काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज (भदौ ८) उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने भएकी छन् ।
बिहान ११ बजे काठमाडौंको होटेल याक एन्ड यतीमा उपराष्ट्रपति सुआन र उनका नेपाली समकक्षी रामसहाय प्रसाद यादवले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । त्यसअघि दुवै उपराष्ट्रपतिले प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा व्यापार, लगानी, जलविद्युत् र सांस्कृतिक सहकार्यका विषयमा छलफल गरिने कार्यतालिका छ ।
उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार (भदौ ७) काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा भएको छ । भियतनामबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
नेपाल र भियतनामबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । हाल दुई देशबीचको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम छ । तर, तनहुँ जलविद्युत् आयोजनामा भियतनामको सङ दा कर्पोरेसन र नेपालको कालिका समूहको साझेदारीले यो क्षेत्रमा सहकार्यको सम्भावना देखाएको छ । यो भ्रमणले व्यापार र लगानी वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा सुआनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरेकी थिइन् । डा. राणासँगको भेटमा नेपाल–भियतनाम सम्बन्ध सुदृढीकरण र आर्थिक साझेदारीका विषयमा छलफल गरिएको थियो ।
नेपाली सेनाले सुआनलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।
सोमबार (भदौ ९) सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछिन् । काठमाडौं र ललितपुरका ऐतिहासिकस्थलहरूको भ्रमण गर्ने पनि कार्यतालिका छ । न्युज एजेन्सी नेपाल