाद भट्टराई झस्के ।
नेपाल कम्युनिष्ट पार्टीका सांसद तुलसीलाल अमात्यले २०१६ असोजको पहिलो साता संसदमै प्रश्न उठाएका थिए, “हाम्रो संसद् भवनमा हिटलरको तस्बिर छ, त्यसलाई हटाउने प्रबन्ध गर्नु भएको छ कि छैन ?”
सभामुख भट्टराई झस्किँदै प्रश्न गरे, “खोई कहाँ छ भन्नुभएको हो ?’”
अमात्यले भने, “माथि छ, ठूलै छ ।”
राणा शासनविरुद्ध जनता जाग्ने छाँटकाँट बढेपछि शमशेर खलकले ‘हिटलर’को तस्बिर प्रयोग बढाएका थिए । तिनीहरू भन्थे, “हामी पनि फासिस्ट हौं, हामी हिटलर बन्छौं ।” हुन पनि हिटलरले घोषणा गरेकै थिए, ‘‘अब २० हजार वर्षलाई विश्वमा हाम्रो निष्कन्टक राज हुनेछ ।’’
अमात्यका अनुसार, ‘‘राणाकालको उत्तराद्र्धमा नेपालमा हिटलर र मुसोलिनी दुवैको खुब चर्चा हुन्थ्यो । नेपालमा हिटलरका फोटाहरू यत्रतत्र फैलिएका थिए, व्यक्ति पूजाको खुब प्रचार थियो । सिंहदरबार ग्यालरी हलको माथिल्लो तलामा राणाहरूले सुनौलो फ्रेम राखेर हिटलर र मुसोलिनीका ठू–ठूला फोटोहरू टाँगिराखेका थिए ।’’
(अमात्य, तुल्सीलाल (२०६२), स्मरणका पानाहरू, तुल्सीलाल स्मृति प्रतिष्ठान पृष्ठ : ९१)
ललितपुरवासी कम्युनिष्ट सांसद अमात्यलाई राणाकालीन दृश्य याद हुने नै भयो । भट्टराई त राणा शासन वनारसमै थिए, धेरै कुरा थाहा सवाल रहेन ।
सभामुख भट्टराई र अमात्यबीचको संवाद संसदीय ‘भर्वेटिम’मा पढ्न पाइन्छ । तर, त्यसपछि ‘हिटलर’को तस्बिर झिकियो कि निरन्तर रह्यो ? त्यो तथ्य चाहिँ ‘भर्वेटिम’मा खुल्दैन ।
यस्तो छ, ग्यालरी बैठकको इतिहास
ग्यालरी हलका भित्तामा कुदिएका बाघका चित्र उप्काउन सकिँदैनथियो, तैपनि सांसदहरू संग्राहलयमा पुर्याउनुपर्छ भन्थे । तर, अब ग्यालरी भवन किन संसदीय संग्रहालयमा परिणत गर्नेतिर पनि सांसदहरूको कमै चासो परेको छ ।
सँगै हालका संसदीय पदाधिकारीहरूको ग्यालरी बैठकलाई ‘आफ्नै संग्राहलय’ बनाउने गरी अभ्यास गरिरहेको पाइँदैन । अनि त्यो ग्यालरी बैठकसँग भावना जोडिएका कर्मचारीहरूले अवकाश पाइसकेका छन् र कोही अवकाशको मुखमा । हालका पदाधिकारीहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्दै गरेको आधुनिक संसद् भवनमा रम्ने सूरसारमा छन् ।
ग्यालरी भवन, राणाकालीन शासकीय परिवारका नाचगानदेखि फिल्म–नाटक हेर्ने हल थियो । चन्द्रशमशेरले सिंहदरबार बनाएपछि विदेशी पाहुनासँग भेट्न र मनोरन्जन निम्ति यो भवन बनाएका थिए ।
राणा शासक फेरिएपिच्छे तिनका सोखअनुरूप भवनभित्र बिलासी बस्तु थपिँदै गए । बिलासी शासक चन्द्रशमशेरले विदेशबाट महँगा ऐना भित्र्याउँदै सजाए, जुद्ध शमशेरले त्यसमा थपथाप गरे । ग्यालरी भवनमा परिणत हुनुअघि ‘ऐना घर’ भनिन्थ्यो । ग्यालरी बैठकका आकर्षक शैलीमा ठूला–ठूला ऐना सजाइएको थियो ।
