काठमाडौं । ताइवानको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)की विधायक फ्यान यूनले चीनमाथि गम्भीर आरोप लगाएकी छन् । उनले भनिन्, “मैले चीन निरन्तर ताइवानलाई कमजोर बनाउने प्रयास गरेको देखेको छु । ताइवानलाई कमजोर पार्न उसले झुट फैलाइरहेको र त्यसका लागि टिकटक र टेलिभिजनजस्ता मिडियाको प्रयोग गरिरहेको छ ।”
अमेरिकी कांग्रेसले पनि चीनको कदमप्रति चिन्ता व्यक्त गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ताइवानको सार्वभौमसत्ता कमजोर पार्न र यसको लोकतान्त्रिक प्रणाली अस्थिर बनाउन सक्रिय भएको बताएको छ ।
बुधबार अमेरिकी कांग्रेसअन्तर्गतको ‘चीनमाथिको कार्यकारी आयोग’ ले “ताइवानसँगै उभिऔँ ः राजनीतिक युद्ध र अन्तर्राष्ट्रिय दमनको सामना” शीर्षकमा छलफल गरेको थियो । उक्त कार्यक्रममा फ्यान यूनले भिडियो सन्देशमार्फत आफ्ना विचार प्रस्तुत गरिन् ।
उनले भनिन्, “चीनको आक्रामकता अब केवल सैन्य खतरामा सीमित छैन । यसमा मनोवैज्ञानिक युद्ध, आर्थिक दबाब, जासूसी, दुष्प्रचार र सीमापार धम्कीहरू पनि समावेश छन् ।”
फ्यान यूनले संयुक्त राष्ट्रसंघको प्रस्ताव २७५८ लाई चीनले आफ्नो आक्रामकताका लागि राजनीतिक हतियारको रूपमा प्रयोग गरिरहेको आरोप लगाइन् । उनले भनिन्, “चीनले यस प्रस्तावलाई ताइवानमाथिको सम्भावित आक्रमणलाई जायज देखाउन प्रयोग गरिरहेको छ ।”
उनले ताइवानको राष्ट्रिय सुरक्षा ब्युरोका आँकडाहरू उद्धृत गर्दै भनिन्, “जासूसीको घटनामा तीव्र वृद्धि भएको र सन् २०२१ मा १६ वटा मात्रै रहेका यस्ता घटना सन् २०२४ मा ६४ पुगेका छन् ।”
यस्तै, चीनसँग सम्बन्धित दुष्प्रचार सन् २०२३ मा १३ लाख सन्देशबाट बढेर २०२४ मा २२ लाख पुगेको उनले खुलासा गरिन् । फ्यान यूनका अनुसार, चिनियाँ सरकारी निकायहरूले ताइवानी मिडिया कम्पनीहरूलाई बेइजिङ समर्थक सन्देश प्रवर्द्धन गर्न प्रत्यक्ष निर्देशन दिने गरेका छन् ।
उनले थपिन्, “ताइवानमा सीसीपीद्वारा सञ्चालित ‘युनाइटेड फ्रन्ट’ नेटवर्कले विद्यार्थी, धार्मिक नेता र गाउँका वडाध्यक्षहरूलाई लक्षित गर्दै रियायती यात्रा तथा आर्थिक सहायता दिने प्रलोभनमा पारिरहेको छ । यस अभियानमा टिकटक एक प्रभावशाली प्लेटफर्म बनेको छ, जसले युवालाई बेइजिङप्रति आकर्षित गरिरहेको छ ।”
फ्यान यूनले ताइवान एक्लैले चीनको यस्तो आक्रामकतालाई रोक्न नसक्ने बताउँदै विश्व समुदायलाई एकजुट मोर्चा बनाउने आह्वान गरिन् । उनले भनिन्, “ताइवानसँग उभिनु भनेको स्वतन्त्रता र लोकतन्त्रसँग उभिनु हो ।”