काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेट गर्दा प्रमुख युरोपेली नेताहरूले उनलाई साथ दिनेछन् ।
ट्रम्पका विशेष दूत स्टिभ विटकफका अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ट्रम्पसँगको शिखर सम्मेलनमा युक्रेनका निम्ति अमेरिकी सुरक्षा ग्यारेन्टी दिन सहमत भएका छन् । र, सम्भावित शान्ति सम्झौताको भागका रूपमा ‘भूमि आदानप्रदान’मा जोड दिएका छन् ।
विटकफले ट्रम्प अब पुटिनसँगको वार्ता प्रगतिका कारण तत्काल युद्धविराम नगरी शान्ति सम्झौता निश्चित गर्न केन्द्रित रहेको बताएका छन् । यद्यपि, जेलेन्स्कीले पूर्ण शान्ति सम्झौता हुनुअघि तत्काल युद्धविरामको माग गरेका थिए ।
जेलेन्स्कीलाई क्राइमियाको दाबी छाड्न र नेटोमा सामेल नहुन दबाब
जेलेन्स्की र ठूलो युरोपेली प्रतिनिधिमण्डलसँगको अत्यन्त महत्त्वपूर्ण वार्ताको पूर्वसन्ध्यामा ट्रम्पले आइतबार ह्वाइट हाउसका पाहुनालाई आफूले दिने सन्देशको पूर्वावलोकन गरेका छन् । उनका अनुसार, युक्रेन युद्ध अन्त्य गर्न जेलेन्स्कीले रुसका केही सर्त मान्नुपर्छ ।
“युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै समाप्त गर्न सक्छन् वा लडाइँ जारी राख्न सक्छन्,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “कसरी सुरु भएको थियो सम्झनुहोस् । ओबामाले दिएको क्राइमिया फिर्ता नहुने र युक्रेनले नेटोमा नजाने । केही कुरा कहिल्यै परिवर्तन हुँदैनन् !!!
यो पोस्टले ट्रम्पले युद्ध अन्त्य गर्न काम गर्दा सोमबार जेलेन्स्कीले सामना गर्ने दबाबलाई जोड दिएको छ । उनले सूचीबद्ध गरेका दुई सर्त, युक्रेनले सन् २०१४ मा रुसले गैरकानुनी रूपमा कब्जा गरेको क्राइमिया छाड्ने र नेटोमा कहिल्यै सामेल नहुन सहमत हुने युद्ध समाप्त गर्न पुटिनले राखेका सर्तमध्येका हुन् ।
सोमबार जेलेन्स्कीसँग ह्वाइट हाउस भ्रमण गर्ने युरोपेली नेताहरू आफ्नो भेटघाट ट्रम्पले युक्रेनी नेतालाई अलास्का शिखर सम्मेलनमा पुटिनले राखेका सर्त स्वीकार गर्न दबाब दिनेमा मात्र सीमित हुन सक्ने कारण चिन्तित भएका जनाइएको छ ।
उनीहरूले शान्ति सम्झौताको हिस्साका रूपमा रुसले के छुट दिन सक्छ भन्नेबारे ट्रम्पबाट थप जानकारी प्राप्त गर्ने आशा गरेका छन् । त्यसमा अमेरिकाले भविष्यमा सुरक्षा ग्यारेन्टी प्रदान गर्ने भूमिका समावेश छ ।
“भोलि ह्वाइट हाउसमा ठूलो दिन छ । एकै समयमा यति धेरै युरोपेली नेताहरू कहिल्यै आएका थिएनन् । उनीहरूलाई आतिथ्य दिनु मेरो निम्ति ठूलो सम्मान हो !!!,” ट्रम्पले जेलेन्स्कीलाई सन्देश दिँदै आफ्नो पोस्टमा लेखेका छन् ।
यस दिन ह्वाइट हाउसमा युरोपेली प्रतिनिधिमण्डलका तर्फबाट फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मन चान्सलर फ्रिडरिख मर्ज, बेलायती प्रधानमन्त्री केइर स्टार्मर, इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन, फिनिस राष्ट्रपति अलेक्जेन्डर स्टब र नेटो महासचिव मार्क रुट्टे हुने जनाइएको छ ।
युक्रेनको सुरक्षा ग्यारेन्टी सुनिश्चित हुनेमा विश्वस्त
जेलेन्स्की ट्रम्पसँग महत्त्वपूर्ण वार्ताका निम्ति आइतबार राति वासिङटन डीसी पुगेका छन् । उनले युरोपेली नेताहरूको समर्थनमा युक्रेनले सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
“म वासिङटन पुगिसकेको छु, भोलि म राष्ट्रपति ट्रम्पसँग भेट्दै छु । भोलि हामी युरोपेली नेताहरूसँग पनि कुरा गर्दै छौँ । म राष्ट्रपति ट्रम्पलाई निमन्त्रणाका निम्ति धन्यवाद दिन्छु,” जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
जेलेन्स्कीले ट्रम्पसँग ओभल कार्यालयमा द्विपक्षीय वार्ता गर्नेछन् । त्यसपछि ट्रम्पले युरोपेली नेताहरूसँग भेट गर्नेछन् ।
“हामी सबै यो युद्धलाई चाँडो र विश्वसनीय रूपमा समाप्त गर्ने बलियो इच्छा राख्छौँ । र, शान्ति दीर्घकालीन हुनुपर्छ,” जेलेन्स्कीले लेखेका छन्, “मलाई विश्वास छ कि हामी युक्रेनको रक्षा गर्नेछौँ, प्रभावकारी रूपमा सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्नेछौँ । र, हाम्रा जनता राष्ट्रपति ट्रम्प, अमेरिकाका सबै र प्रत्येक साझेदार तथा सहयोगीप्रति समर्थन र अमूल्य सहयोगका निम्ति सधैँ कृतज्ञ रहनेछन् । रुसले यो युद्ध, जुन उसले आफैँ सुरु गरेको हो, अन्त्य गर्नुपर्छ ।”
उनले अगाडि भने, “युक्रेनीहरू आफ्नो भूमि र स्वतन्त्रताका निम्ति लडिरहेका छन् ।” अमेरिका र युरोपको शक्ति प्रदर्शनले ‘रुसलाई वास्तविक शान्तिका निम्ति बाध्य गर्न’ सहयोग पुग्ने उनले आशा व्यक्त गरे ।
यसअघि, राष्ट्रपति ट्रम्पले शान्ति वार्ताको हिस्साका रूपमा युक्रेनले क्राइमिया फिर्ता लिने वा नेटोमा सामेल हुने विचार त्याग्नुपर्ने सुझाव दिएका थिए ।
रुसलाई पनि सुरक्षा ग्यारेन्टी आवश्यक : रुसी दूत
भविष्यको शान्ति सम्झौताअन्तर्गत रुसलाई पनि प्रभावकारी सुरक्षा ग्यारेन्टी आवश्यक पर्ने भियनामा अन्तर्राष्ट्रिय संगठनका निम्ति रुसका दूतले बताएका छन् ।
दूत मिखाइल उल्यानोभले एक्समा लेखेका छन्, “ईयूका धेरै नेताहरूले भविष्यको शान्ति सम्झौताले युक्रेनका निम्ति विश्वसनीय सुरक्षा आश्वासन वा ग्यारेन्टी प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । रुस यसमा सहमत छ । रुसलाई पनि प्रभावकारी सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने समान अधिकार छ ।” सीएनएनबाट ।