काठमाडौं । इजरायली सुरक्षा परिषद्ले गाजामाथि पूर्ण नियन्त्रण कायम गर्ने प्रस्तावलाई स्वीकृति दिएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ । शुक्रबार गरिएको यो निर्णयले २२ महिनादेखि चलिरहेको गाजा युद्ध अझ बढ्ने सम्भावना बढेको बीबीसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री नेतन्याहूले बिहीबार हमासलाई पूर्णरूपमा नष्ट गर्न इजरायलले गाजा पट्टीमाथि पूर्ण नियन्त्रण कायम गर्ने बताएका थिए । नेतन्याहूले गाजामा नियन्त्रण स्थापित गरेपछि यसलाई सहयोगी अरब देशहरूलाई हस्तान्तरण गरिने पनि उल्लेख गरेका छन् ।
इजरायलले गाजामा सैन्य कारबाही तीव्र बनाउँदा गाजामा बसोबास गरिरहेका लाखौँ प्यालेस्टिनीहरूको जीवन र इजरायलका २० जना बन्धकहरूको जीवन गम्भीर खतरामा पर्ने बताइएको छ । गाजाको तीन चौथाई हिस्सामा पहिलेदेखि नै इजरायलको नियन्त्रण छ ।
यसैबीच, इजरायली सरकारको गाजामा कारबाही तीव्र बनाउने निर्णयको इजरायलभित्रै विरोध सुरु भएको छ । बन्धकहरूका परिवारजनलाई युद्ध तीव्र भएमा उनीहरूले आफ्ना प्रियजनहरूलाई सधैँका लागि गुमाउने डर छ ।
शुक्रबार जेरुसेलममा इजरायली सरकारको सुरक्षा परिषद्को बैठक चलिरहँदा बैठकस्थल बाहिर प्रदर्शनकारीहरूले यसको विरोध गरेका थिए ।
धेरै पूर्ववरिष्ठ सैन्य अधिकारीहरूले पनि सरकारको कदमको आलोचना गरेका छन् । यसबाट निकै कम सैन्य लाभ हुने उनीहरूले चेतावनी दिएका छन् । उनीहरूले इजरायल लामो समयसम्म युद्धको दलदलमा फस्न सक्ने पनि बताएका छन् ।
हालैको एक अन्तर्वार्तामा नेतन्याहूले गाजा कब्जा गर्ने र उनीहरूले गाजाबाट हमासलाई पूर्णरूपमा हटाएर त्यहाँका जनतालाई स्वतन्त्रता दिने बताएका थिए । इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरले पनि प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै यसले बन्धकहरूको जीवनलाई खतरामा पार्ने चेतावनी दिएका छन् ।
गाजामा कारबाहीका कारण इजरायल पहिलेदेखि नै विश्वका विभिन्न देशहरूको निसानामा छ । यदि, इजरायली सरकारले गाजामा आफ्नो पूर्ण नियन्त्रण स्थापित गरे यसले इजरायललाई अन्तर्राष्ट्रियस्तरमा एक्लो पार्ने सम्भावना रहेको बताइएको छ । बीबीसी