site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजाको एक चौथाइ जनसंख्यामा कसरी भोकमरी सिर्जना भयो ?

काठमाडौं । गाजामा भोकमरीको अवस्था छ । तर, यसको सिमानाबाहिर सयौँ ट्रक राहत सामग्रीहरू रोकिएका छन् । यो अवस्था कसरी आयो ?

संयुक्त राष्ट्रसंघद्वारा समर्थित विश्वको प्रमुख भोकमरी अनुगमन संस्था ‘इन्टिग्रेटेड फुड सिक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी)’को मूल्यांकनअनुसार गाजाका एक चौथाइ अर्थात् पाँच लाख प्यालेस्टाइनी भोकमरीबाट पीडित छन् ।

प्रतिवेदनले यो अवस्था ‘पूर्णरूपमा मानव निर्मित’ भएको स्वीकार गरेको छ । साथै, आज सहायता संगठनहरूले इजरायलमाथि गाजा पट्टीमा खाद्यान्न प्रवेशमा ‘प्रणालीगत अवरोध’ गरेको आरोप लगाएका छन् ।

प्रतिवेदनले भोकमरी तीव्र गतिमा फैलिरहेको र यही प्रवृत्तिमा सेप्टेम्बरसम्म गाजाको धेरैजसो भागमा भोकमरी हुने अनुमान गरेको छ ।

प्रतिवेदनले तीन प्रमुख सूचकहरूबाट आफ्नो निष्कर्ष निकालेको छ । पहिलो भोकमरी अन्तर्गत कम्तीमा पाँचमध्ये एक घरपरिवारले खाद्यान्नको चरम अभाव सामना गरिरहेका छन् । दोस्रो, कुपोषण जसमा करिब तीनमध्ये एक वा सोभन्दा बढी बालबालिकामा तीव्र कुपोषण छ । तेस्रो, मृत्युदर जसमा प्रत्येक १० हजारमा कम्तीमा दुईजना प्रत्यक्ष भोकमरी वा कुपोषण र रोगको संयोजनका कारण ज्यान गुमाइरहेका छन् ।

जब यी तीनमध्ये दुई ‘थ्रेसहोल्ड’ पूरा हुन्छन्, आईपीसीले भोकमरी भएको मान्यता दिन्छ । आईपीसीले उपलब्ध तथ्यांकमा ‘मृत्युदर’ सूचक नदेखिएको बताएको छ, किनभने अनुगमन प्रणालीहरू भत्किएका छन् । 

यद्यपि, उसले धेरैजसो गैर–आघातजन्य मृत्युहरू अभिलेखमा नआएको विश्वास गर्छ ।

उपलब्ध प्रमाण र विशेषज्ञहरूको निर्णयका आधारमा आईपीसीले ‘मृत्युदर’को भोकमरी थ्रेसहोल्ड पूरा भएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदन प्रकाशित हुँदा गाजाको हमास–सञ्चालित स्वास्थ्य मन्त्रालयले कुपोषणका कारण दुई नयाँ मृत्यु भएको अभिलेख राख्यो, जसले कुल मृत्यु संख्या २७३ पुगेको छ, जसमा ११२ बालबालिका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा भोकमरी भइरहेको बारम्बार अस्वीकार गरेका छन् । जहाँ भोकमरी छ, त्यसको दोष पनि सहायता निकायहरू र हमासलाई दिएका छन् । 

‘पूर्ण रूपमा मानव निर्मित’
धेरैलाई भोकमरीका संकेतहरू धेरै अघिदेखि नै आएको थियो । विश्वले हप्तौँदेखि भोकले पीडित बालबालिकाहरूका तस्बिरहरू देखिरहेको छ, जसको पेट फुलेको र हड्डीहरू बाहिर निस्किएको छ ।

करीब दुई वर्षको गाजा युद्धमा प्यालेस्टाइनीहरूको खाद्यान्न पहुँच जटिल बनेको छ । इजरायलले लामो समयदेखि गाजामा सामान प्रवेशमा प्रतिबन्ध लगाएको छ । ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि थप कडा बनाइएको छ । तर, इजरायलले गाजामा सामान प्रवेशमा करिब तीन महिनासम्म पूर्ण नाकाबन्दी लगाएपछि मार्च २०२५ देखि स्थिति तीव्र रूपमा बिग्रिएको छ ।

महत्वपूर्ण अन्तर्राष्ट्रिय दबाबपछि इजरायलले मेको अन्त्यमा सीमित मात्रामा सामान गाजामा प्रवेश गर्न अनुमति दिन थाल्यो । यसले संयुक्त राष्ट्रसंघको नेतृत्वमा रहेको खाद्यान्न वितरण प्रणालीलाई प्रतिस्थापन गर्न अमेरिकी समूह ‘गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ)’ द्वारा सञ्चालित नयाँ खाद्यान्न वितरण प्रणाली पनि सुरु गर्‍यो ।

इजरायलमाथि थप खाद्यान्न प्रवेशको दबाब बढ्दै जाँदा, जुलाईको अन्त्यमा यसले प्रत्येक दिन थप सहायता ट्रकहरू गाजामा प्रवेश गर्न अनुमति दिन थाल्यो र सहायता ट्रकहरूलाई चलाउन ‘सामरिक विराम’ लागु गर्‍यो ।

