काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तटमा तीनवटा एजिस निर्देशित–मिसाइल डिस्ट्रोयरहरू तैनाथ गर्न लागेको ह्वाइट हाउसका एक अधिकारीले बुधबार सीबीएस न्युजलाई पुष्टि गरेका छन् । यो सैन्य कदम ल्याटिन अमेरिकी लागुऔषध कार्टेलहरूको धम्की सामना गर्न र उनीहरूलाई सैन्य बल प्रयोग गरेर रोक्नका लागि चालिएको बताइएको छ ।
ती अधिकारीका अनुसार, यूएसएस ग्रेभली, यूएसएस जेसन डनहम, र यूएसएस साम्पसन नामक जहाजहरू आगामी केही दिनभित्रै सो क्षेत्रका लागि प्रस्थान गर्नेछन् । रक्षा विभागका एक अधिकारीले एसोसिएटेड प्रेससँग कुरा गर्दै यो सैन्य गतिविधि लागुऔषधविरोधी प्रयासलाई समर्थन गर्नका लागि भएको पुष्टि गरेका छन् । ती अधिकारीका अनुसार, जहाजहरू ‘केही महिनाका लागि’ तैनाथ हुनेछन् ।
तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदम लागुऔषध कार्टेलविरुद्धको अभियानको बहानामा भेनेजुएलाविरुद्ध लक्षित भएको चीनले आरोप लगाएको छ ।
यस महिनाको सुरुमा, ट्रम्प सरकारले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको गिरफ्तारीका लागि पुरस्कार दोब्बर पारेर ५० मिलियन डलर पुर्याउने घोषणा गरेको थियो । मादुरोलाई विश्वका सबैभन्दा ठूला लागुऔषध तस्करहरूमध्ये एक भएको र कार्टेलहरूसँग मिलेर अमेरिकामा फेन्टानिल मिसाइएको कोकेन पठाएको आरोप पनि लगाइएको छ ।
ट्रम्पले गत फेब्रुअरीमा भेनेजुएलाको ‘ट्रेन डे अरागुआ’, एल साल्भाडोरको ‘एमएस–१३’ र मेक्सिकोका ६ वटा समूहलाई विदेशी आतंकवादी संगठनको रूपमा सूचीकृत गरेका थिए ।
सामान्यतया, यस्तो आतंकवादी घोषणा लागुऔषध तस्करीजस्ता आर्थिक अपराध सञ्जालहरूका लागि नभएर अल–कायदा र आईएसआईएसजस्ता राजनीतिक उद्देश्यका लागि हिंसा प्रयोग गर्ने समूहहरूका लागि गरिन्छ ।
अमेरिकी डिस्ट्रोयरहरूको तैनाथीबारे भेनेजुएला सरकारको प्रेस कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । तर, विदेशमन्त्री इभान गिलले मंगलबार एक वक्तव्य जारी गर्दै ट्रम्प प्रशासनले भेनेजुएलाविरुद्ध लगाएको लागुऔषध तस्करीको आरोपलाई खारेज गरेका थिए । यो वक्तव्यपछि भेनेजुएला सरकारले देशको आकाशमा ड्रोनको खरिद, बिक्री र सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाएको छ ।
सोमबार, मादुरोले अमेरिकाले भेनेजुएलाविरुद्ध धम्की बढाएको बताएका थिए र देशभर ४५ लाखभन्दा बढी मिलिसिया सदस्यहरूलाई परिचालन गर्ने घोषणा गरेका छन् ।
अमेरिकी सैन्य तैनाथीको चीनद्वारा निन्दा, विदेशी हस्तक्षेपको आरोप
भेनेजुएलाको तटमा अमेरिकी सैन्य शक्ति तैनाथ गरिएको विषयलाई लिएर चीनले कडा निन्दा गरेको छ । ट्रम्प प्रशासनले लागुऔषध कार्टेलहरूको सामना गर्ने प्रयासका क्रममा गरेको यो सैन्य निर्माणलाई चीनले क्षेत्रीय मामिलामा ‘विदेशी हस्तक्षेप’ को संज्ञा दिएको फक्स न्युजले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरू, साथै कुनै पनि देशको सार्वभौमिकता र सुरक्षाको उल्लंघन गर्ने कुनै पनि कदमको विरोध गर्ने बताइन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा बलको धम्कीको विरोध गर्ने पनि बताइन् ।
प्रवक्ता निङले भनिन्, “हामी कुनै पनि बहानामा भेनेजुएलाको आन्तरिक मामिलामा बाह्य शक्तिहरूको हस्तक्षेपको पनि विरोध गर्दछौँ,” उनले थपिन्, “हामी आशा गर्छौं अमेरिकाले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा शान्ति र सुरक्षाका लागि अनुकूल हुने कार्यहरू गर्नेछ ।”