नेपाली कांग्रेसमा संस्थापक नेता बीपी कोइरालासँग संगत र गिरिजाप्रसाद कोइरालासँग काम गरेका पुरञ्जन आचार्य कांग्रेससहित हरेक दलबारे निर्मम टिप्पणी गर्छन् । कांग्रेसभित्रका विषयमा उनले गरेका टिप्पणीबाट कतिपय नेता–कार्यकर्ता उनका कटु आलोचक बनेका छन् ।
पछिल्लो समय डा. शेखर कोइराला निकट देखिने उनी नयाँ शक्तिहरूप्रति सद्भावपूर्ण टिप्पणी गर्छन् ।
उनै आचार्यसँग ०८४ मा पुराना पार्टीहरूको भविष्य, वैकल्पिक शक्तिको सम्भावित उभार र राजनीतिक दलमा देखिएका कमजोरीबारे बाह्रखरीका रमेश वाग्लेले संवाद गरेका छन् । प्रस्तुत छ, आचार्यसँग गरिएको संवादको सम्पादित अंश–
–पार्टीका उच्च तहका नेताहरूमाथि कडा प्रश्न उठाइरहेको छ, यसको कारण के हो ?
प्रमुख पार्टीहरूका नेतृत्वमा लामो समयदेखि एकल एकै खालको भएको छ । जस्तो कांग्रेसमा शेरबहादुर देउवालाई सभापतिका रूपमा देखेको जम्मा ८–१० वर्ष भयो । तर, देउवालाई ३८ वर्षदेखि नेतृत्वमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समान रूपमा दाँजिरहेका छन् ।
किनभने देउवालाई पनि प्रधानमन्त्रीका रूपमा देखेको ०५२ सालदेखि नै हो, त्यसभन्दा अघि चारवर्ष गृहमन्त्रीका रूपमा पनि देखेकै हो । नेतृत्व केवल पार्टीको मात्र हुँदैन । प्रधानमन्त्रीका रूपमा उनलाई देखेको १० वर्षको बालक आज ४१ वर्षको भइसकेको छ । फेरि उनै प्रधानमन्त्रीका रूपमा प्रस्तुत हुँदा आक्रोशित हुनु स्वाभाविक हो ।
केपी शर्मा ओली पनि अध्यक्ष भएको १०–११ वर्ष भएको छ । उनलाई पनि ०५१ सालमा गृहमन्त्रीको रूपमा देखेको पुस्ता युवा अवस्था पार गरेर आफैँ प्रौढ हुँदैछ ।
प्रचण्ड त ०४६ सालमा मशालका महासचिव भएयता नेतृत्वभन्दा बाहिर बसेका छैनन् । सशस्त्र आन्दोलनपछि जनताले दिएको विश्वास उनले जोगाउन सकेनन्, त्यसपछि उनको निरन्तरता नागरिकका लागि प्रिय लागिरहेको छैन ।
–प्रमुख नेताहरूलाई हेरेर ‘गलत इमेज’ बन्ने कारण यिनै मात्र हुन् त ?
महत्त्वपूर्ण कुरा के हो भने संसारको राजनीतिमा ठूलो परिवर्तन आइसकेको छ । त्यो परिवर्तनको दबाव नेपालमा पनि छ । त्यो दबाबले समस्याको समाधान खोज्न गाह्रो बनाएको छ, किनभने नयाँ पुस्ताले प्रक्रियामा विश्वास गरिरहेको छैन र तत्काल परिणाम खोजिरहेको छ । त्यसो नहुँदा उनीहरू आक्रोसित पनि छन् ।
छिटो प्रगति गरेका अन्य देशकै जस्तो परिणाम उनीहरू खोजिरहेका छन् ।
उदाहरणका लागि, बेलायतलाई आफ्नो कुल राष्ट्रिय उत्पादन (जीडीपी) दोब्बर गर्न एक सय वर्ष लागेको थियो । अमेरिकाले सुपरपावर हुने क्रममा जीडीपी दोब्बर गर्न ४० वर्ष लगाएछ ।
जापानले त्यो काम २५ वर्षमा गरेको छ भने चीनले १५ वर्षमै गरेछ । नेपाली जनताले संसारको जुन गति छ, त्यही अनुसार परिणाम खोजिरहेका छन् । नेपाली जनताले चीनकै गतिको आर्थिक प्रगति र विकासको अपेक्षा राखेका छन् ।
समाज कुन अवस्थामा छ, व्यक्तिहरू आफ्नो लगनमा कति दत्तचित्त छन् । नागरिक कर्तव्य कुन अवस्थामा निर्वाह भइरहेको छ भन्ने छुट्टै बहसको विषय हो । तर, जनचाहना अन्तराष्ट्रिय गतिमै विकास होस् भन्ने छ । बढ्दो जनचाहना परिपूर्ति यी दलबाट सम्भव भइरहेको छैन ।
नेपाल विश्वको त्यस्तो विशिष्ट मुलुक हो, जसको एकतिहाई युवा जनसंख्या देशबाहिर छ ।
यसको प्रभाव देशबाहिर रहेका नेपालीहरूले त्यहाँको प्रगति हेर्दै रहेकाले पार्टीभित्र भन्दा बाहिरबाट चौतर्फि दबाव परेको छ । डायस्पोरामा रहेका नेपालीहरूले जबर्जस्त दबाव सृजना गरिरहेका छन् ।
–नागरिक असन्तुष्टि बढ्नुमा नेताहरूको भूमिका कति छ ?
