site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महन्थले राजीनामा स्वीकार गरेपछि सद्‌भावना ब्युँताउने प्रयासमा अनिल झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झाले दिएको राजीनामा पार्टीले स्वीकार गरेको छ । राजीनामा स्वीकृतसँगै झाले पुरानो पार्टी सद्‌भावनालाई अघि बढाउने गृहकार्य गरेका छन् ।

गएको महिना उनले पदबाट राजीनामा दिएका थिए । झाको राजीनामा त्यति बेलै लोसपा अध्यक्ष महन्थ ठाकुरले स्वीकार गरेको खुलेको छ ।

लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले उनको राजीनामा एक महिनाअघि नै स्वीकार भइसकेको जानकारी दिए । “उहाँले एक महिनाभन्दा केहीअघि राजीनामा दिनुभएको हो र त्यो राजीनामा त्यस बेला नै स्वीकृत भइसकेको छ,” डा. झाले बाह्रखरीसँग भने, “यो विषय त पुरानो भइसक्यो ।”

उनले कोही नेताले राजीनामा दिएपछि स्वीकारको विषय सामान्य भएको बताए । 

झाले पनि त्यति बेलै राजीनामा स्वीकार भइसकेको पुष्टि गरे । राजीनामा दिएपछि उनी मौन थिए । अब नयाँ ढंगले राजनीतिक पार्टीका निम्ति तयारी गरिरहेको उनले खुलाए ।

“मेरो राजीनामा भएको अगाडि नै हो । स्वीकृत पनि भइसकेको छ,” झाले भने, “अहिले यसको चर्चा नहोस् भन्ने चाहेको थिएँ, किनभने केही दिनमा परिपक्व निर्णयसहित विषय सार्वजनिक गर्ने मेरो तयारी छ ।”

अपरिपक्व विषय नबताउने भन्दै गर्दा उनले पुरानै पार्टी सद्‌भावनालाई अघि बढाउने गृहकार्यमा रहेको खुलाए । “अहिले दुईवटा सद्‌भावना पार्टी निर्वाचन आयोगमा दर्ता छ । त्यसमध्ये एउटालाई लिएर अघि बढ्छु,” उनले भने, “त्यसको परिपक्व विवरण केही दिनमा पाउनुहुनेछ ।”

विषय परिपक्व भएपछि केही दिनमा सार्वजनिक गर्ने तयारी रहे पनि कसैले नियतवश बाहिर ल्याइदिएको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्