site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पुटिन–किम सम्बन्धले लियो नयाँ उचाइ, दुई वर्षपछि रुसी विमान उत्तर कोरियामा अवतरण

काठमाडौं । रुसले उत्तर कोरियासँगको आफ्नो सम्बन्धलाई थप सुदृढ गर्दै मस्को र प्योङयाङबीच सिधा व्यावसायिक हवाई उडान सुरु गरेको एपीले जनाएको छ ।

दुई देशबीच सैन्य, पर्यटन र रणनीतिक सहयोग निरन्तर बढिरहेका बेला यस्तो निर्णय गरिएको छ । आइतबार रुसी एयरलाइन्स नर्डविन्डको पहिलो उडान मस्कोको शेरेमेत्येभो विमानस्थलबाट प्रस्थान गरेको थियो । त्यसमा ४०० भन्दा बढी यात्री सवार थिए ।

मस्को र प्योङयाङबीच प्रत्येक महिना एउटा नियमित उडान सञ्चालन हुने रुसको यातायात मन्त्रालयले जनाएको छ ।

मागलाई ध्यानमा राखेर यो सेवा सुरु गरिएको र भविष्यमा आवश्यकताअनुसार उडान संख्या वृद्धि गर्न सकिने जनाइएको छ ।

यो कदमले दुई देशबीच यातायातलाई सहज बनाउनुका साथै राजनीतिक र आर्थिक सम्बन्धलाई पनि बलियो बनाउनेछ ।

रुसी विदेशमन्त्री सर्गेई लावरोभले यो महिनाको सुरुमा उत्तर कोरियाको वन्सान–काल्मा बिच रिसोर्टको भ्रमण गरेका थिए । उत्तर कोरियाली नेता किम जोङ उनको त्यो महत्त्वाकांक्षी परियोजना हो ।

त्यसक्रममा लावरोभले रुसी पर्यटकलाई उत्तर कोरियामा बिदा मनाउन प्रोत्साहन गर्ने वाचा गरेका थिए । उक्त रिसोर्ट करिब २० हजार  मानिसलाई आतिथ्य प्रदान गर्ने क्षमता राख्छ । किम त्यसलाई आफ्नो देशको कमजोर अर्थतन्त्र सुधारका निम्ति ठूलो पर्यटकीय केन्द्रका रूपमा विकास गर्न चाहन्छन् ।

उत्तर कोरियाले कोरोना महामारीको समयमा आफ्ना सीमा पूर्ण रूपमा बन्द गरेको थियो । तर, अब बिस्तारै प्रतिबन्ध खुकुलो गरिँदै छ । सीमितस्तरमा आवतजावतको अनुमति दिइएको छ । अन्तर्राष्ट्रिय पर्यटन पूर्ण रूपमा पुनः सुरु गर्ने बारेमा भने अझै स्पष्ट घोषणा गरिएको छैन ।

राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको रुससँगको यो हवाई उडानलाई उत्तर कोरियालाई विश्वका अगाडि खोल्दै लैजाने प्रक्रियाको एक हिस्सा मानिएको छ ।

सन् २०२३ मा पनि रुसको भ्लादिभोस्तोक र उत्तर कोरियाको राजधानी प्योङयाङबीच हवाई सेवा पुनः सुरु गरिएको थियो । कोरोनाका कारण पछि त्यो बन्द गरियो ।

त्यस समयमा यसलाई दुईपक्षीय सहयोगको प्रतीक मानिएको थियो  । अब मस्कोबाट प्योङयाङको उडानलाई ठूलो कदम मानिएको छ ।

रुस र उत्तर कोरियाबीच पछिल्ला केही वर्षमा सैन्य र रणनीतिक सहयोगमा पनि उल्लेखनीय वृद्धि भएको छ । रुसलाई उत्तर कोरियाले युक्रेन युद्धका निम्ति हतियार र सैनिक पठाएको केही अन्तर्राष्ट्रिय रिपोर्टमा उल्लेख छ ।

यो सहयोगको पश्चिमी देशले तीव्र आलोचना गरेका छन् । तर, दुवै देशले यसलाई आफ्नो ‘रणनीतिक साझेदारी’को संज्ञा दिएका छन् ।

अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी अमेरिका र युरोपेली संघले यो सहयोगमा चिन्ता व्यक्त गरेका छन् । रुस र उत्तर कोरिया भने आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन लागिपरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्