मुख्यरूपमा आक्रोश बढाउने काम नेताहरू आफैँले गरिरहेका छन् । उनीहरूमा आफू एकछत्र भएर रहनुपर्छ भन्ने मनोविज्ञान देखिन्छ । उदाहरणका लागि ओलीलाई लिन सकिन्छ । उनलाई लागेको थियो, विरोधीहरू पार्टीबाट निकालें, अब म एकछत्र राज गर्छु ।
ओलीले अरू प्रतिस्पर्धीभन्दा विद्या भण्डारीलाई अघि बढाउँछु भनी राष्ट्रपति बनाए । ओलीले राष्ट्रपति बनाउँदै राजनीतिबाट अवकाश दिलाउन खोजेका थिए, तर आज उही विद्या ओलीको प्रतिस्पर्धीका रूपमा देखा परेकी छन् ।
एमालेका कार्यकर्तालाई लागिरहेको छ, पार्टी गिर्दो अवस्थामा छ ।
मैले दोस्रो–तेस्रो पुस्ताका नेतासहित कार्यकर्तासँग कुरा गरेको छु, उनीहरूको चिन्ता एउटै छ, ओलीले पार्टीलाई कहाँ पुर्याउने हुन् ? उनीहरू पार्टीमा त बोल्नै हुँदैन, कारबाहीमा परिहाल्छौं भन्छन् । यस्तो बाध्यतामा गुज्रिएर बसेका छन् एमाले कार्यकर्ता ।
एमालेमा लामो समय काम गरेका कार्यकर्ताहरूले ओलीको निरन्तरता भए आफ्नो राजनीति सकिन्छ भन्ने ठान्छन् । यस्तो असुरक्षाको भावमा उनीहरू गुम्सिएका छन् । त्यही भावनाले विद्या भण्डारीमाथि राजनीतिमा फर्काउन दबाब उत्पन्न गरेको हो ।
विद्या भण्डारीको कति इच्छा छ, कति छैन ? त्यो उनले नै बुझ्ने कुरा हो । अब उनले आफ्नो पोजिसन बनाइसकेकी छन् । अब सक्रिय राजनीति गर्दिन भन्ने छुट अब उनलाई छैन ।
–अनि, तपाईंकै पार्टी कांग्रेसमा कस्तो अवस्था छ ?
