site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धविराम हुने/नहुने जेलेन्स्कीको हातमा, पुटिनले राखेका तीन सर्तमा  के छ प्रतिक्रिया ?

काठमाडौं । अलास्कामा गतहप्ता युक्रेनसँगको युद्धविरामबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको छलफलका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन महत्वपूर्ण सर्त राखेका थिए ।
 
पुटिनले राखेका यी सर्र्तहरूमा डोनबास क्षेत्रमा युक्रेनको आत्मसमर्पण, नेटो सदस्यता प्राप्त गर्ने प्रयास रोक्नु र पश्चिमी देशहरूको सेना तैनाथ नगर्ने माग समावेश छन् ।
 
ट्रम्पले पुटिनका यी मागहरूबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेका छन् । उनले अब युद्धविरामको टुंगो जेलेन्स्कीको निर्णयमा अडिएको बताएका छन् । ट्रम्पका अनुसार यदि, जेलेन्स्कीले मस्कोका यी सर्तहरू स्वीकार गरमा तीन वर्षदेखि चलिरहेको युद्ध समाप्त हुनसक्छ ।
 
गत हप्ता अलास्कामा रूसी राष्ट्रपति पुटिनसँग भेट गरेपछि सोमबार ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग बैठक गरेका थिए ।
 
ट्रम्पले यो बैठकमा उनी कुनै पनि प्रकारको युद्धविराम लागु गर्नुभन्दा सिधै शान्ति सम्झौतातर्फ जान चाहेको स्पष्ट गरे । वरिष्ठ अमेरिकी अधिकारीहरूले बताएअनुसार अलास्काको बैठकमा पुटिनले तीन माग राखेका थिए ।
 
पुटिनले सन् २०२४ को जुनमा गरेको मागलाई दोहोर्‍याउँदै युक्रेनले डोनबासका ती भागहरूबाट पूर्णरूपमा फिर्ता हुनुपर्ने बताएका थिए । यी भागहरू अझै पनि युक्रेनको नियन्त्रणमा छन् । यसको बदलामा रूसले दक्षिणी क्षेत्रका जापोरिज्जिया र खेर्सनमा रहेको आफ्नो अग्रमोर्चालाई रोक्नेछ । र, ती भाग युक्रेनलाई फिर्ता दिनेछ ।
 
एक तथ्यांकअनुसार डोनबासको करिब ८८ प्रतिशत र जापोरिज्जिया र खेर्सनको ७३ प्रतिशत भागमा रूसको नियन्त्रण छ । रूसले युक्रेनलाई खार्किभ, सुमी र डिनिप्रोपेट्रोभ्स्क क्षेत्रका आफ्नो नियन्त्रणमा रहेका साना भागहरू हस्तान्तरण गर्न तयार छ । 

यसबाहेक पुटिन युक्रेनले नेटोमा सामेल हुने आफ्नो महत्वकांक्षा त्यागोस् भन्ने चाहन्छन् । साथै, अमेरिकी सेनाहरू पूर्वतर्फ नबढ्ने ग्यारेन्टी दिनुपर्ने पनि बताएका छन् ।
 
पुटिनले युक्रेनी सेनाको सीमा निर्धारण गर्न र शान्ति सेनाको हिस्सेदारको रूपमा युक्रेनमा कुनै पनि पश्चिमी सेना तैनाथ नहुने कुरामा सम्झौता गर्नुपर्ने माग पनि राखेका छन् ।
 
रुसको माग अस्वीकार गर्दै जेलेन्स्की
युक्रेनले पुटिनका पछिल्ला मागहरूबारे कुनै प्रतिक्रिया दिएको छैन । तर, जेलेन्स्कीले यसअघि डोनबास खाली गर्ने रूसको मागलाई अस्वीकार गरिसकेका छन् ।
 
“डोनबास औद्योगिक क्षेत्रले किल्लाको रूपमा काम गर्छ, जसले युक्रेनमा रूसको बढ्दो गतिविधिलाई रोकेको छ,” जेलेन्स्कीले भनेका छन्, “हामी केवल पूर्वबाट फिर्ता हुने कुरा गर्छौं भने हामी त्यसो गर्न सक्दैनौँ । यो हाम्रो देशको अस्तित्वको प्रश्न हो, जसमा सबैभन्दा बलियो रक्षात्मक लाइनहरू समावेश छन् ।”

नेटो सदस्यता त्याग्ने मागबारे जेलेन्स्कीले भनेका छन्, “नेटोमा सामेल हुनु हाम्रो देशको संविधानमा निहित रणनीतिक उद्देश्य हो र किभले यसलाई आफ्नो सबैभन्दा विश्वसनीय सुरक्षा ग्यारेन्टी मान्छ । नेटो गठबन्धनको सदस्यताबारे निर्णय गर्नु रूसको काम होइन ।” एजेन्सी

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्