site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
थापागाउँबाट विद्याले उठाइन् सरकार, संसद् र च्यासलमाथि प्रश्न

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार फरक ढंगले प्रस्तुत भइन् । लिखित रूपमा मन्तव्य दिँदै आएकी भण्डारीले ड्यासमा उभिएर आधा घण्टा लामो भाषण गरिन् । 

एमालेले पार्टी सदस्यतामा रोक लगाएको एक महिनामै थापागाउँमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै उनले एमाले, सरकार र संसद्‌माथि गम्भीर प्रश्न उठाएकी छन् । 

कार्यक्रममा उपस्थित भएका नेता कार्यकर्ता भन्छन्– आज फरक शैली देखियो । पार्टीको पूर्वउपाध्यक्षको रूपमा प्रस्तुत भएको भान भएको छ । हुनत, विद्याले गएको साउन ९ गते पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा एमाले पूर्वउपाध्यक्ष मात्रै लेखिएको थियो ।

२०७२ कार्तिक ११ अघि उनी एमाले उपाध्यक्ष थिइन् । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेको बखत भण्डारीलाई एमालेले राष्ट्रपति बनाएको थियो । 

दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेर भण्डारी २०७९ फागुन २९ गते शीतलनिवासबाट फर्किएकी थिइन् । उनले गएको असार १४ गते एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । 

मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय हुन खोजेकी भण्डारीले मदनको ७५औँ जन्मजयन्ती मनाउनका लागि गठित समितिको सम्पर्क कार्यालय बिहीबार उद्घाटन गरिन् ।

वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको समिति गएको असार ३१ गते घोषणा गरिएको थियो ।  समितिको संयोजक भण्डारी हुन् ।

थापागाउँस्थित एमाले नेता विदुर मैनालीको घरमा समितिको कार्यालय सञ्चालनमा ल्याउँदै भण्डारीले पार्टीमा नै लड्ने सन्देश दिएकी छन् । 

कार्यक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका तीन पदाधिकारी उपस्थित भए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे उनको साथमा देखिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले मन्तव्य पनि दिए । दुई उपाध्यक्षले भने बोल्ने कार्यक्रम थिएन । 

संसद्‌माथि प्रश्न 
भण्डारीले कानुन निर्माणको थलो संसद्‌माथि गम्भीर प्रश्न उठाइन् । उनले संसद् निरीह बनेको आरोप लगाइन् । राज्यका संयन्त्र राम्ररी नचलेको आरोप लगाउँदै भण्डारीले भनिन्, “अहिले संसद् नै निरीह थलो जस्तो बनेको छ । कानुनहरू समानुकूल कस्तो बनाउने भन्ने ध्यानपूर्वक अध्ययन भइरहेको छैन ।”

उनले सांसदहरूमाथि भ्रष्टाचारको आरोप लाग्नेबित्तिकै निलम्बन हुने व्यवस्थाप्रति आपत्ति जनाइन् । आरोप लाग्नेबित्तिकै निलम्बन गर्नु जाहेज नहुने तर्क उनको छ ।  “कुनै व्यक्तिलाई आरोप लागेको छ । पुष्टि भएको छैन । तर, निलम्बित भइहाल्छ । संसारमा यही हो न्याय ? निर्वाचित भएर आएका जनप्रतिनिधिले आदर्शअनुसार काम गर्नुपर्छ,” भण्डारी भन्छिन्, “कसैले आरोप लगायो भन्दैमा एकैपटक निलम्बनमा परिहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ?” 

