काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कुलिङ अफ पिरियड’सम्बन्धी विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय निजामति ऐनमा ‘कुलिङ अफ पिरियड’बारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका रहेको बताए ।
अहिले राष्ट्रियसभामा नेकपा एमालेका सांसदहरूको क्रियाकलपाका कारण प्रधानमन्त्री नै संलग्न भएको पुष्टि भएको उनको जिकिर छ ।
प्रचण्डले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । एमालेको नेतृत्वकै कारण ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको जिकिर गरे ।
“अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषाजस्तो भएको छ । जसरी संघीय निजामति ऐन सुन्नुभएको छ । कुलिङ अफ पिरियड दुई वर्ष सर्वसम्मत भएको हो,” प्रचण्डले भने, “सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रियसभामा भन्दा सबैले संशोधन राख्ने दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो । तर, अहिले त्यो राख्न हुँदैन भनेपछि यथार्थ के रहेछ भन्ने प्रष्ट भयो । बिरालोले अन्तिममा म्याउँ गरिछोड्यो भन्नेकुरा जस्तो एमालेले म्याउँ गर्यो ।” –न्युज एजेन्सी नेपाल