काठमाडौं । विधानतः हिँडेको भए यतिबेला जिल्ला अधिवेशनको चटारोमा हुन्थ्यो, सत्तारूढ नेपाली कांग्रेसभित्र । विधानतः आउँदो मंसिरभित्र कांग्रेसको केन्द्रीय समितिको चारवर्षे कार्यकाल सकिँदैछ ।
तर, कांग्रेसको १५ औँ महाधिवेशन अझै अनिश्चित छ । नेतृत्ववृत्त ‘नियन्त्रणबाहिरको परिस्थितिमा थप एक वर्ष कार्यकाल थप्न सकिने’ प्रावधान प्रयोग गर्न खोज्दैछ ।
त्यसो त, समयमै अधिवेशन नगरी ‘असाधारण परिस्थिति’ कुर्ने कांग्रेसको पुरानै रोग हो । त्यो १४औँ महाधिवेशन ‘असाधारण परिस्थिति’ प्रावधान प्रयोग गरी एक वर्ष कार्यकाल थपेको थियो ।
क्रियाशील सदस्यता नवीकरणका लागि असोज मसान्तसम्मको समय तोकिएको छ । त्यसपछि नयाँ क्रियाशील सदस्यता खोल्ने भनिएको छ, जसले महाधिवेशनको मिति र तालिका अन्योलमा परेको छ ।
तर, १५औँ महाधिवेशनमा सभापति बन्ने आकांक्षीहरूको भने लर्को लागिसकेको छ । १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजय बेहारेका डा. शेखर कोइरालाले सभापतिको उमेदवार घोषणा गरिसकेका छन् ।
उनी निर्वाचित सांसद हुन् । तर, उनी संसदमा कम जिल्ला जिल्लामा बढी उपस्थिति देखाउँदैछन्, सभापतिकै उमेदवार बन्न ।
सरकारी निर्णयदेखि प्रस्तावित विधेयकसम्म उनी जिल्लातिरै टिप्पणी गर्छन्, संसद्मा होइन । त्यसो हुनुमा उनको प्राथमिकतामा १५औँ महाधिवेशन पर्नु हो ।
डा. शेखरकै समूहबाट महामन्त्रीमा निर्वाचित गगनकुमार थापा पनि १५औँ महाधिवेशनकै तयारीमा देश–दौडाहा गरिसकेका छन् । यद्यपि उनले आफूलाई सभापतिको उमेदवार भएको सार्वजनिक घोषणा गरेका छैनन् ।
तर, आफ्नो ‘कोर टिम’मार्फत् सभापतिको उमेदवार थापा नै रहेको सार्वजनिक गराएका छन् ।
थापा आफ्नो पक्षमा देशभर माहोल बनेपछि उमेदवारी घोषणा गर्ने गृहकार्यमा छन् । उनले व्यक्तित्व ‘ब्रान्डिङ’को माहोल बनाउँदै छन् ।
संस्थापन इतरबाट सभापति लड्ने गृहकार्य अघि बढाएपछि देउवा समूहका ११ जनाले पनि सभापति देउवालाई गत फागुनमा ध्यानाकर्षण गराउँदै आफ्नो समूहको पनि उमेदवार घोषणा गर्न माग गरेका थिए ।
त्यसपछि सभापतिका आकांक्षीहरू सात नेताले समूह बनाउँदै नियमित बैठक बस्दै देउवालाई आफूहरूमध्येबाट उमेदवार घोषणा गर्न दबाब दिइरहेका छन् ।
कांग्रेसको पारिवारिक विरासत बोकेका नेता पुत्रहरूले ‘लञ्च मिटिङ’ जारी राखेर माहोल बनाइरहेका छन् ।
बीपी कोइरालापुत्र डा. शशांक कोइराला, गणेशमान सिंहपुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधिको अभियानमा गत चैत १६ गते अरु चार नेता थपिए ।
कांग्रेस प्रजातान्त्रिक हुँदा पार्टीको कार्यवाहक सभापति चलाइसकेका गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, प्रजातान्त्रिक कांग्रेसका महामन्त्री विजय गच्छदार र सहमहामन्त्री तथा प्रवक्ता डा. प्रकाशशरण महत त्यो समूहमा थपिएका छन् ।
गोपालमान श्रेष्ठले त्यसबेला नै पार्टी हाँकेको अनुभव रहेकाले अब देउवापछिको उत्तराधिकारी नै आफू भएको दाबी छाडेका छैनन् ।
उनीहरूले देउवालाई सातमध्येबाट एकलाई सभापतिको उमेदवार घोषणा गर्न दबाब बढाइरहेका छन् । देउवा भने समय आइनसकेको भनी टार्दैछन् । देउवाले तिनलाई सहमति गरी एकजना प्रस्ताव गरेमा समर्थन गर्ने आश्वासन पनि दिइसकेका छन् ।
नेतृत्वमा कस्सिएका कांग्रेसका ‘सात भाइ’, देउवाले कसलाई दिएका छन् वचन ?
