काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावका बेला आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिस र डेमोर्क्र्याटिक पार्टीले चर्चित कलाकारलाई प्रचार (इन्डोर्समेन्ट)का निम्ति करोडौँ डलर भुक्तानी गरेको आरोप लगाएका छन् । उनले यो कार्य पूर्ण रूपमा गैरकानुनी भएको भन्दै अभियोजनको माग गरेका छन् ।
ट्रम्पले पूर्वउपराष्ट्रपति ह्यारिस र धेरै चर्चित व्यक्तित्वमाथि लगाएको यो आरोपसँगै फेरि एकपटक राजनीतिकवृत्त तरंगित बनेको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै डेमोर्क्र्याट्सले गायिका बियोन्सेलाई प्रचारका निम्ति १.१ करोड, टेलिभिजन होस्ट ओप्रा विन्फ्रेलाई ३० लाख र नागरिक अधिकार कार्यकर्ता अल शार्पटनलाई ६ लाख डलर दिएको आरोप लगाएका छन् ।
उनीहरूले कुनै ठोस काम नगरेको र समर्थन पनि वास्तविक नभएको ट्रम्पको भनाइ छ ।
ट्रम्पले लेखेका छन्, “कल्पना गर्नुहोस्, यदि राजनीतिज्ञले समर्थन किन्न थाले भने के होला ? अराजकता फैलिनेछ । कमला र अरू जसले भुक्तानी गरे वा पैसा लिए, उनीहरूले कानुन तोडेका छन् र उनीहरूलाई सजाय हुनुपर्छ ।”
यी भुक्तानी प्रचार खर्चमा पनि सही तरिकाले दर्ता नगरिएको र रेकर्डमा गडबडी गरिएको ट्रम्पको आरोप छ ।
ट्रम्पको आरोपसँगै अमेरिकी राजनीतिमा समर्थनका विषयमा ठूलो बहस सुरु भएको छ । के कसैलाई समर्थनको बदलामा भुक्तानी गर्नु अपराध हो ? यो प्रश्न अब कानुन र राजनीति दुवैको दायरामा बहसको विषय बनेको समाचारमा उल्लेख छ ।
ट्रम्पको दाबी सही साबित भएमा डेमोर्क्र्याटिक पार्टी र धेरै चर्चित व्यक्तिका निम्ति समस्या हुनसक्छ ।
आलोचकले भने ट्रम्पले आफूमाथि जारी जाँचबाट ध्यान हटाउने प्रयास गरिरहेका टिप्पणी गरेका छन् ।