राष्ट्रिय पञ्चायत सदस्यहरू झुक्किँदै ग्यालरी बैठकलाई कहिले काहीँ ‘ऐना घर’ भन्थे । २०३० सालमा सिंहदरबार आगो लाग्दाका बखत जोगाउन बिष्फोट गराउँदा ग्यालरी बैठकका केही ऐना फुटेका थिए ।
उतिखेर होटल थिएनन्, विदेशी पाहुनासँग भेटघाटदेखि भोज खुवाउने हल बनाए । विदेशी पाहुना पनि भव्य वैभव देखेपछि आकर्षित हुने नै भए । यो भवनले वास्तुकला र चित्रकलाले जो कोहीलाई आकर्षित तुल्याउँथ्यो नै ।
राणाकालीन उदारवादी शासक पद्मशम्शेरले यही भवनमा भारदारी सभा बोलाएपछि ग्यालरी बैठकतिर परिणत भएको हो ।
त्यो भवनले राणाकालको आखिरी दिनका भारदारीसभा, प्रजातन्त्रको उदयसँगै सल्लाहकारसभा बैठक पनि देख्यो ।
२००९ साल असार १६ गते ग्यालरी बैठकमा बिहान ११.२० बजे पहिलो सल्लाहकार सभाको बैठक बोलाएको इतिहास छ ।
सल्लाहकारसभाको बैठक आह्वान हुँदाको सूचनामा ‘गैलरी बैठक’ शब्द प्रयोग भएको देखिन्छ । ‘गैलरी’ शब्द प्रयोग हुनुका पछाडि राजा त्रिभुवनका सल्लाहकार सचिव भारतीय प्रशासक गोविन्दनारायण हुनु रहेको देखिन्छ ।
२०१६ असार १६ मा पहिलो जननिर्वाचित सांसदहरूको अभ्यास देख्यो । अझ पहिलो बैठक त राजा महेन्द्रले ११ दिन अगावै रातको ११ः४५ बजेका निम्ति आह्वान गरेका थिए, खरो मंगलबार मध्यरातकालीन समय खोज्दै ।
अझ संसद्को पहिलो बैठकको घन्टी बज्दा रातको ठ्याक्कै १२ बजेको थियो । मध्यरातमा संसदीय घन्टी बज्दा सिंहदरबार वरपरका बासिन्दाको निद्रा भंग पनि गरेको हुन सक्छ ।
२०२० वैशाख १ देखि २०४५ सालसम्म राष्ट्रिय पञ्चायतका अधिवेशन पनि त्यही भवनमै चल्यो, जहाँ १४० जना राष्ट्रिय पञ्चायत सदस्य (रापंस) अटाए ।
तर, राष्ट्रिय पञ्चायतको अन्तिम अर्थात् चालीसौं अधिवेशन ग्यालरी बैठकमा बस्न सकेन ।
२०४६ असार १ गतेका निम्ति ग्यालरी बैठकमा बस्ने गरी अधिवेशन आह्वान भइसकेको थियो । तर, त्यहीबीचका वर्षाले पानी चुहियो ।
अनि बीचैमा राष्ट्रिय पञ्चायतका सचिव जीवनलाल सत्यालले २०४६ जेठ १५ गते सूचना जारी गरे, “ग्यालरी बैठक भवन हालैका वर्षाको पानी चुहिएकाले निरीक्षण गराउँदा भवन निकै पुरानो भएकाले धुरीमा जडान भएका सल्लो काठका सत्तरीहरू मक्किइएका कारणले ठाउँ–ठाउँमा सत्तरीहरूले गारोबाट ठाउँ छाड्नुका अतिरिक्त भवनको धुरी र सत्तरी अड्ने भागमा गारो चिरिएकाले अधिवेशन सञ्चालन गर्न उपयुक्त नहुने प्राविधिज्ञहरूको प्रतिवेदनअनुसार राजसभा भवन कान्तिपथमा हुनेछ ।”
राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष नवराज सुवेदीले राजामै जाहेर गरेपछि राजसभा भवनमा अधिवेशन गर्ने स्वीकृति मिलेको थियो ।
