काठमाडौं । युक्रेन–रूस युद्ध सुरु भएपछि रूसबाट तेल आयात गरेकोमा अमेरिका र युरोपेली संघले भारतलाई निशाना बनाएपछि भारतले यसको जवाफ दिएको छ ।
भारतले रूसबाट तेल आयात गर्न थाल्नुको मुख्य कारण युक्रेन संघर्षअघिका परम्परागत तेल आपूर्तिकर्ताहरू युद्ध सुरु भएपछि युरोपतर्फ मोडिनु बताएको छ । विश्व बजारमा तेलको स्थिरता कायम राख्न अमेरिकाले नै भारतलाई रूसबाट तेल किन्न प्रोत्साहन गरेको भारतले बताएको छ ।
रूसबाट तेल आयातको विषयमा अमेरिका र युरोपेली संघले प्रश्न उठाएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो जवाफ दिएका हुन् ।
प्रवक्ता जयसवालले सामाजिक सञ्जाल एक्समा युक्रेन–रुस संघर्षपछि परम्परागत तेल आपूर्तिकर्ता युरोपतर्फ मोडिएपछि भारतले रूसबाट तेल आयात गरेको बताएका छन् । उनले लेखेका छन्, “...त्यस समयमा विश्व बजारमा तेलको स्थिरता बनाउन अमेरिकाले नै भारतलाई यस्तो आयात गर्न प्रोत्साहन गरेको थियो ।”
जयसवालले भारतले आफ्ना उपभोक्ताहरूका लागि सस्तो र स्थिर ऊर्जा उपलब्ध गराउन आयात गर्ने बताएका छन् । “यो विश्व बजारको अवस्थाको बाध्यता हो । तर, उल्लेखनीय के छ भने, भारतको आलोचना गर्ने देशहरूले आफैँ रूससँग व्यापार गरिरहेका छन् । भारतको जस्तो उनीहरूको यो व्यापार उनीहरूका देशका लागि कुनै आवश्यक बाध्यता पनि होइन ।”
उनका अनुसार युरोप र रूसबीचको व्यापारमा ऊर्जासँगै मल, खनिज उत्पादन, रसायन, फलाम र इस्पातका साथै मेसिनरी र यातायातका सामानहरू पनि समावेश रहेको बताएका छन् ।
जयसवालले भने, “अमेरिकाले आफ्नो आणविक उद्योगका लागि अझै पनि रूसबाट युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी उद्योगका लागि प्यालेडियम, मल र रसायन आयात गर्छ ।”
उनले भारतलाई निशाना बनाउनु अनुचित र तर्कहीन भएको बताएका छन् । भारतले पनि आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि सबै आवश्यक कदम चाल्ने उनले प्रष्ट पारेका छन् । द टाइम्स अफ इन्डिया