शेरबहादुर देउवा स्वाभाविक रूपमा बिदा हुँदैछन् । पार्टीभित्र शक्ति संघर्ष चल्नु सामान्य कुरा हो । भारतीय जनता पार्टी (बीजेपी)मा जस्तै, नयाँ अध्यक्ष बनाउन नसकेर म्याद थप्ने अवस्था छ । कांग्रेसमा नेतृत्वका लागि स्वाभाविक प्रतिस्पर्धा र पुस्तागत प्रतिस्पर्धा छ ।
नेतृत्वमा को स्थापित हुँदा कसको सुरक्षा हुन्छ ? कसको नेतृत्व हुँदा सुरक्षाको छाता फराकिलो हुन्छ ? यही मनोविज्ञान देशभरका कार्यकर्तामा फैलिएको छ ।
कांग्रेसभित्रका क्लासिकल, ट्रेडिसनल फोर्सहरूमा ‘हिङ नभए हिङ बाँधेको टालो शेखर नै हुन्’ भन्ने भावना देखिन्छ । अर्कोतर्फ, शेरबहादुर देउवाको उत्तराधिकारी को बन्ने संघर्ष जारी छ ।
यस्तै संघर्ष सुशील कोइरालाको उत्तराधिकारी बन्न पनि देखिएको थियो ।
जसरी सुशील कोइरालाको उत्तराधिकारी कोही बन्न सकेनन्, रामचन्द्र पौडेल अन्तिमसम्म लाग्दा पनि सकेनन् । उनी त ‘अहम ब्रह्म’ नै भन्ने थिए । त्यसरी नै शेरबहादुर देउवाको उत्तराधिकारी दाबी गर्नेहरूबाट कोही बन्न सक्दैनन् ।
यो रेकर्ड गरेर राख्न सकिन्छ, अबको सभापतिमा शेरबहादुर देउवाको उत्तराधिकारी उनकै खेमाबाट निस्कन सक्दैन । अब राजनीतिक ‘म्याथम्याटिक्स’ नै मिल्दैन । जतिसुकै टाउको फोरे पनि जसले शेरबहादुर देउवालाई सहयोग गर्दैछन्, उनीहरूमध्ये कोही पनि १५औँ महाधिवेशनको सभापति बन्न सक्दैनन् । यो सामान्य समाजशास्त्रीय तथ्य हो ।
त्यसकारण अवसर अर्को पक्षमा पुगेको छ । शेरबहादुरसँग सहमति–असहमति गरेर पार्टीभित्र द्वन्द्वमा बसेकाहरू अब नेतृत्वमा स्थापित हुने पालो आएको छ ।
को हुनुपर्छ भन्ने कुरा यतिखेर भन्न सकिन्न । स्वाभाविक रूपमा हिजोको ४० प्रतिशत बढी भोट ल्याएको शेखर कोइराला हुनुपर्छ भन्न सकिन्छ । उनले १० प्रतिशत भोट बढाउँदा पुग्ने हो ।
तर, अंकगणित जस्तै सजिलो हुन्छ राजनीति, अवश्य हुँदैन । त्यहाँ केमेष्ट्रीका कुरा आउँछ, गठबन्धनका कुरा आउँछन् र त्यसको रसायन भिन्न हुन्छन् । त्यसकारण महाधिवेशनसम्मको माहोल र महाधिवेशन व्यवस्थापनको कुशलताले नयाँ नेतृत्व तय गर्छ ।
–अरु पार्टीमा नेतृत्व परिवर्तन कति सम्भव ?
माओवादीमा प्रचण्डको राजनीतिक उचाइको मान्छे छैन । एमाले पनि ओलीले त्यही उचाइ बनाउन खोजेका हुन् । त्यहाँ ओलीको हाइटको कोही नपाएपछि राष्ट्रपतिको हाइटबाट विद्या भण्डारी तानिएको हो । कांग्रेसभित्र दुई जनाको हाइट देखिन्छ । एउटा महामन्त्रीमा झन्डै ७० प्रतिशत भोट पाएको गगन थापा, अर्को शेरबहादुर देउवालाई च्यालेञ्ज दिएका शेखर कोइराला हुन् । सम्भावनाको खोजी यहीँ सम्भव हुन्छ ।
माओवादीमा पनि जनार्दन शर्माले प्रचण्डलाई चुनौती दिने प्रयास गरेका छन् । तर, लामो समयसम्म कार्यकर्ता भएर बसेका जनार्दनले प्रचण्डलाई जितेर नेता बन्ने सम्भावना अत्यन्तै कम छ ।
हिजो शेरबहादुर पनि गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता हुँदै च्यालेञ्ज दिने अवस्थामा पुगेका हुन् । तर उनी सफल हुन सकेनन् । उनी दुईपटक असफल भएका थिए । जनार्दन पनि असफल नै हुने सम्भावना धेरै उच्च छ ।
प्रचण्डले चाहँदासम्म त्यो पार्टीको नेतृत्वमा अर्को आउनेवाला छैन । त्यो पार्टी १२ लाख भोटबाट ८ लाखमा सीमित पनि भए, नेता प्रचण्ड नै रहन्छन् ।
त्यहाँ देखिइरहेको र वास्तविकता फरक छ । जनार्दन शर्माले प्रचण्डलाई च्यालेञ्ज गरिरहेको अवस्था होइन । त्यहाँ जनार्दन शर्मा भन्दा देव गुरुङ, नारायणकाजी श्रेष्ठहरूलाई प्रमोशन गरिएको ‘डाह’बाट आएको ‘स्याडिस्टिक रियाक्सन’ हो ।
भिजिट–भिसा प्रकरणमा सरकारले दुईबुँदे सहमति गरेपछि रास्वपासहित विपक्षीसँग अलग नहुँदासम्म माओवादीको इमेज अलिकति माथि गएको थियो । जुन कुरा स्वतन्त्र विद्यार्थी युनियनले पनि देखाएको थियो, उपनिर्वाचनले पनि देखाइसकेको थियो ।
–पार्टीहरूभित्र ऊर्जा कस्तो अवस्थामा छ ?
