नेपाली सिने नगरीमा यतिबेला केदार घिमिरे उर्फ ‘माग्ने बुढा’ चर्चामा छन् । आफूले लिएको पारिश्रमिकलाई लिएर उनी आफैँ पनि बोलिरहेका छन् । चलचित्र ‘माग्ने राजा’मा उनले लिएको पारिश्रमिकलाई लिएर अनेक कोणबाट व्याख्या र विश्लेषण हुन थालेपछि उनको चर्चा चुलियो । ‘माग्ने राजा’ उनले सोलो लिड गरेको पहिलो चलचित्र हो । ‘छक्का पञ्जा’ टिममा बसेर काम गरिरहेका केदारको मुख्य भूमिका रहेको चलचित्र रिलिजको तयारीमा छ । उनै केदारसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :–
पहिलोपटक सिंगो चलचित्र तपाईंको काँधमा छ, कत्तिको दबाब महसुस भइरहेको छ ?
प्रचारप्रसारको हिसाबले त्यति धेरै दबाब महसुस भएको छैन । ‘छक्का पञ्जा’ रिलिज हुँदा पनि यस्तै नै हुन्थ्यो ।
मुख्य भूमिकामा हुँदा सुटिङको हिसाबले चाहिँ अलि बढी काम हुन्छ । ‘साइड रोल’ खेल्दा एउटा सिन सकेपछि दुई घण्टा ब्रेक हुनसक्छ । आज दुई सिन छ भने भोलि मात्रै अर्को सिन हुनसक्छ । तर, मुख्य भूमिकामा हुँदा दिनभरि नै आफ्नै सुटिङ हुन्छ ।
एउटा सकिनेबित्तिकै ड्रेस चेन्ज, त्यसपछि अर्को हुलियाका लागि पहिरन परिवर्तन गर्नुपर्छ । त्यो कुरा गर्ने हो भने चाहिँ दबाब महसुस हुन्छ ।
‘छक्का पञ्जा’मा दीपकराज गिरी अगाडिअगाडि तपाईं, जितु नेपाल पछिपछि हिँड्नु हुन्थ्यो, त्यो सजिलो कि आफैँ लिड गरेर हिँड्नु सजिलो रहेछ ?
त्यस्तो पनि थिएन, ‘छक्का पञ्जा’मा कस्तो हुन्थ्यो भने दीपक दाइलाई अलि धेरै गाली आउँथ्यो । त्यसपछि अब हामी जाउँ, हामीले मिलाउनुपर्छ भन्ने बढी हुन्थ्यो । त्यसमा विशेषगरी जितु दाइ, म र दीपा दिदी नै अगाडि हुन्थ्यौँ । त्यसैले त्यहाँ पनि हामी अगाडि लागिराखेकै हुन्थ्यौँ ।
यसपटक आफैँले गाली खानुपर्ने अवस्था आयो नि ?
केही प्रतिक्रियाहरू आएका छन् । तर, यसलाई मैले गाली होइन आशिर्वादको रूपमा लिएको छु । हामीले कुनै कन्टेन्ट निकाल्यौँ तर त्यसमा गाली पनि छैन, ताली पनि छैन भने के हुन्छ ? सुनसान छ, भ्युज पनि छैन, गाली र ताली पनि छैन भने कस्तो लाग्ला ? तर, हाम्रो कन्टेनमा टन्न भ्युज आएको छ ।
आज हामी कुरा गरिरहँदा ट्रेलरमा १६/१७ लाख भ्युज आएको छ । गीत ३५ लाखतिर पुगिसकेको छ । यसमा कोही न कोही मान्छेले फाट्टफुट्ट गाली गर्नु सामान्य हो । समाजमा अनेक प्रकारका व्यक्ति बस्नुहुन्छ, त्यही अनुसारको प्रतिक्रिया आउनु स्वभाविक हो ।
उहाँहरूले हेर्दिनु भयो, यो नै महत्त्वपूर्ण हो । गाली मात्रै गर्नु भएको छैन । सायद उहाँहरूको अपेक्षा पनि होला, यस्तो गरेको भए अझै राम्रो हुन्थ्यो भन्ने । हामीले पहिलेदेखि माया गर्दै आएको माग्नेले यहाँनेर बिगार्यो । यतापट्टी बिगार्यो, यसो गरे हुन्थ्यो भन्ने लाग्नु स्वभाविक हो । यसलाई मैले सुझावका रूपमा लिएको छु । माया गरिदिनुभयो भन्ने रूपमा बुझेको छु ।
सामान्यतया चलचित्रको सफलता/असफलता दुवैको जस मुख्य कलाकारलाई दिने चलन छ, यो सही हो ?