तर, उनीहरूबीच साझा उमेदवार बनाउन तय भएको छैन । देउवालाई शशांक र नेता कृष्ण सिटौलाको दबाब बढी परेको छ ।
“सभापतिज्यूले १३औँ महाधिवेशनदेखि शशांकलाई नेतृत्व सुम्पन्छु भन्दै आउनुभएको हो । १४औँ महाधिवेशनको संघारमा त उहाँले बालुवाटारमा सँगै राखेर अर्को पटकको सभापति बनाउँछु भनिसक्नुभएको छ,” डा. शशांक निकट एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।
उनको दाबीमा, “देउवाले सितिमिति वचन दिनुहुन्न, दिएको वचनमा उहाँ अडिग हुनुहुन्छ ।”
त्यहीकारण डा. शशांक देउवाको साथ पाउनेमा ढुक्क छन् । गत महाधिवेशनमा शशांकले देउवा टिमका निम्ति खुलेर मत नमागे पनि पूर्ण सहयोग गरेका थिए ।
उता सिटौला अझ ढुक्क रहेको उनी निकटहरू बताउँछन् । गत महाधिवेशनमा सिटौलाले पूर्णसमर्थन जनाउँदै प्रस्तावक बसेको उनीहरूको दाबी छ । उनी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको समेत उमेदवार बनेनन् । सिटौला देउवाबाट मनोनीत केन्द्रीय सदस्य हुन् ।
देउवाले सिटौलालाई राष्ट्रियसभा अध्यक्ष पनि बनाउन खोजेका थिए । तर, सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि अंक–गणित बिग्रिन पुगेको थियो । पछिल्लो समय देउवाका रणनीतिक निर्णयहरूमा सल्लाहकारको भूमिकामा सिटौला छन् ।
जुन जिम्मेवारी १४औँ महाधिवेशन अघिसम्म नेता विमलेन्द्र निधिले बहन गर्थे । सिटौलाले समय आएपछि उमेदवारी घोषणा गर्ने बताउँछन् । “कांग्रेसको १५औँ महाधिवेशन ०८३को दसैँ आसपास मात्र हुन्छ । त्यसैले उमेदवारी घोषणा र प्रचार गर्नु हतारो हुन्छ,” सिटौलाले बाह्रखरीसँग भने ।
उनी भन्छन्, “समय आएपछि उमेदवारी घोषणा हुन्छ । यतिखेरै म सभापतिको उमेदवार भन्दै हिँड्नुको अर्थ छैन ।”
उता, वरिष्ठ नेता गोपालमान श्रेष्ठ देउवाले नभएर सात भाइमध्येबाट आफूहरू नै उमेदवार छान्ने बताउँछन् । “हामीले निर्णय गर्न सकेनौँ, आफू–आफूले उमेदवारी घोषणा गरेर हिड्यौँ भने त सभापतिले खेल्न पाउनु हुन्छ, एकजना घोषणा गरेर जानुपर्ने बाध्यता पनि उहाँलाई आउन सक्छ,” नेता श्रेष्ठले बाह्रखरीसँग भने ।
देउवा टिमका अधिकांश नेताहरू नेता विमलेन्द्र निधिसँग निकट छन् । देउवाको भावना बुझ्ने, एउटै ‘स्पिरिट’मा निर्णय गर्न सक्ने, गलत निर्णय गर्न लाग्दा प्रतिवाद गरेर रोक्न सक्ने क्षमता निधिमा रहेको बताउँदै निधि नै प्रमुख दाबेदार रहेको तर्क उनी निकट नेताहरुको छ ।
देउवालाई लामो समय साथ दिएर पनि धोका पाएको उनीहरुको बुझाइ छ । तर, निधिका लागि सबैभन्दा बाधक देउवा पत्नी आरजु राणा देउवा हुन सक्ने टिप्पणी उनीहरुको छ ।
अर्का नेता विजय गच्छदार १५औंँ महाधिवेशनमा सभापतिकै आकांक्षी बनिसकेका छैनन् । उनले आफूलाई दोस्रो तहको पदमा सुनिश्चित गर्दै टिमलाई जिताउन भूमिका निर्वाह गर्ने एक नेताको विश्वास छ ।
अघिल्लो महाधिवेशनमा देउवा टिमले ८० प्रतिशत जितेको थियो, तर उपसभापति र दुई महामन्त्री पद उनकोे टिम बाहिर गएको थियो । उतिबेला महामन्त्री उमेदवार बनेका डा. प्रकाशरण महत सात नेता समूहमा छन् ।
उनी टिम मिल्दा सभापतिभन्दा तलका पदमा बस्न तयार रहेको र नभए आफैँ सभापतिको उमेदवार बन्ने तयारीमा छन् ।
