site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सिड्नी संघर्ष र सफलतासँगै रन्जितको चलचित्रको कथा

सिड्नी । जीवनका धेरै खाले आरोह–अवरोह देखेका छन् । अनि भोगेका पनि छन्, उनले । मधेसमा जन्मिएको ठिटो अनि सिड्नीको पढाइ र बसाइँमा उनले संघर्षका थुप्रै कथा बेहोरेका छन् । रौतहटमा जन्मिएर अस्ट्रेलियाको यात्रा तय गर्दैगर्दा उनको पछिल्लो सफलता नेपाली समाजका निम्ति लोभलाग्दो उपलब्धिका रूपमा लिइने गर्छ ।

सन् २००८ मा श्रीमती मिना गुप्तासँगै सम्भावनाको खोजीमा विदेशिएका रन्जित शाह यतिबेला अस्ट्रेलियाका सफल व्यवसायीका रूपमा स्थापित भइसकेका छन् । 

उनले सुरु गरेको रामा फ्यासीलीटी मेनेजमेन्ट अर्थात् आरएफएम अस्ट्रेलियाको सीमा नाघेर न्युजिल्यान्डमा समेत स्थापित भइसकेको छ । रन्जितको कम्पनीमा मात्र यतिबेला चार सयभन्दा बढी नेपाली प्रत्यक्ष रूपमा कार्यरत छन् । उनको व्यापार अपार बनेको छ, मिलियन डलरमा खेल्छन् । तर पनि साद्गी र सद्भाव हेर्दा लाग्छ, उनी एक साधारण नेपाली । 

भगवानप्रति आदारभाव दर्साउन पछि नपर्ने रन्जितले भगवानको देन सम्झेर नै कम्पनीको नाम भगवान रामप्रति समर्पित नाम रामा राखेका थिए ।

सिड्नीलाई मुख्यालय बनाएर प्रारम्भ गरेको उनको यो सेवा अस्ट्रेलियाभर र छिमेकी न्युजिल्यान्डमा पनि फैलिइसकेको छ । सरसफाइदेखि क्याराभान र कार मेन्टेनेन्स अनि रेन्टलसम्मको उनको व्यवसाय फैलिँदो छ र हेर्न लायक बनेको छ । 

रौतहटमा जन्मिएर चितवनमा हुर्केका बढेका रन्जितले सन् २००८ तिर अस्ट्रेलिया आउँदै गर्दा कडा संघर्ष गर्नुपरेको थियो । त्यतिबेला हप्ताको मरिमेटेर २१५ डलर कमाएको सम्झना गर्दै रन्जित भन्छन्, ‘‘एकताका त नेपाल नै फर्किने हो कि भन्ने मानसिकताले पनि गाज्यो तर हिम्मत हारिएन ।’’

अस्ट्रेलिया आएलगत्तै एक वर्षमा छोरा आदित्य जन्मियो । भार झन् थपियो, कामको चाप र सिड्नीको रापमा निक्कै सेकिनुपर्‍यो । घर गृहस्थी अनि एकजनाको काम, कठिन थियो जिन्दगी । रन्जित विगत यसरी सम्झन्छन्, ‘‘दिनको १८ घण्टासम्म पनि काम गरियो ।’’ 

उतार–चढावबीच रन्जितको गृहस्थ चल्दै थियो । कहिले घाम–पानीझैँ काम, कोठा र परिवारको जिम्मेवारी । सन् २०१४ मा छोरी एन्जल दोस्रो सन्तानका रूपमा जन्मिइन्, जिम्मेवारी थपियो । अनि भूमिका पनि बदलियो । 

विस्तारै चिनजान र सामाजिक परिवेश बढदै जाँदा रन्जितले व्यवसाय प्रारम्भ गर्ने अठोट गरे र त्यही साल ‘रामा फेसिलिटी मेनेजमेन्ट’ अर्थात् आरएफएम नामक कम्पनी दर्ता गरे । सिड्नीको प्रतिस्पर्धात्मक बजारमा भगवानकै नामको कृपाले पनि होला आरएफएमले सबैका साथ र सहयोग पाउँदै गयो । यसले झांगिने पनि मौका पायो । 

त्यतिबेला सातजना व्यक्तिबाट प्रारम्भ गरेको उनको कम्पनी २०२१ सम्म आइपुग्दा अस्ट्रेलियाको बजारमा स्थापित नाम र ब्रान्डका नाममा चिनिन पुग्यो ।

उनले अस्ट्रेलियामा सीमित आफ्नो व्यवसायलाई विस्तारै न्युजिल्यान्डसम्म पनि विस्तार गरे । विशेषगरी सरसफाइ, क्याराभान, कार रेन्टल तथा मेन्टेनेन्सको उनको यो व्यापार यतिबेला अपार रूपमा सफलताका साथ द्रुतगतिमा दौडिरहेको छ । कम्तीमा चारसय नेपाली उनको कम्पनीमा काम गर्छन् । व्यवसायलाई अमेरिकासम्म पुर्‍याउने उनको लक्ष्य जारी छ ।

उनको साद्गी र सरलताले उनको व्यवसायमा सुनमाथि सुगन्ध थपिदिएको छ । इमानदारिता र मिहिनेत अनि विश्वसनीयता आएरएफएमको मुख्य पहिचान हो भन्न रुचाउने रन्जित अस्ट्रेलिया सम्भावनाको खानी हो भन्न रुचाउँछन् । बिग्रनेहरूका लागि हजारौँ बाटाहरू छन् । तर, सम्भावनाका लाखौँ पाटाहरू पनि यही छन्, तपाईंको हातमा छ के गर्ने भन्ने । 

अस्ट्रेलियन नेप्लिज तराई एसोसिएसनका अध्यक्ष समेत रहेका रन्जित पछिल्लोसमय सफलताका कथासँगै आफ्ना विगतका पाटाहरू केलाउने प्रयासमा पनि छन् । 

अस्ट्रेलिया आउँदै गर्दाको संघर्ष र स्थायित्वको सवालमा भोग्नुपरेका कथा–व्यथालाई नया पुस्ताबीच साट्नुपर्छ भन्ने सोचका साथ यतिबेला चलचित्र पीआरमा समेत निर्माताको भूमिकामा देखापरेका छन् ।

‘‘मैले अनि नयाँ पुस्ताले अस्ट्रेलिया आउँदै गर्दा भोग्नुपरेका समस्या यसको प्रभाव र यथास्थितिलाई नेपाल र नेपालीबीच पुर्‍याउनुपर्छ भन्ने मेरो सोचले यस क्षेत्रमा लागि परेको हुँ’’ रन्जित चलचित्रबारे अनुभव पोख्छन् । 

चलचित्रको यसै साता सिड्नीमा प्रिमियर हुँदै छ । सोभित बस्नेतको निर्देशनमा बनेको यो चलचित्र विशुद्ध चेतनामूलक र यथास्थितिपरक रहेको उनको भनाइ छ । 

‘‘कम्तीमा अस्ट्रेलिया आउने विद्यार्थीले एकपटक अस्ट्रेलिया आउनुअघि यहाँको यथास्थिति र वास्तविकता बुझ्न भए पनि चलचित्र पीआर हेर्नुपर्छ’’ रन्जित भन्छन्, ‘‘चलचित्र पीआर अस्ट्रेलियामा रहेको नेपाली समाजको चित्रण हो ।’’

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्