पर्दामा देखिने मुख्य पात्र भएकाले दर्शकले हेर्दा जस/अपजसको भागीदार यही हो भन्ने दर्शकलाई लाग्न सक्छ । तर, सिनेमा कस्तो बनाउने भन्ने निर्देशकको हातमा हुन्छ ।
जस–अपजस बाँडिनुपर्छ भन्ने त होइन । हिरो/हिरोइन पर्दामा देखिने भएकाले चले पनि यिनीहरूकै हो, नचले पनि यिनीहरूकै हो भन्ने लाग्नसक्छ ।
तर, चलचित्र पर्दा अगाडि र पछाडि बस्ने सबैको हो । कलाकार, निर्देशकसँगै संगीतकार, सिनेमेटोग्राफर, कलर, साउन्ड, ब्याकग्राउन्ड म्युजिकमा काम गर्ने धेरैको प्रयासमा चलचित्र बनेको हुन्छ । त्यसैले सफल हुँदा पनि सिंगो टिम सफल हुने हो, नहुँदा पनि सबै असफल हुने हो ।
पहिलोपटक मुख्य भूमिकामा काम गरेको चलचित्र सफल भयो भने त त्यसले करिअरलाई बुष्ट गर्ला तर सोचेजस्तो भएन भने तपाईंको यात्रा यही गतिमा अघि बढ्छ कि ब्रेक लाग्छ ?
मैले त्यसरी सोचेको छैन । यो जिन्दगीको एउटा अर्को खुड्किलोमध्ये मात्रै हो भन्ने ठानेको छु । म भर्याङबाटै आएको मान्छे हुँ । भर्याङमा एक खुड्किलो माथि वा एक खुड्किलो तल हुँदा केही फरक पर्दैन । लिफ्टबाट आएको भए स्वात्तै झरिन्छ । भर्याङबाट आएका कारण राम्रो भए एक खुड्किलो माथि गइएला । नराम्रो हुँदा एक खुड्किला तल आइएला ।
मलाई फेरि कुनै साइड रोल खेल्न पनि असजिलो छैन । मुख्य भूमिकामै अफरहरू आउँछ भने त्यसमा खेल्न पनि तयार छु । नआए साइड रोल पनि खेल्छु । मैले जिन्दगीलाई सरल तरिकाले बुझेको छु ।
अहिले मुख्य भूमिकाका लागि अफरहरू कतिको आइरहेका छन् ?
धेरै आइराखेका छन् । तर अब तीनवटा चलचित्र ‘माग्ने राजा’, ‘माइतीघर’ र ‘जेरी अन टप’ रिलिज नभएसम्म साइन गर्दिनँ भनेर बसेको छु । यी सिनेमामा मेरो काम र प्रतिक्रिया हेरेर मात्रै अरूमा काम गर्छु ।
पारिश्रमिक थोरै हुँदा पनि समस्या, धेरै हुँदा पनि समस्या हुने रहेछ, हो ?
केही व्यक्तिलाई त्यस्तो लागेको हुन सक्ला अथवा चलचित्र क्षेत्र नै सबै मिलेर बहस गर्दा यो ठूलै समस्या रहेछ कि क्या हो भन्ने एकपटक मलाई पनि लागेको थियो ।
तर, हरेक वर्ष कोही न कोही कलाकारले सबैभन्दा धेरै पारिश्रमिक लिएकै हुन्छ । कसैको बाहिर आउला, कसैको नआउला । कसैको हल्ला धेरै होला, कसैको नहोला यति मात्रै हो ।
पारिश्रमिक कति हो, बाहिर आए जति हो कि हैन भन्ने विषय मिलिसक्यो ?
