काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रस्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यका रूपमा नबुझ्न आग्रह गरेका छन् ।
उनले यस्ता टिप्पणीलाई कच्चापन र बचपनाको संज्ञा दिए । असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुरा नगर्न नेताहरूलाई उनले आग्रह गरे ।
पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो मुद्दा ०६६ सालमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ ।
नेता नेपालले ०६६ माघ १८ गते मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलिलाई ८१५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै ०६६ चैत ६ मा उक्त जमिन बेच्न स्वीकृति दिएको आरोप छ ।
यो निर्णय कानुनविपरीत र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ । नेपालको सांसद पद निलम्बित छ ।
सोही विषयमा न्युज एजेन्सी नेपालसँग सम्मानित नेता खनालले यस्तो किसिमको बचपना नदेखाउन नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले पार्टी नेताहरूले उक्त मुद्दा माधव नेपालमाथि मात्र नभई एकीकृत समाजवादीविरुद्ध नै लगाइएको भन्ने टिप्पणी गरिरहेको भन्दै यो गलत रहेको बताए । सबैलाई लगाइएको राजनीतिक मुद्दा भनेर बेतुकका कुरा गर्नु उचित नहुनेमा उनले जोड दिए ।
अध्यक्ष नेपालमाथि १९ करोड रुपैयाँबराबरको मुद्दा लगाइएको र आफूले उनलाई कसरी बचाउने होला भनेर सोचिरहेको खनालले बताए ।
झलनाथ खनालको भनाइ पढ्नोस्–
उहाँले (माधव नेपाल) कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनुभयो, म अचम्मित छु । माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ । १९ करोडको मुद्दा लागेको छ । तर, कसरी माधव कमरेडलाई बचाउने होला, उहाँको मुद्दालाई अनुकूल कसरी बनाउने होला ? उहाँको प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला ? यो कुरामा म जहिले पनि सोचिरहको छु । मैले सचिवालयमा राखेको प्रस्ताव पनि त्यसै दिशामा छ, उहाँलाई अनुकूलता थपियोस् भनेर । ता कि उहाँले यो मुद्दाबाट मुक्ति पाउन सक्नुहोस् भनेर । तर, अब कतिपय मान्छेहरू यो कहाँ माधव नेपाललाई मात्रै लागेको मुद्दा हो, यो त पार्टीलाई नै लागेको मुद्दा हो, यो त सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरू, असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावनाविपरीतका कुराहरू गर्न थालेका छन् । त्यसले माधव नेपाललाई झन् बढी खोकलामा हाल्ने काम गर्दछ । यो कुरा माधव कमरेडले स्वयं बुझिदिए कति राम्रो हुन्थ्यो । उहाँले मुद्दा पहिलोपटक मात्रै देखेको, बुझेको होइन होला । थुप्रै नेता–कार्यकर्तामाथि मुद्दा लागेका छन् । केपी कमरेड, आरके कमरेड, घनेन्द्र कमरेडमाथि मुद्दा लागेको थियो । ती मुद्दाका विरुद्ध, एउटा पञ्चायती तानाशाही शासनले मुद्दा लगाएको थियो । ती मुद्दाका विरुद्ध हामीले व्यापक रूपमा लड्यौँ त । राजनीतिक रूपले लड्यौँ, कानुनी रूपले लड्यौँ । यसमा उहाँले धेरै कच्चा काम गर्नुहोला भनेर आशा गर्दिनँ । परिपक्व काम गर्नुस् भनेर नै मैले एउटा प्रस्ताव नै प्रस्तुत गरेको छु । त्यो प्रस्ताव असाध्यै सोची, विचारीकन यो पार्टीजस्तो रेभिलुसनरी पार्टीले कस्तो स्ट्यान्डर बसाउने भन्ने हो । मैले मार्क्सवादी प्रस्ताव र नयाँ नजिर बसाउने प्रस्ताव प्रस्तुत गरेको छु । त्यो प्रस्तावलाई यो त माधव कमरेडलाई उखेलेर फ्याँक्ने, सत्ताच्युत गर्ने, बदलाको भावना लिएर आउने भन्ने गरी कसैले हरेको छ भने यो असाध्यै कच्चापन हो । बचपना पनि हुनेछ । न्युज एजेन्सी नेपाल