काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन जरुरी रहेको बताएका छन् । शनिबार (भदौ ७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हाल बहस वैचारिक ढंगले भन्दा व्यक्तिकेन्द्रित भइरहेको उनले टिप्पणी गरे । विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको उनले औँल्याए ।
पुस्तान्तरण मात्र भन्दा राजावादीले पूर्वराजा ज्ञानेन्द्र शाहका नातिलाई अघि सारेको पनि उनले बताए । नयाँ विचारसहितको पुस्ता आवश्यक रहेको उनको भनाइ थियो ।
विविधतायुक्त, आर्थिक, सामाजिक अवस्थालाई माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेकामा उनले जोड दिए ।
कार्यक्रममा डा. बाबुराम भट्टराईको भनाइ पढ्नोस्–
बहसलाई वैचारिक ढंगले अघि बढाउनुस्, व्यक्तिकेन्द्रित बढी भइरहेको छ । पुस्तान्तरण हुनु त पर्छ, तर विचारसहितको पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भन्दा राजावादीहरूले समातिहाले नातिलाई त, लगेर घुमाए नि जुम्लामा गएर ! त्यो पुस्तान्तरण गरे उनीहरूले । तपाईंहरूको तर्क त्यही कारण हुँदैन । कुरा मात्रै गरेर हुँदैन, नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ । नेपालजस्तो देशमा – धेरै विविधतायुक्त, आर्थिक, सामाजिक रूपमा पछाडि परेको, भूराजनीतिक रूपबाट चेपुवामा परेको । अहिले देखिहाल्नुभयो, लिपुलेक प्रकरण । सम्पूर्ण देशलाई एकताबद्ध राख्न, छिटो आर्थिक विकास गर्न र सबैलाई न्यायको प्रत्याभूति गराउन अलिकति लेफ्टर्स सेन्टर डेमोक्रेटिक फोर्स चाहिन्छ । न्युज एजेन्सी नेपाल