हाम्रो त मिलिरहेकै छ । नमिलेको केही छैन ।
एउटा विन्दुमा चाहिँ तपाईंलाई पनि पारिश्रमिक बढी भयो कि क्या हो भन्ने लागेको हो ?
हो, एउटा विन्दुमा त्यस्तो लागेकै हो । सबैले यही विषयमा छलफल गर्दा चलचित्र क्षेत्रलाई नै यसले ठूलो समस्यामा पारेको हो कि भन्ने लागेको थियो ।
के छ तपाईंको चलचित्रमा जुन अरूकोमा हुँदैन ?
यो चलचित्र किन हेर्ने भने माग्ने बुढाले साइड रोल खेलिरहन्थ्यो । अलि धेरै देख्न पाए हुन्थ्यो भन्ने दर्शक पनि हुनुहुन्छ । मुख्य भूमिकामै खेल्दा के गर्दोरहेछ भन्ने जिज्ञासा भएकालाई यो चलचित्र हेर्दा राम्रो हुन्छ ।
दोस्रो, अहिले कमेडी सिनेमा आएको छैन । कमेडी सिनेमा मन पराउनेहरूले यो सिनेमा हेर्नुपर्छ । तेस्रो, कारण राम्री नायिकाको चलचित्र हेर्नेका लागि पनि यो चलचित्र हो । वर्षा शिवकोटी र मेरो केमेस्ट्री कस्तो छ त्यो हेर्नका लागि पनि यो चलचित्र हेर्नुपर्छ ।
अर्को, तक्मे बुढा र मलाई ‘मेरी बास्सै’मा हेरिरहनु भएका दर्शकका लागि फेरि एकपटक सँगै देखिँदा कस्तो देखियो भनेर पनि हेर्न सकिन्छ ।
अर्को कारण, अहिलेको पहिलो रोजाइको भिलेन शिशिर बाङदेल हुनुहुन्छ । उहाँसँगको मेरो द्वन्द्व हेर्न पनि यो चलचित्र हेर्नुपर्छ ।
यो चलचित्रले हसाउँदैन मात्रै देशको माटो पनि बोल्छ । यसमा लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ भन्ने संवाद हजुरहरूले ट्रेलरमा सुन्नुभयो । यसले पक्कै यो चलचित्रभित्र एउटा गहन विषय छ भन्ने बुझिन्छ । सबै कथा मैले खोल्न मिल्दैन । यही कारणले ‘माग्ने राजा’ हेर्न दर्शक आउनुहुन्छ भन्ने लाग्छ ।
‘छक्का पञ्जा–५’मा दीपकराज गिरीले वर्षा शिवाकोटीसँग स्क्रिन सेयर गर्नुभयो । तपाईंले पनि वर्षाजीसँगै काम गर्नुभयो । यो संयोग मात्रै हो ?
यसमा एकजना राम्री हिरोइन चाहिने थियो । राम्री नायिका को छ भनेर कुरा हुँदा वर्षाजीको नाम आयो । वर्षासँग हालै छक्का पञ्जामा काम गरेकाले उहाँको काम गर्ने तरिका पनि थाहा थियो । निर्माण टिमले पनि उहाँसँग कुरा गरेर फाइनल गर्नुभयो । उहाँ ठिक हुन्छ भन्नेमा मेरो पनि एक भोट थियो ।
तपाईं कथा र संवादमा पनि बस्ने भएकाले अलि धेरै पारिश्रमिक लिनुहुन्छ रे हो ?
यो कुरा चाहिँ लेखक सामिप्यराज तिमलसेनाको महानता हो । उहाँ आफू राइटर हुँदाहुँदै पनि मेरो पनि सहयोग छ भनेर भन्नुभयो । होइन भने लेखक त उहाँ नै हो । राम्रो र नराम्रो दुवैको जसअपजस उहाँकै काँधमा हो ।
अलिअलि सेटमै वा सुटिङमै इम्प्रोभाइज गर्ने अथवा उहाँसँग बस्दा पनि यसलाई यसो गर्दा राम्रो हुन्छ कि भनेर अलिअलि फूलबुट्टा भर्ने काममा म पनि थिएँ । तर, अरुले लेखेको कथामा मैले पनि लेखेको हो भन्न मिल्दैन ।