संसद् सचिवालयकै पूर्वसचिव मुकुन्द शर्माका अनुसार, ग्यालरी बैठकमा जसरी बहादुर भवनमा टेबुल अघिल्तिर माइक थिएन । त्यहाँ ‘ह्याङ्गिङ माइक’ प्रयोग गर्नुपरेको थियो । शर्मा २०३६ सालमा राष्ट्रिय पञ्चायतको कर्मचारी बन्दै प्रवेश गरेका थिए ।
त्यही राजसभामै बसेको सदन पञ्चायती व्यवस्थामा अन्तिम अधिवेशन बन्यो ।
२०४६ चैतको अन्तिम साता मुलुक फेरि बहुदलीय व्यवस्थामै प्रवेश गर्यो । २०४७ सालभर हल चाहिएन, राष्ट्रिय पञ्चायत विघटन भइसकेको थियो भने प्रतिनिधिसभा सदस्यको चुनाव भइसकेको थिएन ।
जब २०४८ चुनाव सकियो, तब हल चाहियो नै । संसद् सचिवालयकै पूर्वअधिकारीहरूको स्मरणमा, ‘त्यसरी निर्धारित समयमै चुनाव होला भन्ने सोचिएको थिएन । सांसद निर्वाचित भइसकेपछि त संसद् अधिवेशन निम्ति चौबीसै घन्टा काममा खट्दै बस्न योग्य हल बनाइएको थियो ।’
२०४८ यताका संसदीय अभ्यास ग्यालरी बैठकमै भए । ग्यालरी बैठकले २०५ सांसदका संसदीय–कर्म पनि देख्यो ।
संसदीय व्यवस्थाको भण्डाफोर निम्ति १७ हजारभन्दा बढीको ज्यान जाने गरी युद्धमा होमिएको माओवादी पनि २०६३ माघ ३ गते ग्यालरी हलमै छिर्यो, सांसद बन्दैै । ८३ माओवादी सांसदहरू एउटै ड्रेसमा सजिदै संसद् प्रवेश गरेका थिए । चुनाव नलडी डप्फा नै प्रवेश गरेका थिए माओवादी सांसदहरू ।
फरक यत्ति हो, उनीहरूको प्रवेशसँगै संसद्मा थपियो, ‘व्यवस्थापिका’ । त्यसबेला संसदीय व्यवस्था भएका मुलुकको प्रतिनिधित्व गर्ने राजदूतहरू ‘व्यवस्थापिका–संसद्’ शब्ददेखि अचम्भित थिए ।
जब माओवादी सांसद थपिए, २०५ सदस्यीय प्रतिनिधिसभा ३३० ‘व्यवस्थापिका संसद्’ सदस्यमा परिणत भए । राष्ट्रियसभा खारेजी हुँदा तिनीहरू बाँकी कार्यकाल गुजार्न प्रतिनिधिसभा सदस्य बन्न पाए ।
२०५ जनाको हलमा ३३० सदस्य पनि अटेकै हुन् । जसमा एक सांसदलाई ‘प्रतिगामी राजावादी कित्ता’मा ठेल्दै व्यवस्थापिका–संसद् छिर्न दिइएन र ३ सय २९ जना कायम भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकबहादुर थापालाई अन्तिममा हटाइएको थियो ।
राम्रैसँग सिट थपिएपछि सभामुखको कुर्सीबाट सबै सांसदका अनुहार देख्न नसक्ने स्थिति बन्यो । सभामुखलाई सहज होस् भनेर छ वटा मुभी क्यामरा, दुईवटा प्रोजेक्टर र एउटा मोनिटर जडान गरिए ।
कतिपय बेला सभामुखलाई अलि सकस देखिन्थ्यो, दक्षिणतिरका मोनिटर नियाल्न ।
अर्थात्, २०६४ सम्म हाम्रा जनप्रतिनिधिहरूको मूल थलो बनेको थियो, ग्यालरी बैठक । जब संविधान निर्माण चरणमा ६०१ जम्बो सभा बन्यो, त्यसपछि थेग्न सक्ने सम्भावना नै रहेन ।
