site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण कोरियाको मेलमिलाप प्रस्ताव उत्तर कोरियाले गर्‍यो ठाडै अस्वीकार

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङका बहिनी किम यो जोङले दक्षिण कोरियाको नयाँ उदारवादी सरकारको मेलमिलाप प्रस्ताव अस्वीकार गरेकी छन् । दक्षिण कोरियाले जस्तोसुकै प्रस्ताव राखे पनि उत्तर कोरियालाई वार्तामा कुनै चासो नरहेको उनको भनाइ छ ।

किमको टिप्पणीले उत्तर कोरिया तत्काल दक्षिण कोरिया र अमेरिकासँग कूटनीतिक वार्तामा फर्कने सम्भावना नरहेको संकेत गरेको एपीको समाचारमा उल्लेख छ । उत्तर कोरिया रुससँग सहकार्य विस्तारमा व्यस्त छ । 

तर, विज्ञहरू रुस–युक्रेन युद्धको अन्त्य नजिकिँदै जाँदा उत्तर कोरियाले रुससँग घनिष्ठ सम्बन्ध कायम गर्न नसक्ने ठानेमा उसले आफ्नो रणनीति परिवर्तन गर्न सक्ने सम्भावना रहेको बताउँछन् ।

“सियोलले जुनसुकै नीति अपनाए वा जुनसुकै प्रस्ताव राखे पनि हामीलाई त्यसमा कुनै चासो छैन । भेटघाट वा छलफल गर्ने कुनै एजेन्डा छैन भन्ने कुरा हामी फेरि एकपटक स्पष्ट गर्छौं,” किमले राज्य नियन्त्रित सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा भनेकी छन् ।

यो वक्तव्य जुन महिनाको सुरुमै सत्तामा आएका दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको सरकारप्रति उत्तर कोरियाको पहिलो आधिकारिक प्रतिक्रिया हो ।

उत्तर कोरियासँग बिग्रिएको सम्बन्ध सुधार्ने प्रयासस्वरूप ली सरकारद्वारा प्योङयाङ–विरोधी सीमावर्ती लाउडस्पिकर प्रसारण रोकेको र कार्यकर्तालाई सीमापार प्रचार सामग्रीसहित बेलुन उडान गर्न प्रतिबन्ध लगाएको उल्लेख छ ।

केही महिनाअघि काठको डुंगामा बगेर दक्षिण कोरिया पुगेका उत्तर कोरियाली नागरिकलाई समेत स्वदेश फिर्ता गरिएको छ ।

किमले यस्ता कदमलाई ली सरकारको सम्बन्ध सुधार गर्ने इमानदार प्रयासका रूपमा वर्णन गरेकी छन् । तर, उनले ली सरकार पनि पूर्ववर्तीहरूभन्दा फरक नरहेको उल्लेख गर्दै, अमेरिकासँगको सैन्य गठबन्धनप्रति त्यसको ‘अन्धविश्वास’ रहेको टिप्पणी गरेकी छन् ।

उनले आगामी ग्रीष्मकालीन दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यासको पनि उल्लेख गरेकी छन्, जुन अभ्यासलाई उत्तर कोरियाले आक्रमणको पूर्वाभ्यासका रूपमा लिन्छ ।

उत्तर कोरियाले सन् २०१९ मा नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको उच्चस्तरीय आणविक कूटनीति अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण भंग भएयता दक्षिण कोरिया र अमेरिकासँगको वार्ता स्थगन गर्दै आएको छ । त्यसयता उसले आफ्ना प्रतिद्वन्द्वीलाई लक्षित गर्दै अझ शक्तिशाली आणविक हतियार निर्माणमा ध्यान केन्द्रित गर्दै आएको छ ।

उत्तर कोरिया हाल आर्थिक र सैन्य सहायता प्राप्त गर्न रुससँग सहकार्यमा प्राथमिकता दिइरहेको छ र युक्रेनविरुद्धको युद्धमा समर्थन स्वरूप सेना र परम्परागत हतियारहरू समेत पठाएको बताइएको छ ।

दक्षिण कोरिया, अमेरिका र अन्य मुलुकले उत्तर कोरियालाई रुसबाट आणविक र मिसाइल कार्यक्रम सुदृढ गर्न सक्ने संवेदनशील प्रविधि प्राप्त हुने सम्भावनाबारे चिन्ता व्यक्त गरेका छन् ।

जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि ट्रम्पले किम जोङ उनसँगको व्यक्तिगत सम्बन्धको बारम्बार गर्व गरेका छन् र कूटनीति पुनः सुरु गर्ने इच्छा व्यक्त गर्दै आएका छन् । तर, उत्तर कोरियाले ट्रम्पको प्रस्तावमा हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

सन् २०२४ को सुरुमा किम जोङ उनले संविधान पुनर्लेखनको आदेश दिएका थिए, जसअनुसार कोरियाली एकताको लामो समयदेखिको लक्ष्य हटाइएको र दक्षिण कोरियालाई अपरिवर्तनीय प्रमुख सत्रुका रूपमा स्थापना गरिएको थियो ।

यस कदमले धेरै विदेशी विश्लेषकलाई आश्चर्यचकित बनाएको थियो । किनभने यसले युद्ध–विभाजित कोरियाबीचको साझा राष्ट्रियताको अवधारणा अन्त्य गरेको र उत्तर कोरियाको सर्तमा एकीकृत शान्तिपूर्ण कोरिया प्राप्त गर्ने प्रयास तोडेको मानिएको थियो ।

धेरै विज्ञले किमले दक्षिण कोरियाली सांस्कृतिक प्रभावबाट जोगिन र आफ्नो पारिवारिक शासनलाई बलियो बनाउने प्रयास गरिरहेको बताएका छन् ।

एबीसी न्युजबाट ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्