कांग्रेस–एमालेका संस्थापक नेता, पहिलो र दोस्रो तहका नेताका सन्तान आफैँ पार्टीको विरोधी भएको देखिन्छन्, किनभने उनीहरूको इतिहास पनि लामो छ । तर, माओवादी पार्टीका संस्थापकदेखि नेताहरूका सन्तानमध्ये कोही तस्करीमा लागेर जेलमा छन्, कोही मरे पनि ।
तर जो बाँचेका छन्, उनीहरूमा ‘हाम्रा बाउबाजे र अग्रजहरूले दुःखले आर्जेको पार्टी हो’ भन्ने भावना देखिन्छ ।
–माओवादीको सम्भावना बढ्दो क्रममा छ ?
पार्टीहरूको सम्भावना कार्यकर्तामा मात्र नभइ जनताबाट निर्धारण हुन्छ । माओवादीको दोस्रो पुस्तामा उत्साह देखिन्छ । तर, नेपाली जनतामा यी तीन पार्टी उस्तै हुन् भन्ने धारणा गढ्दैछ । जुन माओवादीको प्रगतिका लागि बाधक बन्छ ।
–प्रमुख तीन पार्टी उस्तै छन् भन्ने धारणा किन र कसरी बनेको हो ?
यसअघि यी तीन पार्टीबाट सफल नहुने धारणा थिएन । मुख्य नेताहरू (शेरबहादुर, खड्ग ओली, प्रचण्ड) हटायो भने हुन्छ भन्ने विश्वास थियो । तर पार्टीभित्रका कोर कार्यकर्ताहरू, संगठनमा रहेका नेताहरूले नेतृत्वसँग आत्मसमर्पण गरे पनि पार्टी संरचना त्यही छ ।
उदाहरणका लागि, केपी ओलीसँग आत्मसमर्पण गर्नेहरू पार्टीमा रहे । तर नगर्नेहरू पार्टीबाटै निकालिए । कांग्रेसमा पनि नेताहरू शेरबहादुरसँग आत्मसमर्पण गर्ने अवस्थामा छन् । कांग्रेसका धेरै नेताहरू शेरबहादुरको समर्थन पाउने लोभमा चोचोमोचो मिलाइरहेका छन् ।
शेरबहादुर देउवासँग जोडिएर सभापति हुन काम लाग्छ कि ‘व्याक–फायर’ गर्छ, त्यो छुट्टै कुरा हो । महाधिवेशनबाट सुशील कोइरालाका पक्षमा आएको भोट रामचन्द्र पौडेलले सम्हाल्न नसकेर हारे । त्यसैले शेरबहादुर देउवाका समर्थकबाट जाने भोट वास्तविकतामा परिणत हुँदैन ।
जनतामा आक्रोश, निराशा र आशावादी माहोल देशहरूको सफलताको कथासँग जोडिन्छ । यिनीहरू नभएको भए देश धेरै राम्रो बन्छ भन्ने धारणा कहाँबाट बनिरहेको छ भने अरब बनिरहेको छ । किनभने त्यो मरुभूमिमा भएको विकास देखिरहेको छ ।
अष्ट्रेलिया जानेले त्यहाँको विकास हेरिरहेको छ । विश्वका विकसित देशहरूमा नेपालीहरू ठूलो संख्यामा पुगेका छन् । त्यहाँ पुगेको डायस्पोराको दबाब यहाँ परिरहेको छ । त्यसको पहुँच यहाँ घर घरसम्मै छ ।
त्यसरी पैसा आएको परिवार आर्थिक रूपमा ‘लिवर्टेड’ (स्वतन्त्र) भएको छ । आर्थिक निर्भरता नभएकाले उनीहरू राजनीतिमा स्वतन्त्र रूपमा सोच्न सक्ने बनेका छन् । जबसम्म जमिन्दारीपथ थियो, उनीहरूका हरूवा–चरुवा तिनकै आश्रयमा भोट हाल्थे ।
तर, आज परिस्थिति बदलिएको छ, तिनलाई यहाँ भोट हाल भनियो भने कसैले पनि हाल्नेवाला छैनन् । तिनीहरू अब आफ्नै ‘कन्साइन्स’बाट निर्णय गर्छन् ।
