site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता, सीमामा शान्ति र स्थिरता कायम राख्ने प्रतिबद्धता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार चीनका विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा  भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्नु पर्नेमा जोड दिएका छन् । उनले सीमा विवादको निष्पक्ष, तर्कसंगत र दुवै पक्षका लागि स्वीकार्य समाधानप्रति भारत प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिपछि भारत र चीनबीचको सम्बन्धले नयाँ दिशा लिएको छ । यसअघि वाङ यीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्तामा मोदीले यो महिनाको अन्त्यमा चीनको भ्रमण गर्ने पुष्टि गरेका थिए ।
 
वाङ यीसँगको भेटपछि मोदीले सामाजिक संजालमा गत वर्ष कजानमा राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि भारत–चीन सम्बन्धले एक–अर्काको हित र संवेदनशीलताको सम्मान गर्दै निरन्तर प्रगति गरेको बताए ।

मोदीले राष्ट्रपति सीको निमन्त्रणा स्वीकार गर्दै तियानजिनमा हुने शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने सहमति जनाउँदै तियानजिनमा राष्ट्रपति सीसँग भेटवार्ताका लागि उत्सुक रहेको बताए ।
 
मोदीले सीसँगको भेटवार्ताको प्रतीक्षा गरिरहेको र  भारत र चीनबीच स्थिर, विश्वसनीय र रचनात्मक सम्बन्धले क्षेत्रीयसँगै अन्तर्राष्टिय शान्ति र समृद्धिमा पनि ठूलो योगदान दिने बताए । 

यसअघि सीमा मुद्दामा विशेष प्रतिनिधिहरूको २४औँ वार्ताको क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले स्थिति सुधार भएको र सीमामा शान्ति रहेको बताएका थिए ।

“शान्ति र सद्भाव कायम छ । हाम्रो द्विपक्षीय सम्बन्ध अझ मजबुत भएको छ । गत वर्ष अक्टोबरमा कजानमा एक सहमति भएको थियो,” उनले भने, “त्यसबाट हामीलाई फाइदा भएको छ । नयाँ वातावरणले हामीलाई विभिन्न क्षेत्रमा अगाडि बढ्न मद्दत गरेको छ, जसमा हामी काम गरिरहेका छौँ ।”

बैठकमा वाङ यीले पछिल्ला केही वर्षमा भारत र चीन दुवैलाई झट्का लागेको र त्यो दुवैको हितमा नभएको बताए । उनले भने, “हामीले खुसीसाथ भन्न सक्छौँ, अब सीमामा स्थिरता बहाल भएको छ । इतिहास र वास्तविकताले भारत र चीनबीच राम्रो सम्बन्ध दुवै देशका दीर्घकालीन हितहरू पूरा गर्छ भन्ने यो प्रमाणित गरेको छ ।” 

यसअघि १८ अगस्टमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको थियो । वाङ यीले चीनले एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदीको प्रस्तावित भ्रमणलाई धेरै महत्व दिने बताए । भ्रमणको सफलतामा भारतको सक्रिय योगदानको अपेक्षा गरेको मंगलबार सीमा वार्ताको २४औँ वार्ताको उद्घाटन वक्तव्यमा भनेका थिए । टाइम्स अफ इन्डिया

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्