site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ह्वाइट हाउसले भन्यो– ट्रम्पले ६ वटा द्वन्द्व अन्त्य गरे, नोबेल शान्ति पुरस्कार दिने समय आयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताएकी छन् ।

ह्वाइट हाउसमा अयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरेको क्यारोलिन लेभिटको भनाइ छ । जसमा इजरायल–इरान र भारत–पाकिस्तानबीचको द्वन्द्व पनि ट्रम्पले समाप्त गरेको उनको दाबी छ । 

प्रेस ब्रिफिङको क्रममा उनले भनिन्, “डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कंगो गणतन्त्र, भारत–पाकिस्तान, सर्बिया र कोसोभो, इजिप्ट र इथियोपियाबीचको द्वन्द्व अन्त्य गर्न पहल गरेका छन् ।”

लेभिटले भनिन्, “यसको मतलब राष्ट्रपति ट्रम्पले आफ्नो ६ महिनाको कार्यकालमा औसतमा हरेक महिना एउटा शान्ति सम्झौता वा युद्धविराम गराएका छन् ।”

उनले भनिन्, “अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको छ ।” 

यसअघि, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरिसकेका छन् । बीबीसी

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्