किनभने उनीहरूको आर्थिक निर्भरता अब देश बाहिर गएको छ । अब तिनीहरू मालिकको हलो नजोत्दा पनि राम्रै हैसियतमा बाँच्छन् । यो नेपालको आर्थिक क्षेत्रमा आएको ‘प्याराडाइम सिफ्ट’ हो ।
यो प्याराडाइम पुराना दलका नेताले बुझ्न सकेका छैनन् । यही कारणले वैकल्पिक शक्तिले ‘स्पेस’ पाएको हो ।
नेपालमा मूलधारका पार्टीहरू त्यति बदनाम थिएनन् जति तिनै पार्टीका नेताहरू थिए । उनीहरू एउटै अनुहार पटक–पटक देखिँदा बदनाम भएका हुन् ।
अनि नेतृत्व फेर्न नसक्दा पार्टीहरू पनि बदनाम हुन पुगेका हुन् । कांग्रेसकै घरमा कांग्रेस बदनाम छ, एमालेकै घरमा एमाले बदनाम छ । माओवादी पनि २६–२७ प्रतिशत भोटबाट १२ प्रतिशत भोटमा झरेको छ ।
–आउँदो चुनावको ल्यान्डस्केप कस्तो देखिन्छ ?
तीनवटै पार्टी र तिनका नेतासँग मान्छे निराश छन् । यिनीहरूबाट देशको भलो हुँदैन भन्ने धारणा व्याप्त छ । त्यसोभए यिनीहरू जिरोमा पुग्छन् त ? त्यस्तो हुँदैन । यिनीहरूले मत पाउने स्थान भने पनि यी पार्टीका स्थानीय र क्षेत्रीय नेता हुन्, जो आफ्नो मत सम्हालेर राख्न सक्षम छन् ।
कांग्रेसमा शेरबहादुर देउवा उभिँदा कतै–कतै भोट बढ्न सक्छ, सुदूरपश्चिममा हाम्रो मान्छे आयो भनी मत बढ्छ ।
तर, मोरङमा गए भने कांग्रेसको भोट घट्छ, झापा गए पनि त्यही हो, सुनसरी गए पनि त्यही हो, भोजपुर गए पनि त्यही हो । कुनै पनि पार्टीका त्यस्ता नेता छैनन् जसले भोट बढाउने क्षमता राखून् ।
–त्यसो भए आउदा चुनावमा मास कता ढल्किन्छ ?
यतिखेर बिचित्र किसिमले बालेनको क्रेज छ । हामीलाई मन परे पनि नपरे पनि सिग्नेचर क्याम्पेनले रास्वपामा पनि क्रेज बाँकी देखाउँछ । चार महिनामा १२ लाख भोट उसले ल्याएको हो । त्यत्रो ‘दश वर्षे जनयुद्ध’ गरेर आएको पार्टीलाई झन्डै चौथो त बनाइदिएको हो ।
अब वैकल्पिक शक्तिहरूको भूमिका कस्तो हुन्छ भन्नेमा निर्भर रहन्छ । दोस्रो, प्रमुख पार्टीभित्र नेतृत्वको अभ्यास र त्यसबाट पार्टीमा निर्माण हुने उर्जामा निर्भर रहन्छ । जस्तो एमालेमा ओलीले ‘विथ ड्र’ गरे भने ऊर्जा अचानक बढ्न सक्छ ।
त्यहाँ ओलीसँग टकराएर गुम्सिएका व्यक्तिहरूको उर्जा प्रस्फुटन हुनसक्छ । कांग्रेसमा पनि चुनावअघि महाधिवेशन भए शेरबहादुर देउवाको बिदाइ हुन्छ । महाधिवेशनपछि कांग्रेसमा को आयो र त्यसले के गर्छ भन्ने कुरा सेकेन्डरी हुन्छ । शेरबहादुर देउवा जाँदा २० प्रतिशत बढी असन्तुष्टि शान्त पार्छ ।
–अहिलेकै अवस्थाको निरन्तरतासहित चुनावमा कांग्रेस–एमाले गठबन्धन भए बाँकी पार्टीको अवस्था के हुन्छ ?
