काठमाडौं । नेपालको दुईदिने भ्रमण सम्पन्न गरी भारतीय विदेशसचिव विक्रम मिश्री सोमबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीस्वरुप उनी आइतबार काठमाडौं आएका थिए ।
विदेशसचिव स्वदेश फर्केलगत्तै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार भएको बताएको छ ।
“नेपाल भारतको छिमेकी पहिलो नीतिअन्तर्गत प्राथमिकतामा रहेको साझेदार हो,” विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “विदेशसचिवको भ्रमणले दुई देशबीच नियमित उच्च–स्तरीय भ्रमणको आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत गरेको छ ।”
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेशसचिव मिश्री नेपाल आएका थिए । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
“उहाँले उनीहरूलाई भारतको नेतृत्वले पठाएको शुभकामना सुनाउनुभयो र दुई देशबीच पारस्परिक रूपमा लाभदायक द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूमा भइरहेको प्रगतिको बारेमा जानकारी गराउनुभयो,” भारतको विदेश मन्त्रालयले भनेको छ ।
विदेशसचिव मिश्रीले प्रधानमन्त्री ओलीसँगको भेटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको लागि पठाएको निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको विदेश मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहँदा विदेशसचिव मिश्रीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेस केन्द्रित दलका नेताहरूसँग पनि भेटवार्ता गरेका थिए ।
आइतबार साँझ विदेशसचिव मिश्री नेपाल–भारत विदेशसचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका थिए । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव राईले गरेका थिए ।
“दुई परराष्ट्र सचिवहरूले विस्तृत छलफल गरेका थिए । विभिन्न द्विपक्षीय विषयहरूमा भएका प्रगतिहरूको समीक्षा गरेका थिए । प्रधानमन्त्री ओलीको आगामी भारत भ्रमणको एजेन्डाको हिस्सा बन्न सक्ने सम्भावित थप सहकार्य र अवसरहरूको बारेमा छलफल गरेका थिए,” भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
विदेशसचिव मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गरेका थिए । सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा उनले प्रधानसेनापति सिग्देललाई लाइट स्ट्राइक भेहिकल, क्रिटिकल केयर मेडिकल उपकरण र सैन्य जनावरहरूसहित रक्षा भण्डार र उपकरणहरू हस्तान्तरण गरेका थिए ।
“दुवै पक्षले हालैका वर्षहरूमा भौतिक सम्पर्क, डिजिटल सम्पर्क, रक्षा तथा सुरक्षा र ऊर्जा सहयोग लगायत द्विपक्षीय सहयोगका विविध क्षेत्रहरूमा ठोस प्रगति भएकोमा सन्तुष्टि व्यक्त गरेका थिए,” विज्ञप्तिमा भनिएको छ ।