काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खानले पाकिस्तानको इतिहासमा सबैभन्दा कठोर जेल सजाय भोगिरहेको बताएका छन् ।
जेलमा आफूमाथि भइरहेको व्यवहारबारे बिहीबार उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे, “म यो सजाय केवल संविधानको सर्वोच्चता र देशको सेवाका लागि भोगिरहेको छु ।”
७२ वर्षीय इमरान सन् २०२३ को अगस्टदेखि रावलपिण्डीको अडियाला जेलमा छन् । उनको विरुद्धमा धेरै मुद्दाहरू चलिरहेका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्रीले जेलको अवस्थाको विवरण दिँदै प्रार्थनाअघि हात–मुख धुन दिइने पानी अत्यन्त फोहोर र मानवका लागि उपयुक्त नभएको बताएका छन् ।
उनले परिवारले पठाएका किताबहरू महिनौँसम्म रोकिएका, टेलिभिजन र अखबारहरूमा पहुँच पनि बन्द गरिएको आरोप लगाएका छन् । उनले भने, “मैले पुराना किताबहरू धेरैपटक पढिसकेको छु, अब ती पनि उपलब्ध छैनन् ।”
इमरान खानले आफ्नो तुलना पूर्वप्रधानमन्त्री नवाज शरीफसँग गरे । उनले नवाज शरीफमाथि भ्रष्टाचारका धेरै मुद्दाहरू थिए, तर उनलाई जेलमा हरेक प्रकारका सुविधाहरू दिइएका बताए । उनले भने, “पाकिस्तानको इतिहासमा कुनै पनि नेतामाथि यति कठोर व्यवहार भएको छैन, जति ममाथि भइरहेको छ ।”
इमरान खानले राजनीतिसँग कुनै सम्बन्ध नभएकी उनकी पत्नी बुशरा बीबलाई पनि जेलमा अमानवीय परिस्थितिमा राखिएको बताएका छन् । उनले भने, “मेरा सबै आधारभूत मानव अधिकारहरूको उल्लंघन भइरहेको छ । जेल म्यानुअलमा सामान्य कैदीहरूलाई प्राप्त हुने सुविधाहरू पनि मबाट खोसिएका छन् ।”
इमरान खानले धेरैपटक अनुरोध गर्दा पनि उनलाई आफ्ना बच्चाहरूसँग कुरा गर्न अनुमति नदिइएको बताए । उनले राजनीतिक भेटघाटहरूमा पनि प्रतिबन्ध लगाइएको बताए । अब उनलाई केवल सीमित व्यक्तिहरूसँग भेट्ने अनुमति छ ।
इमरानले आफ्ना पार्टी नेताहरूलाई आपसी मतभेद बिर्सेर अगस्ट ५ बाट सुरु हुने आन्दोलनमा ध्यान दिन आग्रह गरे । उनले यो संवेदनशील समयमा गुटबाजीमा संलग्न हुने कुनै पनि नेतालाई पार्टीबाट निकालिने पनि चेतावनी दिएका छन् ।
इमरान खानले शहबाज शरीफ सरकारमाथि न्यायपालिकालाई कमजोर बनाएको आरोप लगाएका छन् । उनले पक्षपाति न्यायाधीशहरूले खुलेआम अन्यायपूर्ण फैसला सुनाइरहेको सम्पूर्ण देशले देखिरहेको बताए ।
उनले भने, “हामीले न्यायपालिकालाई स्वतन्त्र गराउन बलियो अभियान चलाउनुपर्छ किन भने कुनै पनि देशको प्रगति न्यायबिना सम्भव छैन ।” फर्ष्टपोस्टडटकम