यदि त्यस्तो भयो भने त्यसको फाइदा माओवादीलाई हुँदैन । सबैभन्दा बढी लाभ रास्वपालाई हुनेछ । तर नेतृत्व परिवर्तन नहुने सम्भावना कांग्रेसमा कम छ । कांग्रेसमा चुनावअघि नै महाधिवेशन भयो र शेरबहादुर देउवाको विकल्प दियो भने ‘फ्रेस’ नेतृत्व आउँछ ।
कांग्रेसमा बासी मान्छे आउने चान्स कम छ । नयाँ नेतृत्व आएपछि ऊर्जा प्रस्फुटन हुन्छ । एमालेमा पनि नयाँ उर्जा प्रस्फुटन हुने अवस्था देखिन्छ । तर माओवादी यथास्थितिमा रहन्छ, किनभने प्रचण्डलाई च्यालेन्ज दिने मान्छे छैन ।
कांग्रेस र एमाले चार्ज भए नागरिकको निराशा र आक्रोशलाई चिर्न सक्नेछन् । दुई पार्टीको नेतृत्वमा ‘पोजेटिभ ल्यान्डिङ’ भयो भने वैकल्पिक शक्तिहरूलाई आफ्नो इज्जत जोगाउन कठिन हुनेछ । डायस्पोरामा पनि नेतृत्व परिवर्तनले केही प्रभाव पार्छ, तर त्यस्तो स्तरको परिवर्तन आउँदैन जस्तो देशभित्र आउँछ ।
देशभित्र कार्यकर्ता उर्जावान हुन्छन्, तर डायस्पोरामा कार्यकर्ता बन्न तयार हुनेहरूको संख्या न्यून हुन्छ । डायस्पोराले नेपालमा बसोबास गर्नेहरूसँग मनोवैज्ञानिक पृथकता बनाउँछ । भारत बस्ने र मिडिल–इस्ट बस्नेहरूको देशप्रतिको भक्ति र समर्पणमा खासै परिवर्तन आएको छैन । तर अमेरिका, अष्ट्रेलिया, क्यानडा, यूरोप बस्ने ‘डायस्पोरा ए’को दृष्टिकोण भिन्न छ ।
–डायस्पोरा उनीहरूलाई नै सबथोक मान्नेहरू बाहेकलाई किन गन्न छाड्दैछ ? नेपालमा बसोबास गर्नेहरूसँग उनीहरूको मनोवैज्ञानिकत पृथकता किन आइरहेको छ ?
भारत बस्ने र मिडिल इस्टमा बस्नेहरूको देशप्रतिको भक्तिभाव र समर्पणमा खासै परिवर्तन आएको छैन । उनीहरू कमाउँछन् देशमा पठाउँछन्, जे सकेको गर्छन् । यिनीहरूलाई डायस्पोरा ‘बी’ मान्न सकिन्छ । तर, डायसपोरा ‘ए’ भनेको चाहिँ अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोप बस्नेहरू हुन् । डायस्पोरा ‘ए’ले डायस्पोरा ‘बी’लाई मान्छे पनि गन्दैनन् ।
आफूलाई डायस्पोरा ‘ए’ मान्नेहरू जेट चढेर नेपाल आए, हेलिकोप्टर एप्रोच गरेर निर्वाचन क्षेत्र पाए । नेताको आसपासमा बसेर राज्यको शक्तिशाली ओेहोदा पाए । एकातिर डायस्पोरा ‘ए’मा त्यो लोभ–लालच देखिन्छ ।
अमेरिका, युरोपमा पढ्नेहरूमा त्यो लालच छ । तिनीहरूमा यसअघिका जाँदा यतिको नेपाल बन्यो, अब हामीलाई किन लिँदैन भन्ने भावना छ । अर्कातिर त्यसले जाने वित्तिकै यो पद पायो भन्ने इष्र्या पनि देखिन्छ ।
–यस्तो मनस्थितिमा किन छन् विदेशमा रहनेहरू ?