२०६४ को अन्तिममा संविधानसभा चुनाव भयो । ६०१ सदस्यका निम्ति ग्यालरी बैठक सानो भयो ।
त्यसपछि चिनियाँ अनुदानमा निर्मित बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ‘संसद् भवन’ मा परिणत भयो । संविधान निर्माणका कार्य त्यहीँ भए । अर्थात् संविधान निर्माण कथाको ‘साक्षी’ ग्यालरी बैठक हुन पाएन ।
त्यसपछि केही समय ठूला पार्टीको संसदीय दलको बैठक बस्यो । कहिलेकाहीँ संसदीय समितिको बैठक पनि ।
तर, विस्तारै त्यो भवनमा रुचि घट्दै गयो । प्रयोगविहीन हुँदै गएपछि धुलो जम्यो । कमिला, किरा–फट्याङ्ग्रा, माउसुलीको रजाईं चल्यो । संसद् सचिवालयका थोत्रा टेबुल–कुर्सी थन्क्याउने स्टोर बन्यो ।
एकचोटि २०७१ मा अठारौं सार्क शिखर सम्मेलन हुँदै गर्दा फेरि रूप फेरिन्छ कि भन्ने ठानियो । किनभने त्यहाँ सार्क परराष्ट्रमन्त्रीस्तरीय भोज गर्ने तयारी थियो । त्यही थलोमा भोज खुवाउन हलका ऐतिहासिक संरचना र कलावस्तु यथावत् राख्दै रंग–रोगन गरिए ।
कार्पेटिङ गरियो । थोत्रा कुर्सी हटे । भोज खुवाउन नयाँ टेबुल–कुर्सीले भरियो । सँगै लाइटिङ र एसी जडान भए । तर भोज भएन, सँगै ओझेलमा पर्यो ।
अनि २०७२ वैशाखको भूकम्पले ग्यालरी भवनलाई राम्रैसँग धक्का दियो । अनि खतरासूचक बोर्ड टांगियो । त्यसपछि यो भवनमा झारपात मात्र होइन कि पिपलका रुखै उम्रिन पुगे । त्यो भवनको वरिपरि हिँड्दा पनि डर लाग्ने बन्यो । सरकारी बेवास्तासँगै ग्यालरी बैठक बेबारिसे बन्न पुग्यो । वर्षा लागेसँगै प्लास्टिकले छत छोपिन्थ्यो ।
ग्यालरी बैठक डरलाग्दो बन्दै गएको दृश्य संसद्को विकास तथा प्रविधि समितिलाई जँचेन । त्यसपछि उसले २०७६ फागुन २९ गते भत्काउँदै पुनर्निर्माण गर्न सरकारलाई निर्देशन दियो ।
तीन वर्षपछि राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विरूप हुँदै गएको ग्यालरी बैठकको ऐतिहासिक महत्व अनुभूत गर्यो । उसले सरकारका अधिकारीहरू बोलाउँदै कला, संस्कृति र संसदीय इतिहास बोकेको सम्पदा संरक्षण गर्न निर्देशन दियो ।
समितिले २०७९ चैतमा दिएको निर्देशनको भाषा थियो, “मुलुकको लामो संसदीय इतिहास बोकेको ऐतिहासिक धरोहर रूपमा रहेको ग्यालरी भवन स्टेट ब्याङ्क्वेट हलका लागि उपयुक्त स्थान हुन सक्दैन । भारदारीसभादेखि गणतन्त्र स्थापनासम्मको मुलुकको संसदीय इतिहास साक्षीको रूपमा यो एक शताब्दीभन्दा पुरानो भवन र भित्रका ऐतिहासिक कलाकृति, मुलुकको संसदीय जीवन्त इतिहासलाई भविष्यपर्यन्त जोगाइ राख्न उक्त भवनलाई संसदीय संग्रहालयको रूपमा विकास गर्नु आवश्यक छ ।”
संसदीय संग्रहालय बन्ला कि भोज घर ?