देउवा समूहमा लामो समय रहेका प्रकाशमान सिंह समूह अदली–बदली गर्न माहिर देखिएका छन् । उनी सुशील कोइराला टिममा पुगेर महामन्त्री भए । त्यो क्याम्प छाड्दै १४औँ महाधिवेशनमा सभापतिकै उमेदवार बने ।
उमेदवार बन्नुअघि उनी देउवाका कट्टर विरोधी देखिन्थे । तर, सभापतिमा थोरै मत पाए । त्यसपछि सिंहले उनै देउवालाई समर्थन दिए । त्यसयता उनी देउवा निकटमै छन् । देउवाले महाधिवेशनको गुन तिर्न कांग्रेस–एमाले गठबन्धन सरकारमा कांग्रेसको नेतृत्व गरेर पठाए ।
उनी निकटहरू गणेशमान सिंहको ‘लिगेसी’ कायम राख्न उमेदवार बनाउने आशा व्यक्त गर्छन् । “प्रकाश दाइले देउवासँग सबैभन्दा निकट भएर काम गर्नुभएको हो । बीचमा टिम छाडेपछि केही बिग्रिएको सम्बन्ध यसबीचमा सुधार भएर विश्वासको वातावरण बनिसकेको छ,” सिंह निकट एक नेता भन्छन् ।
केन्द्रीय सदस्य गुरु बराल सात जनाको समूहले राम्रैसँग तयारी गरिरहेको बताउँछन् ।
“सातजना एक ठाउँ उभिएपछि सम्भावना त्यहाँभन्दा बाहिर जान्छ भन्ने लाग्दैन,” बरालले भने ।
आरजु राणा निर्णायक
देउवालाई लिगेसी बचाउनुभन्दा श्रीमती आरजुको व्यवस्थापन गर्नु बढी चिन्ताको विषय बनेको छ । उनी जो सभापतिको उमेदवार भए पनि उपसभापति वा महामन्त्रीमध्ये एक पदमा आरजुलाई समेट्न खोज्दैछन् । त्यस निम्ति उनी बलियो समूह निर्माण खोज्दैछन् ।
“१५औँ महाधिवेशन अगावै कांग्रेसको विधान संशोधन गरी एक महिला उपसभापति थपिने सम्भावना देखिन्छ । त्यसो नभएमा आरजु उपसभापति वा महामन्त्रीमध्ये एक पदमा टिमको उमेदवार हुने पक्का छ,” संस्थापन पक्षका एक नेता भन्छन्, “उहाँको जित सुनिश्चित हुनेगरी टिम बन्छ भन्ने अनुमान गर्न सकिन्छ ।”
टिमबाहिर पूर्णबहादुर ?
देउवालाई सघाएकासात नेता एकसाथ हिँडिरहँदा देउवा टिमकै उपसभापति पूर्णबहादुर खड्का समेटिएका छैनन् । उनलाई कुनै पनि छलफल या देउवा निवास जाँदासमेत छुटाइयो ।
खड्का निकटहरू भने स्वाभाविक दाबेदारलाई साथ राख्दा अरुको पालो आउने सम्भावना नदेखेपछि रणनीतिक रूपमै छुटाएको बताउँछन् ।
केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग सम्बद्ध एक केन्द्रीय सदस्य भन्छन्, “कांग्रेसमा सभापतिको मुख्य दावेदार दुईजना छन् । पहिलो देउवा टिमबाटै जितेको उपसभापति भएकाले पूर्णबहादुर खड्का अर्को देउवासँग पराजित भएको डा. शेखर कोइराला ।”
त्यसपछिका दाबेदार गगन थापा भए पनि बलियो प्रभाव नभएका नेताहरूले गुट बनाएर देखिने प्रयास गरेको बताउँछन् ।
“उहाँहरू कोही पनि स्वाभाविक दाबेदार हुनुहुन्न,” उनी भन्छन्, “उनीहरू पार्टीमा भूमिकाविहीन बन्ने अवस्थाबाट त्रसित भएर अघि बढ्नुभएको छ । त्यहाँ पूर्णबहादुर राख्दा अरुको सम्भावना रहँदैन भन्ने निश्चित भएकाले रणनीतिक रूपमा पूर्ण दाइलाई छुटाइएको हो ।”
केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख रहेका खड्का देशव्यापी कार्यक्रममा हिँडिरहेका छन् । उनी आफू स्वाभाविकरुपमा पनि उमेदवार भएकाले अहिले नै घोषणा गरिहाल्नुपर्ने अवस्थामा नरहेको निकटहरुसँग बताउँदै आएका छन् ।
