काठमाडौं । पाकिस्तानले आफ्नो ७८औँ स्वतन्त्रता दिवसका अवसरमा नयाँ ‘आर्मी रकेट फोर्स कमान्ड’गठन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री शहबाज शरीफले इस्लामाबादको जिन्ना ग्राउन्डमा आयोजित समारोहमा यो घोषणा गरेका हुन् ।
बीबीसी उर्दूका अनुसार, प्रधानमन्त्री शरीफले भने, “अत्याधुनिक प्रविधिले सुसज्जित यो फोर्स हरेक दिशाबाट शत्रुमाथि निशाना लगाउन सक्षम हुनेछ ।” उनले यस फोर्सले पाकिस्तानको परम्परागत युद्ध क्षमतालाई थप बलियो बनाउने बताए ।
शरीफले पाकिस्तानको परमाणु शक्ति आक्रामक मानसिकताका लागि नभई भारतको परमाणु क्षमताविरुद्ध रक्षात्मक रेखालाई सुदृढ गर्न विकसित गरिएको स्पष्ट पारे ।
कश्मीर मुद्दा र अन्तर्राष्ट्रिय समर्थन
प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गर्दै युद्धविराम गराउन उनले सकारात्मक भूमिका खेलेको दाबी गरे । उनले ट्रम्पले संयुक्त राष्ट्रसंघको प्रस्ताव र क्षेत्रीय स्थायी शान्तिको मागअनुरूप कश्मीर मुद्दा समाधानमा योगदान दिने आशा व्यक्त गरे ।
शरीफले जबसम्म फलस्तिनी र कश्मीरीहरूले आफ्नो अधिकार प्राप्त गर्दैनन्, तबसम्म पाकिस्तानले नैतिक, कूटनीतिक र राजनीतिक समर्थन प्रदान गर्ने प्रतिबद्धता जनाए । बीबीसी