site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वर्तमान सरकार ‘कन्टिन्यु’ जान्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । आइतबार (साउन ११) काठमाडौंमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

हाल कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नभएको उनले उल्लेख गरे । उनले वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र कांग्रेस र नेकपा (एमाले)बीचको सम्झौताअनुसार नै पूरा कार्यकाल चल्ने बताए ।

“कसैको बहुमत छैन । प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला,” उनले भने, “एउटा परिस्थितिमा निर्माण भएको सरकार हो ।”

सरकारले एक वर्षमा अपेक्षाअनुसार भने काम गर्न नसकेको उनले टिप्पणी गरे । “वर्ष दिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर, यो सरकार कन्टिन्यु जान्छ,” उनले भने, “किनभने, यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन ।”

नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गरिने र संशोधनका विषयमा सरकारले कार्यदल बनाएर अघि बढ्ने पनि बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्