काठमाडौं । राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । उनले राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले बाँधको विषयमा देखिएका अस्पष्टतालाई विधेयकले थप स्पष्ट पार्दै आवश्यकताअनुसार नेपाल सरकारले सुरक्षा दिने व्यवस्था गरेको बताए । जलको सदुपयोग र संरक्षण गर्नुका साथै यसबाट अधिकतम लाभ लिने उद्देश्यले सरकारले विधेयक ल्याएको उनको भनाइ छ ।
नेपालमा जलस्रोतको उपयोग, विकास तथा संरक्षणमार्फत समग्र राष्ट्रको विकासमा बहुआयामिक सोचमार्फत जलस्रोतको उत्पादकत्व वृद्धि गर्न यस ऐनको महत्वपूर्ण भूमिका हुने मन्त्री खड्काले उल्लेख गरे ।