काठमाडौं । इजरायलका ६०० भन्दा बढी अवकाशप्राप्त सुरक्षा अधिकारीहरूको समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर गाजामा चलिरहेको युद्ध तत्काल रोक्न इजरायलमाथि दबाब दिन आग्रह गरेको छ ।
यसमा इजरायलको गुप्तचर एजेन्सीका पूर्वप्रमुखहरू पनि रहेको बीबीसीले जनाएको छ । पत्रमा उनीहरूले भनेका छन्, “हाम्रो व्यावसायिक मूल्यांकनअनुसार अब हमास इजरायलका लागि कुनै रणनीतिक खतरा छैन ।”
“इजरायली जनतामाझ तपाईंको लोकप्रियता र विश्वासले प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको सरकारलाई सही दिशामा लैजान तपाईंलाई सहयोग गर्नसक्छ,” पूर्वअधिकारीहरू लेखेका छन्, “यो युद्ध रोक्नुहोस्, बन्धकहरूलाई फिर्ता गर्नुहोस् र जनताको पीडा समाप्त गर्नुहोस् ।”
प्रधानमन्त्री नेतन्याहू गाजामा सैन्य अभियानलाई थप अगाडि बढाउने प्रयास गरिरहेका बेला यस्तो अपिल आएको बीबीसीले जनाएको छ । अहिले हमाससँग युद्धविरामको वार्ता भने ठप्प छ । बीबीसी