संसदीय समितिको निर्देशनलगत्तै तत्कालीन मुख्यसचिव शंकरदास बैरागी पनि ताते, त्यो भवन प्रयोगका सन्दर्भमा । किनभने सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन समितिका अध्यक्ष मुख्यसचिव हुने व्यवस्था छ । बैरागीले २०७९ चैत ३१ गते बैठक बोलाए, जहाँ संसद् सचिवालयका तत्कालीन महासचिव भरतराज गौतम र सचिव सुदर्शन खड्का पनि सामेल थिए ।
सम्पदाकर्मीहरूले त्यो भवन भत्काउनु हुन्न र ‘रेट्रोफिटिङ’ अर्थात् प्रबलीकरण प्रविधिद्वारा यथावत् रूपमा ल्याउनुपर्छ भनी सुझाइसकेका थिए ।
तर, भवन कुन प्रयोजनमा प्रयोग गर्ने भन्ने चाहिँ ठोस निर्णय भएको थिएन ।
संसदकै विकास तथा प्रविधि समितिको निर्देशनसँगै सिंहदरबार केन्द्रीय सचिवालय गुरुयोजना चाहिँ ‘स्टेट ब्यांक्वेट हल’मै रूपान्तरित गर्नेगरी अघि बढेको थियोे । तर, राष्ट्रियसभा समितिको फरक निर्देशन संसद् सचिवालयको आशा जागेको हो ।
त्यो बैठकको प्रारम्भमै वैरागीले प्रतिनिधिसभाको त्यो पुरानो भवन ‘स्टेट ब्यांक्वेट हल’का रूपमा विकसित गर्न चाहन्छ भनी योजना सुनाए ।
तर, संसद् सचिवालयका सचिव सुदर्शन खड्काले मुख्यसचिवको योजनामा विमति जनाउँदै भने, “यो भोज खाने घर बनाउनु हुँदैन । संसदीय इतिहास जोडिएको हुँदा त्यस्तो निर्णय सही गर्दिन । यो संसदीय संग्रहाय बन्नुपर्छ ।”
त्यसपछि मुख्यसचिव बैरागीले भने, “तपाईंहरूको भावनात्मक सम्बन्ध जोडिएको रहेछ र पहिला ‘रेट्रोफिटिङ’ गरौं त्यसपछि निर्णय गरौँला ।”
अन्तिम निर्णयमा चाहिँ संसदीय समितिकै निर्देशनमा शब्दावली राख्दै प्रबलीकरण गर्ने उल्लेख गरियो ।
तर, औपचारिक तहमा ‘संसदीय संग्रहालय’ बनाउने भन्ने निर्णय भएको छैन । अनि सरकारको चाहना पूरा हुने हो कि संसद्को भन्ने पनि अझै ठेगान छैैन । ‘त्यहीकारण’ यतिखेर सरकार–संसद्को मनोवैज्ञानिक द्वन्द्वमै छ, ग्यालरी बैठकको स्वामित्व सवाल ।
ग्यालरी बैठक, ‘संसदीय संग्रहालय’ कि ‘स्टेट ब्यांक्वेट हल’ ? तर, संसद् सचिवालयका अधिकारीहरू चाहिँ संसदीय म्युजियममा परिणत गर्न चाहन्छन् । संसद् सचिवालयका एक अधिकारी भन्छन्, “पहिला बनोस्, अनि संसद्तिरै राख्ने माहोल बनाउनुपर्छ ।”
संसद्का पूर्वसचिव मुकुन्द शर्मा संसदीय इतिहास जीवन्त र संरक्षित राख्न संसदीय संग्रहालय बनाउनुपर्ने धारणा राख्छन् । तर, सरकार हो, उसले हडप्न बेर मान्दैन । किनभने, सैंबु–भैँसेपाटीमा सांसद आवास गृहका जग्गा पनि सरकारले हडप्दै मन्त्री, मुख्यमन्त्री र प्रदेश सचिवका लागि भव्य आवास बनाएकै हो ।
यतिखेर बहुवर्षीय योजनामा पार्दै भवनको ‘रेट्रोफिटिङ’ अर्थात् प्रबलीकरण हुँदैछ ।
एक सय १७ वर्षअघि राणा परिवारका सदस्यहरूका निम्ति मनोरन्जन गर्न, त्यतिबेला नेपालका आउने विदेशी अतिथिलाई भोज र ‘रंगरसिक’मा अल्मल्याउने उद्देश्यले निर्मित भवन यतिखेर सरकार या संसद् कब्जामा रहने भन्ने ‘भूमिगत लडाइँ’ चलिरहेको छ ।
केही प्रश्न जीवित छ, नेपालको शासकीय–संसदीय इतिहासकोे साक्षी ग्यालरी बैठक संग्रहालय बन्छ कि राणाकालीन रसरंगी स्वरूपमै पुर्याइन्छ ? यो राणाकालमै जसरी विदेशीलाई भोज खुवाउने थलो बन्छ या प्रजातन्त्र उदयपछि राजनीतिक इतिहास बोकेको संसदीय संग्रहालय ?
हेरौं, सैंबु–भैँसेपाटीको जग्गा जसरी कार्यकारिणीले हडप्छ कि संसद् पनि आफ्नो सामर्थ्य देखाउन सक्षम हुन्छ ? त्यसैपनि ग्यालरी बैठक त शक्तिको रणमैदान नै हो । यो भवनको स्वामित्वकै सवालमा कार्यकारिणी र व्यवस्थापिकाको शक्ति परीक्षण पनि हुने छ ।
