बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले रूपन्देही–३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनलाई कांग्रेस–एमालेका कार्यकर्ताले आफ्नै पार्टीलाई हराएर सुधारको सन्देश दिने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
उनले तीन दशकसम्म सत्तामा रहे पनि यी दुवै दलले मुलुकका लागि ठोस उपलब्धि दिन नसकेर बरु भ्रष्टाचार बढाएको तथ्य जनताले बुझेको बताए ।
मंगलबार भैरहवामा राप्रपा रुपन्देही–३ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा लिङदेनले उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को रूपमा चित्रण गर्दै यसले जनचेतनाको स्तर र राजनीतिक दलप्रति जनताको मूल्यांकन स्पष्ट पार्ने बताए । “यो सिटले संसदीय अंकगणितमा खासै प्रभाव पार्दैन, तर जनताले पुरानै असफल दल रोज्ने कि परिवर्तनको पक्षमा उभिने भन्ने संकेत दिन्छ,” उनले भने ।
लिङदेनले कांग्रेस–एमालेका कार्यकर्तासमेत आफ्नै पार्टीलाई सुधार्न चाहने हो भने यसपटक उनीहरूलाई हराउनुपर्ने धारणा राखे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक स्पष्टता अझै देखिन नसकेको टिप्पणी गरे । राप्रपाले अहिलेको व्यवस्था र आफ्ना एजेन्डाबारे जनतालाई स्पष्ट बुझाउनुपर्नेमा जोड दिए ।
निर्वाचनलाई लक्षित गर्दै उनले क्षेत्रका ३६ वटै वडामा प्रचार समिति र कार्यालय स्थापना गर्न निर्देशन दिए र आफू पनि सबै वडामा पुग्ने प्रतिबद्धता जनाए । उमेदवार चयनबारे अलमल नगरी योग्य र सक्रिय कार्यकर्तालाई अघि बढाउने आश्वासन उनले दिए ।
उनले कांग्रेस–एमालेको वर्तमान सरकार बारम्बार ढल्ने हल्ला आउने तर अन्ततः भागबण्डा र कमिसनमा सहमति भएपछि टिकिरहने गरेको आरोप लगाए ।
उनले ठेक्का, सरुवा–बढुवा, नियुक्ति, निर्णयदेखि विदेश रोजगारसम्ममा कमिसनबाजी मौलाएको बताए । “मन्त्री र नेताको ध्यान केवल कमिसनमा छ,” उनले आरोप लगाए ।