पछिल्ला हप्ताहरूमा थप सहायता प्रवेश गरेको छ र बजारमा केही सामानहरूको आकाशिएको मूल्य केही कम भएको छ । तर, धेरै प्यालेस्टाइनीहरूका लागि अझै पनि महँगो छ । कहिलेकाहीँ पीठोको मूल्य प्रति किलो ८५ डलरभन्दा माथि पुगेको थियो, यद्यपि यो आँकडा कम हुन थालेको छ ।

संयुक्त राष्ट्रसंघ र सहायता संगठनहरूले इजरायलले गाजा पट्टीमा खाद्यान्न प्रवेशमा केही प्रतिबन्धहरू खुकुलो पारे पनि सहायता संकलन र वितरणमा उल्लेखनीय अवरोध र बाधा पुर्‍याइरहेको बताएका छन् ।

संगठनहरूका अनुसार गाजामा मानिसहरूको आधारभूत आवश्यकता पूरा गर्न दिनमा ६०० ट्रक सामान प्रवेश गर्नुपर्नेमा हाल त्यसको आधाभन्दा कम मात्र प्रवेश गर्न दिइएको छ ।

इजरायलले सहायताको हवाई ड्रपलाई पनि अनुमति दिन थालेको छ, जसलाई मानवीय संगठनहरूले यसलाई खतरनाक र ध्यान भट्काउने कुरा’ भनेर आलोचना गरेका छन् ।

हमासले भोकमरी संकटका लागि जिम्मेवार भएको इजरायलको आरोपलाई पनि आलोचना गरिएको छ । अमेरिकी सरकारको आन्तरिक प्रतिवेदनसहित धेरै प्रतिवेदनहरूले हमासद्वारा सहायताको प्रणालीगत दुरुपयोग भएको कुनै प्रमाण नभएको जनाएका छन् ।

ट्रकहरू गाजामा प्रवेश गर्दा व्यापक लुटपाट भएको छ । 
 
इजरायलको प्रतिक्रिया
धेरै इजरायली सरकारी अधिकारीहरूले आईपीसीको प्रतिवेदनलाई अस्वीकार गरेका छन् । इजरायलको विदेश मन्त्रालयले आईपीसीमाथि हमासको ‘नक्कली अभियान’लाई समर्थन गर्न ‘बनावटी र पक्षपाति प्रतिवेदन’ प्रकाशन गरेको आरोप लगाएको छ ।

गाजामा क्रसिङ व्यवस्थापनका लागि जिम्मेवार इजरायली सेनाको निकाय ‘कोगट (कोअर्डिनेटर अफ गभर्नमेन्ट एक्टिभिटिज इन द टेरिटोरिज)ले आईपीसीको प्रतिवेदनलाई ‘झुटो र पक्षपातपूर्ण प्रतिवेदन र हमास आतंकवादी संगठनबाट आएको आंशिक तथ्यांकमा आधारित’ भनेको छ ।

अन्य आलोचनाहरूमध्ये इजरायलले आईपीसीले आफ्नो विश्वव्यापी मापदण्ड परिवर्तन गरेको, भोकमरीको सामना गर्नेहरूको थ्रेसहोल्ड ३० प्रतिशतबाट १५ प्रतिशतमा घटाएको र ‘मृत्युदरको दोस्रो मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको’ बताएको छ ।

आईपीसीले यी आरोपहरूलाई अस्वीकार गर्दै यो लामो समयदेखि स्थापित मापदण्डहरू प्रयोग गरेको र ती मापदण्डहरू पहिले समान परिस्थितिहरूमा प्रयोग गरिएको बताएको छ ।

संयुक्त राष्ट्रसंघका निकायहरू र अन्तर्राष्ट्रिय नेताहरूबाट प्रतिवेदनप्रति कडा प्रतिक्रिया आएको छ । 

गाजा सिटी आक्रमण
इजरायलले यो हप्ता गाजा सिटीको विवादास्पद आक्रमण र कब्जाका लागि दशौँ हजार रिजर्भ सैनिकहरूको आह्वानलाई अनुमोदन गरेको छ, जहाँ आईपीसीले भोकमरी भएको घोषणा गरेको छ ।

नेतन्याहूले कब्जा हमासलाई पराजित गर्ने, युद्ध अन्त्य गर्ने र गाजाबाट इजरायली बन्धकहरूलाई फिर्ता ल्याउने उत्तम विकल्प भएको बताएका छन् ।

यो आक्रमणले गाजा सिटी र त्यस वरपरका क्षेत्रमा बस्ने अनुमानित दश लाख प्यालेस्टाइनीहरूलाई जबरजस्ती विस्थापित गर्नेछ । इजरायलले पहिले नै चिकित्सकहरू र सहायता निकायहरूलाई क्षेत्र खाली गर्न योजना बनाउन भनेको छ ।

युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनसहित संयुक्त राष्ट्रसंघका धेरै संठनहरूको संयुक्त वक्तव्यले योजनाबद्ध आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ । भोकमरीको अवस्था पहिले नै रहेको ठाउँमा नागरिकहरूका लागि यसले थप विनाशकारी परिणामहरू हुने बताएका छन् । बीबीसी

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्