site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री राणासँग भारतीय विदेशसचिवले गरे शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार शिष्टाचार भेटवार्ता भएको हो । 

“हामीले भारत–नेपाल सम्बन्धको सबै पक्षबारे छलफल गर्यौं, जसमा हाम्रो कनेक्टिभिटी, व्यापार र विकास सहयोगलाई सुदृढ पार्ने कुरामा ध्यान केन्द्रित गरिएको थियो,” भेटपछि परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन्, “नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको सम्मान गर्दछ र द्विपक्षीय सम्बन्धको निरन्तर वृद्धिको अपेक्षा गर्दछ ।”

भेटमा नेपाल–भारत सम्बन्ध, पारस्परिक हितका मुद्दा, नेपाल–भारत बहुआयामिक साझेदारीलाई अझ बढाउने लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

दुईदिने नेपाल भ्रमणको सिलसिलामा भारतीय विदेशसचिव मिश्री आइतबार (भदौ १ गते) बिहान काठमाडौं आएका हुन् ।

नेपाल आएपछि उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग शिष्टाचार भेट गरेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्