काठमाडौं । अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले अर्को वर्ष क्यालिफोर्नियाको गभर्नरका निम्ति चुनाव नलड्ने निर्णय गरेकी छन् । उनी गत वर्ष अमेरिकी राष्ट्रपति पदमा पराजित भएकी थिइन् ।
कमलाले अमेरिकाको राजनीतिक व्यवस्था टुटिसकेको र लोकतान्त्रिक मूल्यको रक्षा गर्न आफू त्यति बलियो र सक्षम नभएको बताइन् । हाललाई कुनै निर्वाचित पदमा नरहने, बरु जनतासँग भेट्ने र उनीहरूको कुरा सुन्ने उनको भनाइ छ ।
उनले सन् २०२८ मा राष्ट्रपति पदका निम्ति उमेदवारीबारे भने केही बताएकी छैनन् । राष्ट्रपतिमा पराजयपछिको पहिलो अन्तर्वार्तामा उनले सार्वजनिक पदका निम्ति चुनाव नलड्ने बताएकी हुन् ।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा लोकतन्त्रको रक्षाको कुरा गर्नेहरूले आत्मसमर्पण गरेका टिप्पणी गरिन् ।
यसैबीच, ट्रम्प प्रशासनमाथि निसाना साध्दै पूर्वराष्ट्रपति जो बाइडेनले अमेरिकाका निम्ति काला दिन भएको बताएका छन् ।
ट्रम्प प्रशासनले कंग्रेस (संसद्)मा आफ्नो बहुमत र सर्वोच्च अदालतको सहयोगले देशको संविधान समाप्त पार्ने पूर्ण प्रयास गरिरहेको उनले आरोप लगाए ।
शिकागोमा नेसनल बार एसोसिएसनको १००औँ वार्षिकोत्सवमा बाइडेनले भने, “हाम्रो भविष्य वास्तवमै जोखिममा छ । हाम्रो जीवनमा धेरैपटक कठोर सत्यहरूको सामना गर्नुपर्ने क्षणहरू आउँदै छन् ।”