काठमाडौं । म्यानमारको सैन्य नेतृत्वले बिहीबार एक नागरिक नेतृत्वको अन्तरिम सरकारलाई सत्ता हस्तान्तरण गरेको बताएको छ । यो कदम आगामी चुनावअघिको योजनाबद्ध कदमको एक हिस्सा भएको रोयटर्सले जनाएको छ ।
तर, यो घोषणा नाममात्र भएको बताइएको छ । २०२१ को सैन्य कूका नेता मिन आङ ह्लाइङ अझै पनि कार्यवाहक राष्ट्रपतिको रूपमा नेतृत्वमा छन् ।
सन् २०२१ को कूपछि सेनालाई सत्ता प्रदान गर्ने आदेश रद्द गरिएको छ । चुनावको निरीक्षण गर्न एक विशेष आयोगसहित एक कार्यवाहक प्रशासन गठन गरिएको छ ।
यो कदमले म्यानमारको वर्तमान अवस्थामा कुनै परिवर्तनको संकेत नगर्ने बताइएको छ । कू पछि लागु गरिएको देशव्यापी संकटकाल, जुन सातपटक विस्तार गरिएपछि बिहीबार समाप्त हुने समयसीमा थियो । तर, अब हटाइएको एक सरकारी प्रवक्ताले बताए । म्यानमार आङ सान सू चीको निर्वाचित नागरिक सरकारविरुद्ध सैन्य कू भएयता अराजकतामा छ ।
विद्रोह नियन्त्रण गर्न संघर्षरत सेनामाथि व्यापक अत्याचारको आरोप लागेको छ । तर, उसले यसलाई अस्वीकार गर्दै आएको छ ।
पश्चिमी सरकारहरूले यो चुनावलाई सैन्य जनरलहरूको सत्ता कायम राख्ने एक नक्कली प्रक्रियाको रूपमा खारेज गरेका छन् ।
विपक्षी समूहहरू उमेदवारी दिनबाट रोकिएका वा भाग लिन अस्वीकार गर्दै आएका छन् । गृहयुद्धले योजनाबद्ध चुनावमा कति प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन ।
बिहीबार रक्षा अधिकारीहरूको बैठकमा मिन आङ ह्लाइङले सुरक्षा चिन्ताका कारण चुनावमा मतदान डिसेम्बर र जनवरीमा विभिन्न क्षेत्रमा हुने बताएको राज्य सञ्चालित एमआरटीभीले जनाएको छ ।
एमनेस्टी इन्टरनेशनलको जनवरीको प्रतिवेदनअनुसार सैन्य कू पछि ६ हजारभन्दा बढी मानिसको हत्या भएको छ । २० हजारभन्दा बढीलाई हिरासतमा लिएको छ ।
प्रतिवेदनमा ३५ लाखभन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित भएको उल्लेख छ । रोयटर्स