काठमाडों । निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ मा सत्तारूढ दल नेकपा (एमाले)ले असहमति जनाएको छ । स्वमूल्यांकन राजनीतिक दलको आन्तरिक मामिला भएकामा आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको ठहर छ ।
आयोगले उक्त कार्यविधिमाथि बिहीबार (साउन २२)सम्म सुझाव दिन दल तथा सरोकारवालालाई आग्रह गरेको थियो । एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले भने, “स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला हो ।”
उनले अगाडि भने, “नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ । राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो ।”
राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति एमालेको अहसमति रहेको उनले बताए ।