काठमाडौं । सांसद दीपक बोहोराको निधन भएपछि रिक्त भएको रुपन्देही निर्वाचन क्षेत्र नं ३ को उपनिर्वाचनका लागि उमेदवार सिफारिस गर्न नेकपा एमालेले आग्रह गरेको छ ।
निर्वाचनको तयारीका लागि एक महिलासहित तीनजना उमेदवार को नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई एमाले महासचिव शंकर पोखरेलले पत्र पठाएका छन् ।
महासचिव पोखरेलले लेखेको पत्रमा उमेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्रअनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उमेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।
केन्द्रीय कार्यालय प्रमुख डा.भिष्म अधिकारीका अनुसार बुधबार दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ भित्र उमेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ ।
मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा. अधिकारीले बताए । सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको निधन भएपछि सो पद रिक्त भएको छ ।
निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।