काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्तरिक शुद्धीकरण अभियान सुरु गरेको छ । पार्टी प्रवक्ता शरदसिंह यादवले पार्टीभित्रको अनुशासन, पारदर्शिता र आदर्शलाई मजबुत बनाउने उद्देश्यले अभियान सुरु गरेको बताए ।
बाह्रखरीसँगको कुराकानीमा उनले भने, “पक्षपात, गुटबन्दी, घुसपैठ र व्यक्तिगत स्वार्थका गतिविधिहरूको अन्त्य गर्न अभियान सुरु गरिएको हो । यसले सबै तहका नेता कार्यकर्ताको कार्यशैली, गतिविधि र योगदानको मूल्यांकन गर्नेछ ।”
अभियानका क्रममा कार्यकर्ताले देखेका समस्या, अनुशासनहीनता वा अन्य कमजोरीबारे गोप्य रूपमा सुझाव/शिकायत दिने व्यवस्था पनि गरिएको छ । बारम्बार नियम उल्लंघन गर्ने वा पार्टी हितविपरीत कार्य गर्ने व्यक्तिलाई निलम्बन वा बर्खास्ती गर्नेसम्म कडा कारबाही हुने पनि उनले जनाए ।
पार्टीले गरेका निर्णय र कारबाही सबैलाई स्पष्ट हुने गरी सार्वजनिक जानकारी गराउने अभियानको रणनीति छ । कारबाही बदला वा व्यक्तिगत आक्रोशका आधारमा नभई नीतिगत आधारमा मात्र हुने पनि पार्टीले जनाएको छ ।
अभियानले संगठनभित्र स्वच्छ छवि र उच्च नैतिकता कायम हुने, नेताकार्यकर्ताबीच आपसी विश्वास, एकता र संगठनप्रति गर्व तथा जनताबीच पार्टी अझ विश्वसनीय एवं आकर्षक बन्ने जनमत पार्टीको विश्वास छ ।