मान्छेको मात्र होइन हरेक जीवको विशेषता हो, बाच्न अन्तिमसम्म संघर्ष गर्छ । त्यो संघर्ष मान्छेको मात्र होइन, कमिला होस वा फोहोरमा बस्ने किरा, बाँच्न गर्ने संघर्ष एउटैस्तरको हुन्छ । बाँचिसकेपछि उसको स्वतन्त्रता सबैभन्दा प्यारो हुन्छ ।
कहिलेकाहीँ नेताहरूले भन्छन् नि, ‘यसलाई मैले बनाइदिएको हुँ ।’ जस्तो ओलीलाई घमण्ड के छ भने विद्या भण्डारीलाई राष्ट्रपति मैले बनाइदिएको हो । अनि दोहोर्याइ, दोहोर्याइ बनाइदिएको हुँ भन्छन् । तर, विद्यासँग उनकै तर्कहरू छन् । अनि बनाइसकेपछि बन्ने शत्रु नै हुन् । ओलीले बनाउँदै नबनाएको झापाका उनको कार्यकर्ता कहिले शत्रु हुन्छ र ? उसले बरु चित्त दुखाउँछ, तर त्यही बस्छ ।
कसैको हैसियत बनाएपछि बुझे हुन्छ भोलि उ उसकै प्रतिस्पर्धी या शत्रु बन्छ । शेरबहादुर देउवा गिरिजाप्रसाद कोइरालाका दाहिने हात थिए । तर, उनैले गिरिजाप्रसादलाई च्यालेञ्ज गरेर ४० प्रतिशत भोट ल्याए । बुझ्नुपर्छ, शत्रु टाढाको हुँदैन ।
राणालाई कोइरालाहरूले च्यालेञ्ज गरे, किनभने देशका ठेक्कापट्टा लिनेदेखि नजिकबाट राजकाज देख्नेहरू उनीहरू नै थिए । आफ्ना नजिककालाई शत्रु बनाउँदा राणाहरू चपेटामा परेका हुन् ।
‘थ्री इडिएट’ भन्ने हिन्दी फिल्म हेर्नुभएकै होला । तीन साथी एकदमै मिल्ने हुन्छन् । दुई जनाको रिजल्ट थर्ड डिभिजनमा अन्तिममा नाम देखिन्छ । तर, मुख्य हिरो आमिर खानको नाम त्यहाँ देखिँदैन । त्यसपछि दुई जनालाई ऊ फेल भयो भनेर चिन्ता हुन्छ । तर, पछि बुझ्दै–हेर्दै जाँदा सबैभन्दा टपमा उसकै नाम हुन्छ ।
त्यसपछि दुईजनाको संवाद छ । साथी फेल हुँदा नि चिन्ता छ, टप भएपछि अर्को ठूलै दुःख मानेको देखियो । मानवीय स्वभावको राम्रो चित्रण ‘थ्री इडियट’मा गरिएको छ । राजनीति पनि त्यही नै हो । चन्द्रशमशेरमा पनि आफ्नो कृपाबाट दिइरहँदा, बनिरहँदा उसलाई कुनै चिन्ता हुँदैन ।
तर, जब उसलाई च्यालेञ्ज दिए तब उनलाई कोइरालाहरू चिन्ताको विषय बने । ओलीका निम्ति विद्या भण्डारी त्यस्तै हुन् ।
–कांग्रेसमा त नेतृत्व परिवर्तनको समय आएको छ, कांग्रेसको भविश्य कस्तो देखिन्छ ?
वास्तवमा कांग्रेस ‘गोल्डेन’ अवसरमा छ । सभापतिका ‘लगेज व्यागेज’ बोक्ने कोही पनि सभापतिमा उठिरहेको छैन । कांग्रेसमा थुप्रै पदमा बसिसकेका मान्छेहरू छन् ।
अब शेरबहादुर देउवामात्र किन रिटायर्ड ह्ुने ? जसको राजनीतिक जीवन ३५/४० वर्ष भइसकेको छ, त्यो पनि अवकाशमा गए भने त ‘फ्रेस’हरूको पार्टी बन्छ, कांग्रेस । पुराना हरेक नेताले आ–आफ्नो निर्वाचन क्षेत्र ‘होल्ड’ गरेर बसेका छन् । जित्नेले त बोक्ने नै भयो हार्नेले पनि बोकेर बसेका छन् ।
मेरो आग्रह छ उनीहरू सबैलाई, ०४६/४७ देखि निरन्तर राजनीतिमा भएकाहरूले अब छाडिदिँदा राम्रो ह्ुन्छ । त्यसबेला ३५/४० वर्ष भएकाहरू अब ७५/८० वर्ष भइसके भने अब छाडिदिँदा त्यसले कांग्रेसलाई रिचार्ज हुने अवसर दिन्छ ।
–शक्ति/सम्पत्ति कसैले अरुलाई हस्तान्तरण गर्छ ? यस्तो अपेक्षा राजनीति गर्नेले राख्नु हुन्छ ?