भण्डारीले थपिन्, “अहिले पनि केही ठूलै दलका नेताहरू निलम्बनको यात्रा भोगिरहेका छन् । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधि साँच्चै दोषी हुन् कि होइनन् ।” 

संसद्मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, एमाले सांसद टोपबहादुर रायमाझी, कांग्रेस सांसद मोहनबहादुर बस्नेत निलम्बित छन् । 

उनले संसद्ले कानुन निर्माणको गतिलाई तीव्रता दिन नसकेकोप्रति असन्तुष्टि पनि जनाइन् । “संसद्मा कानुन बन्न सकिरहेको छैन । शिक्षासम्बन्धी नेपालमा ठूलो समस्या छ,” भण्डारीले भनिन्, “आमुल सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । तर, शिक्षासम्बन्धी राम्रो कानुन बन्न सकिरहेको छैन ।”

च्यासलमाथि प्रहार
भण्डारी पार्टी सदस्यतामा रोक लगाउने एमालेको निर्णयप्रति आक्रोशित भइन् । साउन ५ र ६ गते पार्टी कार्यालय च्यासलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता रोकेको थियो । 

“साथीहरू नेता भन्छन्, तर आफ्नो त पार्टीको संगठित सदस्यतामा नै प्रश्न उठाएको छ यो च्यासलले,” उनले भनिन्, “सदस्यता लिएको ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाने बेलामा सदस्य भएको ३५ वर्ष भएको थियो ।”

पार्टीले नै पठाएर आफू राष्ट्रपति बन्न गएको र आफ्नो कार्यकालमा देशको गौरव बढ्ने गरी काम गरेको जिकिर गरिन् । “मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका एकदम मर्यादित ढंगले राष्ट्रको गौरव बढ्ने गरी गरेको छु,” भण्डारीको जिकिर छ । 

उनले आफू आलोचनाभन्दा बाहिर नभएको तर तथ्यको आधारमा आलोचना गर्न सुझाइन् । आफू एमालेमा नै रहेर काम गर्ने सन्देश दिएकी छन् ।

“म निरन्तर एमालेको कार्यकर्ता भएर काम गर्न चाहन्छु । गरिहरन्छु । एमालेको मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार काम गर्ने हो,” भण्डारीले भनिन् ।

पार्टीले जिम्मेवारी नदिए पनि लडिरहने संकेत उनको छ । “पार्टीले मलाई कुनै जिम्मेवारी दिओस् कि नदिओस् मलाई मतलब छैन । म नेकपा एमालेको सदस्य हो,” उनको दाबी छ, “मैले जुन सिद्धान्त धारण गरेको छु र बुझेको छु । त्यसअनुसार मैले काम गर्ने हो ।”

पार्टीमा विकृति, विसंगति फैलिएको र त्यसका विरुद्ध लडिरहने बताइन् । उनले जबजको सान्दर्भिकता अझै रहेको दाबी गरिन् ।  

सरकारमाथि विद्या : समीक्षा गर्नुपर्छ 
भण्डारीले सरकारको समीक्षाको आवश्यकता औँल्याएकी छन् । नेपाली कांग्रेसको सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । ओली ०८१ असार ३० प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीले एक वर्षमा आफूले राम्रो काम गरेको दाबी गरिरहेका छन् । भण्डारीले भने पार्टीको नीतिअनुसार काम भएको छ/छैन भन्ने निक्र्योल गर्ने बेला आएको दाबी गरिन् । 

“सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्नु हो । त्यो अनुसार काम गर्न सक्यो कि सकेन ?,” उनको प्रश्न छ ।  

आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा काम गर्न सके/नसकेको समीक्षा गर्ने बेला आएको भण्डारीको दाबी छ । 

उनले दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरे पनि त्यसमा छलफलै गर्न नसकेको बताइन् । दुई पार्टीले संविधान संशोधनको एजेन्डा देखाउँदै सत्तासमीकरण गरेका थिए ।  

“ठूला दलहरू आफैँले अहिलेको संविधानमा प्रश्न उठाए । र, संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । संविधानमा के अभाव रह्यो ?,” उनी भन्छिन्, “के आवश्यकता छ । के गर्‍यो भने देशको समस्या समाधान हुन्छ भनेर छलफल हुन सकेको छैन ।”

दुई ठूला पार्टीको सरकारले युवापुस्तालाई समेट्न नसकेको भन्दै विभिन्न क्षेत्रमा काम गर्नुपर्ने धारणा राखेकी हुन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्