कसैले छाड्दैन भने पनि जनताले त छुटाइदिन्छन् नि ! जनताले छुटाउँदा हुने पिडा र आफैँले छाड्दा हुने आत्मसन्तुष्टि र आत्मसम्मान त अलग हुन्छ । मोहम्मद महाथिरले ९२ वर्षमा चुनाव हारेपछि त उनको सम्मान सब हराएर गयो नि । हैन भने मलेसिया कसले बनायो भन्दा उनकै नाम थियो ।
नेल्सन मन्डेला किन सर्वकालीक भए ? त्यहाँ किन उनलाई पूजा गर्छन् ? किनभने उनले भने, ‘नयाँ/नयाँ टेक्नोलोजीहरू आए, म जान्दिनँ, बुझ्दिन पुग्यो ।’ उनले दोस्रो पटक पनि प्रतिस्पर्धा गरेनन् । उनले श्रीमती छाडे ।
गणेशमान सिंहले पनि कैयन त्यागहरू गर्नुभयो । ०४६ को जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंह र ०५१ को गणेशमानमान सिंहमा यति ठूलो फरक छ, कांग्रेसको हो कि होइन कि भन्ने छ । उहाँलाई पाखा लगाएपछि कांग्रेस ‘डिक्लाइन’ हुँदै गएको छ ।
–नेपालको भविश्य बनाउने अब कसले हो ?
इतिहाससँग नजोडिएका र वर्तमानमा रमाइरहेकाहरूले भविष्य बनाउन सक्दैनन् । देश त त्यही पार्टीले बनाउँछ, जो इतिहाससँग जोडिन्छ, जोडिएको त्यही इतिहासको जगमा वर्तमानलाई सिमेन्टेड गरिरहेको हुन्छ ।
त्यसमा बसेर उसले अगाडिको बाटो सोझ्याउँछ । सबै पार्टीहरूमा एउटै समस्या छ । एमालेमा पनि त्यही समस्या हो, जहाँ संस्थापकहरूको कत्लेयाम गरिएको छ । तिनलाई छेउछाउ पनि पर्न दिइएको छैन । त्यो निर्दयताको अभ्यास गर्नेले परिणाम पनि त्यही व्यहोर्नुपर्छ ।
–०८४ मा पुराना पार्टीहरू हैसियतविहीन हुन्छन् भन्ने भाष्य बनाइँदैछ, त्यस्तो अवस्था आउन सक्छ ?
कहाँ त्यस्तो हुन्छ ? कांग्रेस, एमाले जस्ता पार्टी समाप्त हुन्छन् भन्ने परिकल्पना त मूर्खतापूर्ण सोच हो । हात्ती दुब्लाएर कहिल्यै मुसा हुन्छ ? दुब्लाउला, घटला, दुब्लाइरहेकै पनि छन् । कांग्रेसमा लाग्ने मान्छेहरूमा आफ्नै एउटा चेतना छ । यो पार्टी नजोगिने हो भने म व्यक्तिगतरूपमै असुरक्षित हुन्छु भन्ने ठूलो समुदायले बुझेको छ ।
लोकतन्त्रसँग रमाउने धेरै ठूलो जनमत छ । त्यो समूह कांग्रेसको भोट बैंक हो । कम्युनिष्टका भोट लिँदै एमालेले पनि धेरै च्ुनावमा भाग लिइसक्यो । उसका टोल टोलमा रेजा लगाउने मान्छेहरू छन् । यसरी दुई चारवटा चुनावमा भाग लिइसकेका पार्टीबाट देशको लोकतन्त्र पनि हत्तपत्त जोखिममा हुँदैन ।
ती पार्टीहरू पनि समाप्त हुँदैनन् । कांग्रेस–एमाले नेपालको राजनीतिको पर्दाबाटै बिलाउँछन् भन्यो भने यो त कसैले पत्याउनेवाला छैन ।